News Summary
Generated by OK AI. Editorially reviewed.- डा. दिनेशनाथ गोंगलले नेपालमा पहिलो पटक न्युरो सर्जरी सुरु गरेर आधुनिक शल्यचिकित्साको आधारशिला तयार पारे ।
- डा. गोंगलले ४० हजारभन्दा बढी शल्यक्रिया गरी वीर अस्पतालमा न्युरो सर्जरी विभाग स्थापना गर्न महत्वपूर्ण भूमिका खेले ।
- उनले डा. उपेन्द्र देवकोटालाई बेलायत पठाएर न्युरो सर्जरीमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरे ।
वीरको अस्पतालको पाँचौं तलामा एक अप्रेसन थियटर छ, जसको नाम हो– गोंगल थियटर ।
न्युरो सर्जरी हुने यो कक्षको नाम किन कुनै व्यक्तिको नाममा रहन गयो ?
यही प्रश्नले नेपालमा न्युरो सर्जरीको इतिहास खोतल्ने काम गर्छ ।
साथ साथै एक समर्पित डाक्टरको जीवन कथा पनि ।
दुई वर्षअघि राखिएको उक्त नाम अहिले झन् अर्थपूर्ण बनेको छ । किनकि नेपाली न्युरोसर्जरीका पिता डा. दिनेशनाथ गोंगल अब यस संसारमा छैनन् ।
वीर अस्पतालका न्युरोसर्जरी प्रमुख डा. राजीव झा भन्छन्, ‘हरेक बिहान जब अप्रेसन थिएटरमा पस्छौँ, ढोकामा लेखिएको उहाँको नामले हामीलाई सम्झाइरहन्छ । न्युरो सर्जरीमा जे सिक्यौँ, त्यो उहाँको जगमा उभिएको हो ।’
नेपालमा पहिलो पटक टाउको खोल्ने डाक्टर
जतिबेला नेपालमा न सिटी स्क्यान थियो, न आधुनिक उपकरण, त्यतिबेला डा. गोंगल नै जोखिम मोलेर बिरामीको टाउको खोले । कठिन परिस्थितिमा पनि डा. गोंगलले नेपालमा जटिल शल्यक्रियाको अभ्यास सुरू गरे ।
त्यो साहसिक निर्णयले नेपालमा न्युरो सर्जरीको जग बसाल्यो ।

वि.सं २०१८ मा सडक दुर्घटनामा घाइते भएका एक बिरामीको टाउको खोलेर डा. गोंगलले शल्यक्रिया गरेका थिए । नेपालमा गरिएको त्यो पहिलो न्युरो सर्जरी थियो । तर त्यो अप्रेसन सफल भएन । बिरामीलाई बचाउन सकिएन ।
पहिलो प्रयास असफल भए पनि उनले हिम्मत हारेनन् । त्यसको एक वर्षपछि वि.सं. २०१९ मा उनले ब्रेन ट्युमरको शल्यक्रिया गरे । त्यो अप्रेसन सफल भयो । तर जोखिम यति ठूलो थियो कि अप्रेसनपछि उनले बिरामीलाई ४८ घन्टासम्म आफैं निगरानी गर्दै बस्नुपर्यो ।
किनभने त्यतिबेला अस्पतालमा न भरपर्दो उपकरण थियो । न आइसीयू, न पर्याप्त नर्सिङ निगरानी । बिरामीलाई जे पनि हुन सक्थ्यो ।
सामान्य एक्स–रेको भरमा गरिएको ती शल्यक्रिया आजका चिकित्सकहरूका लागि सम्झँदा पनि अचम्म लाग्ने खालको थियो ।
डा. झाका अनुसार डा. गोंगलले नेपालमा पहिलो पटक पिट्यूटरी ग्रन्थीको ट्युमरको अप्रेसन गरेका थिए । ‘आजको जस्तो प्रविधि केही थिएन’ झा सम्झन्छन्, ‘तर उहाँले जुन साहस र दक्षताले अप्रेसन गर्नुभयो, त्यो अहिले सोच्दा पनि अविश्वसनीय लाग्छ ।’
सर्जरीका लागि आफैं किनेर ल्याउँथे उपकरण
सर्जरीका लागि आवश्यक उपकरणसमेत नेपालमा सहजै उपलब्ध हुँदैनथ्यो । कहिलेकाहीँ उनले विदेश जाँदा आफैं उपकरण किनेर ल्याउँथे । केही उपकरण त उनले काठमाडौंमै बनाउने व्यवस्था समेत मिलाएका थिए ।
त्यसैले धेरै चिकित्सकहरू उनलाई नेपालमा आधुनिक शल्यचिकित्साको आधार निर्माण गर्ने व्यक्तिका रूपमा सम्झन्छन् ।

डा. गोंगलले जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरे । आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए ।
वीरमै बितेको जीवन
डा. गोंगलको वि.सं. १९८९ जन्म काठमाडौंमा भएको थियो तर उनको पुर्ख्यौली घर पाल्पा तानसेन हो ।
उनले त्रिचन्द्र कलेजबाट बीएस्सी पूरा गरे । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजमा एमबीबीएस र बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरे ।
भारतबाट एमबीबीएस र एमएस गरेका उनी वि.सं. २०१३ सालमै सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनको अधिकांश चिकित्सा जीवन वीर अस्पतालमै बित्यो । यही अस्पतालमा उनले शल्यचिकित्साको अभ्यास सुरु गरे र नयाँ पुस्ताका चिकित्सकहरू तयार पारे । पछि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का संस्थापक उपकुलपति समेत बने । डा. गोंगलका तीन छोरा र एक छोरी छन्।
जब गोंगलले देवकोटालाई विदेश पठाए
उनले युवा चिकित्सकहरूलाई विदेश अध्ययनका लागि पठाएर नेपालमा विशेषज्ञ चिकित्सक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेले ।
उनी प्रशासनिक जिम्मेवारीमा रहे पनि चिकित्सक र विद्यार्थीबाट टाढा बसेनन् ।
डा. झा सम्झन्छन्, ‘म त्यतिबेला न्युरोसर्जरी विभागमा मेडिकल अफिसर थिएँ, विभागीय प्रमुख डा. उपेन्द्र देवकोटा हुनुहुन्थ्यो । हप्तामा एक दिन हुने अन्तरविभागीय मिटिङमा डा. गोंगल नियमित आउनुहुन्थ्यो ।’
कक्षामा उनी धेरै बोल्ने मान्छे थिएनन् । तर ध्यान दिएर सुन्थे, अनि आवश्यक ठाउँमा मात्र सच्याउँथे ।
‘उहाँ कम बोल्ने तर धेरै सुन्ने शिक्षक हुनुहुन्थ्यो’ झा भन्छन्, ‘त्यही शैलीले हामीलाई सिकायो ।’
उनकै मार्गदर्शनमा पछि नेपाली न्युरोसर्जरीले नयाँ पुस्ता पायो । बरिष्ठ न्युरोसर्जन डा. प्रकाश विष्ट र स्व. डा. उपेन्द्र देवकोटा जस्ता चिकित्सकले प्रारम्भिक चरणमा डा. गोंगलसँग काम गर्दै अनुभव बटुलेका थिए । देवकोटा न्युरोसर्जन बन्नुमा गोंगलको ठूलो हात छ ।

नेपालमा न्युरो सर्जरीको आधार तयार पार्ने क्रममा गुरु–शिष्यको सम्बन्ध पनि त्यत्तिकै महत्वपूर्ण रह्यो । अन्तर्राष्ट्रिय ख्याति कमाएका डा. देवकोटालाई डा. गोंगलले नै विदेश पठाएर न्युरो सर्जरीको बाटो खोलिदिएका थिए ।
वीर अस्पतालमा न्युरो सर्जरीको औपचारिक सेवा सुरु भइसकेको थिएन । तर टाउको र स्नायु प्रणालीका गम्भीर समस्या लिएर आउने बिरामीको चाप दिनप्रतिदिन बढ्दै गइरहेको थियो । नेपालमा यस्तो अप्रेसन सम्भव नहुँदा धेरै बिरामी महँगो खर्च गरी विदेश धाउन बाध्य थिए । यही अवस्थाले डा. गोंगललाई चिन्तित बनाएको थियो ।
उनले सोचे– नेपालमै न्युरो सर्जरी सुरु गर्नुपर्छ । तर त्यसका लागि दक्ष जनशक्ति चाहिन्थ्यो, जुन तत्काल उपलब्ध थिएन । त्यसैले वीर अस्पतालकै कुनै डाक्टरलाई विदेश पठाएर तालिम दिलाउने योजना बनाइयो । उनले विभागका चिकित्सकहरूसँग यो प्रस्ताव राखे । धेरैले हिचकिचाए ।
‘बिरामी धेरै आउँदैनन्, प्राक्टिस चल्दैन’ भन्ने आशंका थियो ।
त्यही बेला एक युवा चिकित्सक अगाडि सरे– डा. उपेन्द्र ।
डा. गोंगलका लागि त्यो क्षण अत्यन्तै महत्वपूर्ण थियो । नेपालमा न्युरो सर्जरीको भविष्य खोजिरहेका उनी आफ्नै अस्पतालबाट तयार भएका एक प्रतिभाशाली डाक्टर विदेश जान तयार भएपछि निकै उत्साहित भए ।
सन् १९८२ मा डा. गोंगल ब्रिटिश सरकारको निमन्त्रणामा दुई हप्ताको कार्यक्रमका लागि बेलायत पुगे । छोटो बसाइमै उनले त्यहाँका चिकित्सकहरूसँग सम्बन्ध विस्तार गरे । त्यस क्रममा उनले ग्लासगो विश्वविद्यालयका प्रसिद्ध न्युरोसर्जन डा. ग्राहम टिजडेजसँग भेटे ।
गोंगलले स्पष्ट रूपमा अनुरोध गरे, ‘नेपाललाई एक जना प्रशिक्षित न्युरोसर्जन चाहिएको छ । तालिममा सहयोग गरिदिनुहोस् ।’
त्यतिबेला ग्लासगो विश्वविद्यालय न्युरो सर्जरी र अनुसन्धानका लागि विश्वमै अग्रणी मानिन्थ्यो । प्रोफेसर टिजडेलले गोंगलको प्रस्ताव स्वीकार गरे । केही समयपछि औपचारिक पत्र आयो । त्यसपछि ब्रिटिस काउन्सिलसँग समन्वय गरेर सन् १९८३ मा डा. देवकोटालाई बेलायत पठाइयो ।
सुरुमा ग्लासगोमा ६ महिनाको तालिम योजना थियो । तर पछि त्यसलाई तीन वर्षको छात्रवृत्तिमा रूपान्तरण गरियो । बेलायतमा रहँदा डा. देवकोटाले आफ्नो असाधारण क्षमता देखाए । उनले त्यहाँको अत्यन्तै कठिन मानिने एफआरसीएस परीक्षा उत्तीर्ण गरे । जहाँ परीक्षा दिनेमध्ये करिब १५ देखि २० प्रतिशत मात्रै पास हुन्थे ।
लामो तालिमपछि सन् १९८९ मा डा. देवकोटा नेपाल फर्किए र फेरि वीर अस्पतालमै काम सुरु गरे ।
त्यतिबेलासम्म अस्पताल पुरानै ढर्रामा चलिरहेको थियो । देवकोटा फर्किएपछि स्थिति बदलिन थाल्यो । डा. गोंगलका लागि त्यो ठूलो राहतको क्षण बन्यो । काँधमा बोकेको भारी अचानक हल्का भएको अनुभूति उनले गरेका थिए ।
त्यसपछि वीर अस्पतालमा न्युरो सर्जरी आधुनिक दिशातर्फ अघि बढ्न थाल्यो । सरकारले पनि नयाँ उपकरण ल्याउन सहयोग गर्यो, आवश्यक दरबन्दी सिर्जना गरियो । अन्ततः छुट्टै न्युरो सर्जरी विभाग स्थापना भयो ।
वीर अस्पतालमा अहिले न्युरोसर्जरीका दुई अप्रेसन थियटर छन् । यीमध्ये एउटामा डा. गोंगल र अर्कोमा डा. देवकोटाको नाम राखिएको छ ।

डा. झा भन्छन्, ‘आज दुवै जना हाम्रो बीचमा हुनुहुन्न । तर जब हामी अप्रेसन थिएटरमा प्रवेश गछौं उहाँहरूको नामले हामीलाई सम्झाइरहन्छ ।’
वरिष्ठ चिकित्सक ढुण्डीराज पौडेल डा. गोंगललाई ‘नेपाली शल्यचिकित्साको एक इतिहास’ रूपमा सम्झन्छन् ।
‘नेपाली शल्यचिकित्साको एक इतिहास, जसले सिटी स्क्यानको आविष्कार नहुँदैं जटिल प्रकारको टाउको मस्तिष्कको सफल शल्यचिकित्सा गरी विश्वलाई चकित पार्नुभएको थियो’ डा. पौडेल भन्छन्, ‘जसले टाउकोदेखि खुट्टासम्म हरेक शल्यचिकित्सामा अप्ठ्यारो पर्दा चिकित्सकलाई सघाउनु भएथ्यो।’
डा.गोंगललाई चाकडी, चाप्लुसी र मोलाहिजाबाट पर, बोलीमा कडा र हृद्धयका अत्यन्तै कोमल सर्जरीका हस्त शिल्पकारका रुपमा डा. पौडेल सम्झन्छन् ।
नेपाली चिकित्सा क्षेत्रमा गरेको योगदानको कदरस्वरूप उनले थुप्रै पदक तथा पुरस्कार पाएका छन् । ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट प्रथम, गोरखा दक्षिणबाहु (प्रथम, दोस्रो, तेस्रो तथा चौथा), महेन्द्र विद्याभूषणलगायतका पदक डा. गोंगलले पाएका छन् ।

उनी आफ्नो जीवनलाई ‘डाँडाको घाम’सँग तुलना गर्ने गर्थे ।
अस्ताउँदै गएको घामजस्तै जीवनको उत्तरार्धमा पुगे पनि उनले सपना देख्न छाडेका थिएनन् । ‘मेरो व्यक्तिगत सपना होइन’ गोंगलले ६ वर्षअघि अनलाइनखबरसँग भनेका थिए, ‘यो जीवनमै नेपाल समृद्ध भएको देख्न पाए हुन्थ्यो ।’
आज उनी यो धर्तीमा छैनन्, तर नेपालमा आधुनिक शल्यचिकित्साको आधारशिला खडा गर्ने उनको साहस, संघर्ष र समर्पण चिकित्सा इतिहासमा सधैं उज्यालो भएर रहनेछ ।
प्रतिक्रिया 4