+
+
WC Series
Nepal
84/2 (9.6)
VS
६० बलमा ४५ रन आवश्यक
UAE
128/8 (20)
Shares

कांग्रेसले लिडरसिप एकेडेमी चलाउने, जनप्रतिनिधि बन्न कक्षा पूरा गर्नुपर्ने

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मातहतमा गठन हुने एकेडेमीलाई कांग्रेसले ‘ट्रेनिङ इन्स्टिच्युट’ को रूपमा परिभाषित गरेको छ ।

केशव सावद केशव सावद
२०८३ वैशाख ८ गते १७:५४

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक तथा सार्वजनिक नेतृत्व विकासलाई क्षमतायुक्त बनाउने उद्देश्यले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने भएको छ ।

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मातहतमा गठन हुने एकेडेमीलाई कांग्रेसले ‘ट्रेनिङ इन्स्टिच्युट’ को रूपमा परिभाषित गरेको छ ।

यसले पार्टीका क्रियाशील सदस्यहरूलाई कांग्रेसको इतिहास, आदर्श, विचारधारा, आर्थिक नीति, विकास नीति र सामाजिक नीतिबारे प्रशिक्षण दिनेछ ।

क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यकर्ताहरूलाई पार्टीको नीति, कार्यक्रम, प्राथमिकता तथा अद्यावधिक नीतिगत विषयहरूबारे नियमित पुनर्ताजगी तालिम प्रदान गर्ने कांग्रेसको लक्ष्य छ ।

एकेडेमीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय, प्रदेश तथा संघीय तहका जनप्रतिनिधिहरूलाई समेत अनुशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।

आगामी निर्वाचनहरूमा जनप्रतिनिधि बन्ने आकांक्षा राख्ने पार्टी कार्यकर्ताहरूलाई आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकाससम्बन्धी विशेष कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

‘नेतृत्वमा जान चाहने आकांक्षीहरूलाई ज्ञान, कौशलता, व्यवस्थापकीय क्षमता र समग्र रूपमा भरिपूर्ण बनाउने लक्ष्य हो,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने ।

प्रवक्ता देवराज चालिसे

लक्ष्यहरू नबुझाइ र नबुझी जिम्मेवारी दिँदा सुखद र अपेक्षित परिणाम आउन नसक्ने उनको भनाइ छ ।

‘पार्टीको लक्ष्य नबुझेका व्यक्तिले जनमत निर्माण गर्न सक्दैन र भएकै जनमतलाई पनि कायम राख्न सक्दैन,’ प्रवक्ता चालिसेले भने, ‘यिनै कुराहरू बुझाउन एकेडेमी स्थापना गर्न लागेका हौं ।’

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पनि एकेडेमीले पार्टीका तर्फबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरूलाई अनुशिक्षण गर्नेछ ।

त्यसैगरी एकेडेमीले आगामी निर्वाचनहरूमा जनप्रतिनिधि बन्ने आकांक्षी पार्टी कार्यकर्ताहरूलाई पनि प्रशिक्षण दिनेछ ।

पार्टीको निर्णयअनुसार एकेडेमीले पाठ्यक्रम तयार गरी जनप्रतिनिधि बन्न चाहने वा सरकारमा कार्यकारी जिम्मेवारी लिन चाहने व्यक्तिहरूलाई उक्त जिम्मेवारीसँग जोडिएका आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकासका लागि कक्षा सञ्चालन गर्नेछ ।

महामन्त्री प्रदीप पौडेलले एकेडेमीलाई राज्य प्रणालीबारे कार्यकर्तालाई सशक्त बनाउने महत्वपूर्ण कदमको रूपमा प्रस्तुत गरे । उनले भने, ‘राज्य प्रणाली, संवैधानिक व्यवस्था, विभिन्न तहका सरकारको जिम्मेवारी र प्रशासनिक क्षमताबारे कार्यकर्तालाई सशक्त बनाउने उद्देश्यसहित यो प्रशिक्षण संस्था सञ्चालनमा ल्याइएको हो ।’

महामन्त्री पौडेलका अनुसार सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिले निर्वाचनभन्दा कम्तिमा तीन महिना अगाडि अनिवार्य ‘पब्लिक पोलिसी’ कक्षा पूरा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

प्रदीप पाैडेल, महामन्त्री । फाइल फोटो ।

एकेडेमीमार्फत् निश्चित कक्षा पूरा गरे वा नगरेको आधारलाई पार्टीको उम्मेदवारी छनोट तथा अन्य जिम्मेवारीसँग प्रत्यक्ष जोडिने छ ।

‘कांग्रेस लिडरसिप एकेडेमीमार्फत् निश्चित कक्षा पूरा गरे–नगरेको आधारलाई पार्टीको उम्मेदवारी छनोट र जिम्मेवारीसँग जोडिने छ,’ महामन्त्री पौडेलले भने ।

संगठनात्मक जिम्मेवारी र सार्वजनिक जिम्मेवारी दुवै क्षेत्रमा कांग्रेसका कार्यकर्ताको क्षमता अभिवृद्धि गर्न एकेडेमी बनाइएको उनको भनाइ छ ।

उम्मेदवार बन्न चाहनेले कांग्रेसले बनाउने कोर्सको ट्रेनिङ लिएको हुनुपर्ने र ट्रेनिङ नलिएको व्यक्ति उम्मेदवारका लागि योग्य नहुने महामन्त्री पौडेलले बताए ।

प्रवक्ता चालिसेले एकेडेमीलाई ‘स्कुल’ कै रूपमा व्याख्या गरे । ‘एकेडेमीको आफ्नै पाठ्यक्रम हुन्छ । यो स्कुल नै हो । यसको तीन महिने कोर्स हुन्छ,’ उनले भने ।

चालिसेले पनि एकेडेमीले तोकेको कोर्स पूरा नगरेको कार्यकर्ता पार्टीका तर्फबाट उम्मेदवारका लागि योग्य नहुने बताए । ‘कोर्स पूरा नगरेका मान्छेहरू उम्मेदवारका लागि ग्राह्य हुँदैनन्,’ उनले भने, ‘राजनीतिलाई बदलिएको परिस्थितिमा ‘मेरिटोक्रेसी’ स्थापित गर्दै जाऔं भन्ने उद्देश्य हो ।’

महामन्त्री पौडेलले एकेडेमीले पढाउने पाठ्यक्रम र कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए । पूर्ण कार्यविधि आउनै बाँकी रहेकाले एकेडेमीबारे थप प्रष्ट्याउन नसकिने उनको भनाइ छ ।

‘कार्यविधि आउन बाँकी छ । अहिले नै पाठ्यक्रम तोकिएको छैन,’ उनले भने, ‘कार्यविधिका आधारमा नै सबै कुरा तयार हुनेछ । पूर्ण कार्यविधि आउनै बाँकी छ । त्यसैले अहिले नै धेरै कुरा प्रष्ट ढंगले भन्न सकिँदैन ।’

तर, महामन्त्री पौडेलले एकेडेमीको मूल भावना भने स्पष्ट पारे । ‘यो ट्रेनिङ इन्स्टिच्युट जस्तो हो । यसमा उम्मेदवार बन्न चाहने आकांक्षीहरूले अनिवार्य ट्रेनिङ लिनुपर्छ,’ उनले भने ।

कांग्रेसका कार्यकर्तालाई राज्य प्रणालीभित्र विभिन्न जिम्मेवारी प्राप्त हुँदा त्यो जिम्मेवारी निभाउन सक्ने गरी क्षमता अभिवृद्धि गर्नु नै एकेडेमीको मुख्य उद्देश्य रहेको महामन्त्री पौडेलको भनाइ छ ।

‘यो खासमा राज्य प्रणाली बुझाउने, संवैधानिक व्यवस्था के छ, कुन तहका सरकारको जिम्मेवारी के हो, सरकारहरू एकअर्कासँग कसरी आवद्ध हुन्छन्, प्रशासनिक क्षेत्रका अधिकारहरू के–के हुन्, सार्वजनिक क्षेत्रको सूचना लिएर जनतालाई सहयोग गर्न सक्ने क्षमता कार्यकर्ताहरूमा अभिवृद्धि गर्ने हो,’ उनले भने ।

कांग्रेसले एकेडेमीलाई पार्टीको दीर्घकालीन क्षमता विकासको महत्वपूर्ण पूर्वाधारको रूपमा हेरेको छ ।

राजनीतिलाई व्यावसायिक र मेरिटमा आधारित बनाउने प्रयासस्वरूप सुरु गरिएको पहलले पार्टी कार्यकर्तालाई मात्र नभएर समग्र नेपाली राजनीतिक प्रणालीलाई नै गुणस्तरीय र जवाफदेही बनाउने अपेक्षा कांग्रेसको छ ।

निर्देशिका र पूर्ण कार्यविधि तयार भएपछि एकेडेमीको सञ्चालन, पाठ्यक्रम, प्रशिक्षक र कक्षा सञ्चालनको मोडालिटी थप स्पष्ट हुने प्रवक्ता चालिसेले बताए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?