News Summary
Generated by OK AI. Editorially reviewed.- धिरसिंह घिमिरेले पर्सा ठोरीमा 'जंगल रिसोर्ट' सञ्चालन गरी दुई दर्जनभन्दा बढी स्थानीय युवालाई रोजगारी दिएका छन्।
- घिमिरेले ठोरीको ठुटेखोला पुलमा नेपालका झन्डा फहराउने काम गरेका छन् जसले पर्यटकलाई आकर्षित गरेको छ।
- उनले नवलपुर विनयीत्रिवेणी गाउँपालिकामा रानीनगर पुल सरसफाइ अभियान सञ्चालन गरी देशप्रतिको माया प्रकट गरेका छन्।
७ वैशाख, वीरगञ्ज । धिरसिंह घिमिरे पर्सा ठोरीका युवा व्यवसायी हुन् । ठोरीमै रिसोर्ट सञ्चालन गरेर उनले दुई दर्जनभन्दा बढी स्थानीय युवालाई रोजगारी दिएका छन् ।
मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पहिचान बनाएको ठोरीमा ‘जंगल रिसोर्ट’ सञ्चालन गरेर उनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
विशेषगरी भारतीय पर्यटकको मुख्य गन्तव्य रहेको ठोरीमा पर्यटन प्रवर्द्धनका लागि उनले विशेष योगदान पुर्याउँदै आइरहेका छन् ।
रोजगारीका लागि विदेश पलायन हुने नेपाली युवाको ‘ट्रेन्ड’ मा थोरै भए पनि ‘ब्रेक’ लगाउँदै उनले करोडौं खर्चेर आफ्नै जन्मभूमि ठोरीमा लगानी गरेका छन् ।
ठोरी घुम्न आउने पर्यटक बास बस्न उपयुक्त ठाउँ नभएको समयमा उनले ठूलो जोखिम मोलेर रिसोर्ट सञ्चालन गरेका छन् । अहिले ठोरी घुम्न आउने पर्यटकको रोजाइमा उनकै रिसोर्ट पर्ने गरेको छ । पर्यटकीय नगरीमा पाइने सुविधा उनको रिसोर्टमा उपलब्ध छन् । यो रिसोर्ट २ बिघा १० कठ्ठामा सञ्चालन रहेको घिमिरेले बताए ।
उनी आफ्नो व्यवसायमा मात्रै सक्रिय छैनन्, ठोरी क्षेत्रमा हुने हरेक सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । ठोरीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न स्थानमा पर्यटकलाई आकर्षित गर्ने खालका गतिविधिमा पनि उनी उत्तिकै सक्रिय छन् ।
ठोरीको ठुटेखोला पुललाई ‘भाइरल पुल’ पनि भनिन्छ । ठोरी घुम्न आउने पर्यटक यो पुलमा टिकटक बनाउन झुम्मिने गर्छन् । पर्यटकलाई आकर्षित बनाउन यो पुलमा नेपालका झन्डा फहराउने काम तिनै युवा घिमिरे लगायतको पहलमा भएको हो ।

नेपालको राष्ट्रिय झन्डासँगै पृष्ठभूमिमा सेतो पहाड (ह्वाइट हिल) र ठुटेखोलालाई समेत कैद गरी यो पुलबाट टिकटक भिडियो बनाउनेदेखि फोटो खिच्न पर्यटक तँछाडमछाड गर्छन् । बेलाबेला पुलमा झाडु लगाउने, पर्यटकीय क्षेत्र राईधारामा सरसफाइमा पनि उनी सक्रिय हुन्छन् ।
तिनै युवा धिरसिंह यो पटक भने झाडु बोकेर नवलपुरको विनयीत्रिवेणी गाउँपालिका पुगेका छन् । ठोरी क्षेत्रमा हुने गरेका यस्ता सकारात्मक गतिविधिलाई उनले त्रिवेणी पनि पुर्याएका हुन् ।
विनयीत्रिवेणी गाउँपालिकास्थित रानीनगर पुल, जहाँ दैनिक हजारौं मानिसको आवतजावत हुन्छ, त्यही स्थानलाई सफा, सुन्दर र आकर्षक बनाउने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए ।
उनको यो अभियानमा स्थानीय युवाले पनि साथ दिएका छन् । उनले पुलमा झाडु मात्रै लगाएनन्, पुलको दुवै किनारामा ५/५ वटा गरी कुल १० वटा नेपालको झन्डा फहराए । देशप्रतिको माया र सम्मान प्रकट गरे ।
घिमिरेको यो अभियानमा स्थानीय युवा सक्रिय सहभागी भए । सरसफाइ क्रममा एक स्थानीय युवाले भावुक हुँदै भने, ‘हाम्रो देश नेपाललाई घिमिरे जस्तै युवाको खाँचो छ ।’
सेवा भावना र दिन दु:खीप्रति सहयोग गर्ने उत्कृष्ट चाहना घिमिरेमा छ । उनको सकारात्मक कार्यले स्थानीय युवामा नयाँ–नयाँ काम गर्ने ऊर्जा थप्ने गरेको छ ।
कर्मशील युवाको प्रयासले मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास बोकेका घिमिरे युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् । ‘जहाँ इच्छाशक्ति हुन्छ, त्यहाँ परिवर्तन अवश्य सम्भव हुन्छ,’ घिमिरे भन्छन् ।

प्रतिक्रिया 4