News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा छैटौं मिस्टर काठमाडौं शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप भदौ तेस्रो साता दशरथ रंगशाला कभर्डहलमा हुने भएको छ ।
- प्रतियोगितामा ५५ देखि ८० केजीभन्दा माथिसम्मका ७ तौल समूहमा खेलाइनेछ र नयाँ ८०+ तौल समूह समावेश गरिएको छ ।
- ओभरअल विजेतालाई मिस्टर काठमाडौं उपाधिसहित रु ५ लाख नगद, पदक, ट्रफी र ब्यानेट प्रदान गरिने आयोजकले जनाएको छ ।
५ बैशाख, काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौं मिस्टर काठमाडौं शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०७३ आगामी भदौ तेस्रो साता हुने भएको छ ।
‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता भदौ १९ र २० गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
राष्ट्रिय स्तरको यस प्रतियोगितामा मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, मास्टर मिस्टर काठमाडौँ प्रतियोगिता, जुनियर मिस्टर काठमाडौँ प्रतियोगिता, पुरुष एथलेटिक फिजिक्स प्रतियोगिता, महिला एथलेटिक फिजिक्स प्रतियोगिता तथा पुरुष स्पोट्स फिजिक्स प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
२०७३ सालदेखि सुरु गरिएको मिस्टर काठमाडौको हालसम्म पाँच संस्करण भव्य रुपले सम्पन्न भइसकेको छ । नेपालभर शारीरिक सुगठनमा आबद् खेलाडीलाई समेट्ने र अझ आकर्षक बनाउने लक्ष्यसहित छैठौं संस्करणलाई परिमार्जित एवं परिस्कृत रूपमा राष्ट्रियस्तरमा आयोजना गर्न लागेको आयोजकको भनाई छ ।
मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दा माथि (८०+) समूह गरी कूल ७ वटा वजन समूह अन्तर्गत खेलाइनेछ ।
यसअघि ७५ केजीभन्दा माथिसम्म मात्र तौल समूह राखिएकोमा यस वर्ष देखि प्रतिस्पर्धालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन (८०+) नयाँ तौल समूह समावेश गरिएको हो ।
जुनियर मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा २०८२ चैत्र मसान्तसम्म २१ वर्ष ननाघेका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् भने मास्टर मिस्टर काठमाडौँ प्रतियोगितामा ४०+ उमेरका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
त्यसैगरी महिला एथलेटिक्स फिजिक्स खुला उचाइ अन्तर्गत प्रतिस्पर्धा गराइनेछ ।
पुरुष स्पोर्ट्स फिजिक्स अन्तर्गत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तौल तथा उचाई अनुसार १७० से.मी. सम्म र १७० से.मी. भन्दा माथिको उचाइ समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन गरिनेछ ।
दुई दिन सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन वजन र हाइट नापिनेछ ।
शारीरिक सुगठनमा प्रत्येक वजन समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः रु २०,००० र रु १०,००० नगद पुरस्कार प्रदान गरिनेछ । तौल समूहमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूले ओभरअल च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे पश्चात नगद रु ४०,००० साथै स्थान अनुसारको पदक र प्रमाण पत्र प्रदान गरिनेछ ।
ओभरअल विजेतालाई मिस्टर काठमाडौँको उपाधि सहित रु ५ लाख नगद, पदक, ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ ।
महिला प्रतिस्पर्धामा फाइनल राउन्डमा छनोट भएका पाँच जना खेलाडीहरूबीच प्रतिस्पर्धा गराई ओभरअल विजेतालाई रु ५०,००० नगद, पदक , ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ । द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३०,००० र रु २०,००० र पदक प्रदान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
मास्टर मिस्टर काठमाडौँ, जुनियर मिस्टर काठमाडौँ, पुरुष एथलेटिक फिजिक्स र पुरुष स्पोट्स फिजिक्स अन्तर्गत फाइनलमा छनोट भएका ५ जनाबीच प्रतिस्पर्धा गराई विजेतालाई रु ५०,००० नगद, पदक, ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ । द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २०,००० र रु १०,००० र पदक प्रदान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यस प्रतियोगिताको अनुमानित बजेट करिब रु ५० लाख रहेको आयोजकले जनाएको छ ।
शारीरिक सुगठन खेलले खेलाडीको शरीरलाई स्वस्थ, आकर्षक शारीरिक बनावट तथा शक्ति उपार्जन गर्न मद्दत गर्नुका साथै प्रतिस्पर्धात्मक खेलमा खेलाडीले कलात्मक एवं कुशल तरीकाले आफ्नो शरीरको प्रदर्शन गर्न मद्दत गर्ने आयोजकको विश्वास छ ।
प्रतिक्रिया 4