News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा र पुनर्गठन नै प्राथमिक कार्यसूची भएको स्पष्ट पारेका छन्।
- पौडेलले वामपन्थी एकताको असान्दर्भिक चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको छ भन्ने प्रश्न उठाएका छन्।
- उनले हारको वस्तुनिष्ठ समीक्षा र सङ्गठन सुदृढीकरणमा पार्टी केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
५ वैशाख, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची भएको स्पष्ट पारेका हुन् । चुनावपछि पार्टीभित्र र बाहिर वाम एकताको बहस उठिरहेका बेला पौडेलले यस्तो चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको छ भन्दै प्रश्नसमेत उठाएका छन् ।
‘नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,’ पौडेलले लेखेका छन्, ‘यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’
२१ फागुनमा सम्पन्न निर्वाचनमा एमालेले भोगेको पराजयपछि पार्टी पङ्क्तिमा निराशा छाएको र कतिपय नेताहरूले वाम ध्रुवीकरण वा एकताको आवश्यकता औँल्याइरहेको सन्दर्भमा पौडेलको यो भनाइ बाहिर आएको हो । उनले अहिले एकताको बहसमा अल्झिनुभन्दा पनि हारको वस्तुनिष्ठ समीक्षा र सङ्गठन सुदृढीकरणमा सिङ्गो पार्टी केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया 4