+
+
Shares

भिरको बाटोमा एक्लै सुत्केरी, तत्काल उद्धारले आमा-शिशुको जोगियो ज्यान

सुत्केरी भएपछि उनको होस् खुल्यो । नवजात शिशु त रगत र माटोले लतपतिएको अवस्थामा थियो ।  त्यसपछि भने उनलाई कसैको सहयोग आवश्यक महशुस भयो । उनले मोबाइल खोजेर छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गरिन् ।

नन्द बहादुर रोकाया नन्द बहादुर रोकाया
२०८३ वैशाख ८ गते १४:०८

८ वैशाख, मुगु । मुगुम कार्मारोङ गाउँपालिका–८ महगाउँकी ३० वर्षीया साङ्मु लामा सोमबार साँझ जीवनको सबैभन्दा कठिन परीक्षा भोग्दै थिइन् । सदरमुकाम गमगढीबाट घर फर्कने क्रममा साँझ करिब ७ बजे उनलाई सुत्केरी बेथाले च्याप्यो ।

उनी एक्लै थिइन्, सहयोग गर्ने त्यहाँ अर्को कुनै हात थिएन । रात पर्न लागिसकेको थियो । वरिपरि अँध्यारो, तल गर्जिरहेको कर्णाली नदी र माथि डरलाग्दो भिर मात्र । सुत्केरी पीडामा रहँदा उनले तत्काल केही सोच्नै सकिनन् ।

यद्यपि ममताले भरिएको साहस उनका कम्ती थिएन, त्यही एकान्त सन्नाटाबीच सहाराविनै उनले साढे ७ बजेतिर उनले शिशुलाई जन्म दिइन् ।

सुत्केरी भएपछि उनको होस् खुल्यो । नवजात शिशु त रगत र माटोले लतपतिएको अवस्थामा थियो ।

त्यसपछि भने उनलाई कसैको सहयोग आवश्यक महशुस भयो । उनले मोबाइल खोजेर छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गरिन् । खबर पाए लगत्तै ती साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु बुढा र प्रसूति केन्द्रकी तिला मल्ललाई जानकारी दिइन् ।

खबरपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली हतारहतार उद्धारका लागि खटियो । सोही टोलीले साङ्मु र नवजात शिशुलाई उद्धार गर्‍यो ।

आमा र नवजात शिशुको तत्काल उद्धार सम्भव नभएको भए दुवैको ज्यान जोखिममा थियो । उद्धार टोलीले कठिन भौगोलिक अवस्था बाबजुद आमा शिशुलाई छायल प्रसूति केन्द्र पुर्‍यायो ।

प्रसूति केन्द्रमा पुर्‍याएपछि शिशुको अवस्था गम्भीर देखियो । त्यसपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो । जिल्ला अस्पताल चार घण्टाको दूरी थियो, तत्काल सवारी साधन उपलब्ध थिएन । त्यसपछि मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावललाई स्थानीयले सम्पर्क गरे । रावलले जिपको व्यवस्थापन गरे, त्यसपछि प्रहरी र अनमी विष्णु बुढासहितको टोलीले आमा र शिशुलाई लगेर जिल्ला अस्पताल पुर्‍याए ।

हाल नवजात शिशुको एनआईसियूमा राखेर उपचार भइरहेको छ भने आमा साङ्मुको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी विष्णु बुढाले जानकारी दिइन् ।

साङ्मुका पति पेमा राप्के लामाले छोरीको हेरचाह गर्ने अर्को कोही नभएकाले आफू घरमै बसेको बताए । साङ्मु भने केही दिन अघि माइती गएकी थिइन् । तर, उनले माइतीबाट घर फर्किन लागेको खबर आफूलाई समेत नदिएको पेमाले बताए ।

‘बाटोमै सुत्केरी भएको खबर पाएपछि म छायल बजार पुगेँ, तर उनलाई अस्पताल लगिसकिएको रहेछ,’ उनले  भने । घरमा रहेकी सानी छोरीलाई अरूकै जिम्मा लगाएर आफू अहिले अस्पताल पुगेको उनले जानकारी दिए ।

उद्धारमा सक्रिय प्रसूति केन्द्र छालकी इन्चार्ज तिला मल्लले साङ्मु सुत्केरी भएको स्थान निकै डरलाग्दो देखिएको बताइन् । ‘त्यहाँ पुग्दा आमाको शरीरभरि पसिना रक्त श्रापले भिजेको थियो । शिशु चिसोले निलो भइसकेको थियो,’ उनले भनिन्, ‘मुख, शरीरभरि ढुंगा–माटो  लतपतिएको थियो ।’

यो घटना दुर्गम क्षेत्रका आमाहरूले सदिऔंदेखि भोग्दै आएको नियतिको निरन्तरता रहेको स्थानीयवासी बताउँछन् । यहाँको भूगोल, परिवेश र स्वास्थ्य सेवा अभावले अक्सर आमाहरूले यस्तै समस्या भोग्दै आएका छन् ।

यस्तोमा आमा साङ्मुको अदम्य साहस र समयमै खटिएका स्वास्थ्यकर्मी तथा प्रहरीको सक्रियताले उनको र नवजात शिशुको ज्यान जोगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?