+

हिमालय स्पोर्ट्सको प्रमुख कार्यकारीमा सुरज गिरी नियुक्त

२०८३ वैशाख  ६ गते १३:०८ २०८३ वैशाख ६ गते १३:०८

विगत १५ वर्षदेखि नेपाली मिडिया, ब्रोडकास्टिङ र स्पोर्ट्स राइट्स म्यानेजमेन्टमा सक्रिय गिरीले अब हिमालय स्पोर्ट्सको नेतृत्व सम्हाल्ने छन् ।

हिमालय स्पोर्ट्सको प्रमुख कार्यकारीमा सुरज गिरी नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय टेलिभिजन नेटवर्कले हिमालय स्पोर्ट्सको प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरीलाई नियुक्त गरेको छ।
  • विगत १५ वर्षदेखि नेपाली मिडिया, ब्रोडकास्टिङ र स्पोर्ट्स राइट्स म्यानेजमेन्टमा सक्रिय गिरीले सन् २०२० पछि खेलकुद र मनोरञ्जन क्षेत्रको व्यावसायिक पक्षमा आफूलाई केन्द्रित गरेका छन्।
  • हिमालय टेलिभिजनसँगको उनको सहकार्य विशेषगरी ऐतिहासिक फिफा विश्वकप २०२२ को सफल प्रसारणबाट सुरू भएको थियो ।

काठमाडौं । नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल हिमालय स्पोर्ट्स को प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक (CEO & Director) सुरज गिरी नियुक्त भएका छन् ।

हिमालय टेलिभिजन नेटवर्क लिमिटेडको सञ्चालक समिति बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृत तथा तथा निर्देशक नियुक्त गरेको हो ।

विगत १५ वर्षदेखि नेपाली मिडिया, ब्रोडकास्टिङ र स्पोर्ट्स राइट्स म्यानेजमेन्टमा सक्रिय गिरीले अब हिमालय स्पोर्ट्सको नेतृत्व सम्हाल्ने छन् ।

सन् २००८ मा इमेज च्यानलबाट आफ्नो सञ्चार यात्रा सुरु गरेका गिरीले कान्तिपुर टेलिभिजनमा सामाजिक-राजनीतिक कार्यक्रम प्रस्तोताका रूपमा समेत काम गरेका थिए । सन् २०१२ देखि खेलकुद प्रसारणमा प्रवेश गरेका उनले विशेषगरी सन् २०१३ को साफ च्याम्पियनसिप र सन् २०१८ मा चर्चित भारतीय च्यानल सोनी टेलिभिजनमा समेत अन्तर्राष्ट्रिय स्तरको कमेन्ट्री गरेका थिए ।

सन् २०२० पछि गिरीले खेलकुद र मनोरञ्जन क्षेत्रको व्यावसायिक पक्षमा आफूलाई केन्द्रित गरेका छन् । उनले ‘कन्टेन्ट डेभलपमेन्ट’, ‘राइट्स एक्विजिसन’ र ‘स्पोन्सरसिप मोनिटाइजेसन’ मा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

हिमालय टेलिभिजनसँगको उनको सहकार्य विशेषगरी ऐतिहासिक फिफा विश्वकप २०२२ को सफल प्रसारणबाट सुरू भएको थियो । नेपालमा पहिलो पटक सफल रूपमा कार्यान्वयन गरिएको ‘पे-पर-भ्यु’ मोडलमा उनले प्रायोजक व्यवस्थापनको नेतृत्वदायी भूमिका खेलेका थिए ।

नवनियुक्त सीईओ गिरीले भने, “हिमालय स्पोर्ट्सको माध्यमबाट हामी नेपालमा एउटा पूर्णकालीन स्पोर्ट्स इकोसिस्टम निर्माण गर्ने लक्ष्यमा छौँ । विश्वस्तरीय खेलकुद सामग्रीलाई स्थानीय स्वाद र प्रविधिसँग जोडेर नेपाली दर्शकमाझ पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य रहनेछ ।”

गिरीलाई हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले बैशाख ४ गते एक कार्यक्रमका बिच टेलिभिजनमा स्वागत गरेका थिए ।

हिमालय टेलिभिजनले नेपाली खेलकुदको व्यावसायिक प्रवर्द्धन र अन्तर्राष्ट्रिय खेलहरूको गुणस्तरीय प्रसारणमा नयाँ उचाइ लिने विश्वास लिइएको छ ।

हिमालय टेलिभिजन नेटवर्कको एक अंगको रूपमा हिमालय स्पोर्ट्सले विश्वव्यापी मापदण्ड र स्थानीय चासोबीचको दूरीलाई मेटाउँदै नेपालमा खेलकुद प्रसारणको क्षेत्रलाई पुन: परिभाषित गरिरहेको छ।

हिमालय स्पोर्ट्सको यात्रा उत्कृष्टताको एउटा प्रमाणित ट्र्याक रेकर्डमा आधारित छ । यसले फिफा विश्वकप २०२२ को समयमा नेपालकै पहिलो ठूलो स्तरको ‘पे-पर-भ्यु’ इभेन्ट सफलतापूर्वक सम्पन्न गरी विश्वको सबैभन्दा लोकप्रिय खेललाई देशको कुना-कुनासम्म पुर्‍याएको थियो । आज, हिमालय स्पोर्ट्स ठूला खेल प्रतियोगिताहरूको आयोजक मात्र नभई एक एकीकृत र २४ सै घण्टा सक्रिय रहने खेलकुद पारिस्थितिकी प्रणालीको रूपमा विकसित हुने तयारीमा छ ।

सुरज गिरी हिमालय टेलिभिजन नेटवर्क हिमालय स्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय