News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघको आर्थिक विषयमा छानविन गर्न तीन सदस्यीय उपसमिति बनाएको छ।
- उपसमितिको संयोजक राखेपका कार्यकारी सदस्य कमल भट्टराई हुनुहुन्छ र सात दिनभित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ।
- एन्फाको अर्ली इलेक्सन विवादपछि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो र छानविन उपसमितिले निष्पक्ष प्रतिवेदन तयार गर्नेछ।
८ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आर्थिक विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार छानविन समिति बनाएको छ ।
मंगलबार बसेको राखेपको कार्यकारी समितिको बैठकले राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति बनाएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा युवा तथा खेलकुद मन्त्रालयको वैशाख ७ गते सोमबारको पत्र अनुसार राय पेश गर्न छानविन उपसमिती बनाएको राखेपल सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए ।
छानविन समितिमा राखेपका लेखा अधिकृत टंकनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला सदस्य छन् । समितिलाई सात दिनभित्र छानविन गरि प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ ।
एन्फाको आर्थिक नियमावली, कार्यविधि र विधान विपरित खरिद प्रकृया पारदर्शी नभएको र अनियमितता भएको भन्दै एन्फा विरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
छानविन उपसमितिलाई उजुरीको विषयसँग सम्बन्धित आवश्यक कागजात अध्ययन गर्ने, उजुरीको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग समन्वय गरी प्रतिवेदन तयार गर्ने, विवरण तयार गर्दा प्रचलित नियम, कानून र संघको विधानको आधारमा तयार गर्ने, तोकिएको समयभित्र छानविन प्रतिवेदन पेश गर्ने र उपसमितिले आफ्नो बैठकको कार्यविधि आफैले निर्धारण गर्न सक्ने जिम्मा दिइएको छ ।
पछिल्लो समय राखेप र एन्फाबीच एन्फाको अर्ली इलेक्सनको विषयमा विवाद हुँदा अहिले नेपाली फुटबल नै संकटतर्फ धकेलिएको छ ।
एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन विपरित अर्ली इलेक्सन गर्न खोजेपछि राखेपले चैत ११ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो ।
यस विषयमा निष्पक्ष रुपमा छानविन गरेर प्रतिवेदन बुझाउने छानविन उपसमितिका संयोजक कमल भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया 4