+
+
Shares

अन्य दलबाट आएका नेता व्यवस्थापन गर्न रास्वपाले बनायो संघीय नेतृत्व मञ्च

रास्वपाले अन्य दलबाट आएका तर केन्द्रीय समितिमा अटाउन नसकेका व्यक्तिहरूलाई केन्द्रीय तहको संरचनामा राख्ने गरी संघीय नेतृत्व मञ्च बनाएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ वैशाख ९ गते ८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलबाट आएका नेताहरूलाई समायोजन गर्न संघीय नेतृत्व मञ्च गठन गरेको छ।
  • संघीय नेतृत्व मञ्चलाई रास्वपाको विधानले चिन्दैन र महाधिवेशनपछि विघटन गरिनेछ।
  • संघीय नेतृत्व मञ्चमा हाल २५ सदस्य छन् र उनीहरूको भूमिका र अधिकार तोकिएको छैन।

९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तरिम पार्टी संरचना बनाएको छ । अन्य दलबाट रास्वपामा प्रवेश गरेका र केन्द्रीय समितिमा अटाउन नसकेका व्यक्तिहरूलाई समायोजन गर्ने गरी संघीय नेतृत्व मञ्च बनाएको हो ।

संघीय नेतृत्व मञ्चमा अन्य दलबाट रास्वपा प्रवेश गरेका व्यक्ति, अभियन्ता लगायतलाई समावेश गर्ने गरी उक्त संरचना गठन गरिएको नेताहरूले बताएका छन् । उपसभापति डा. स्वर्णिम वाग्लेको अवधारणाअनुसार संघीय नेतृत्व मञ्च बनाइएको हो ।

महाधिवेशनसम्मको लागि संघीय नेतृत्व मञ्च गठन गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । अन्य दलबाट आएकालाई पार्टीको केन्द्रीय तहको एउटा संरचनामा राख्ने गरी वैकल्पिक व्यवस्थाका लागि यो मञ्च गठन गरिएको प्रवक्ता झाले बताए । महाधिवेशनपश्चात् विघटन हुने गरी अल्पकालीन संरचना बनाइएको छ ।

संघीय नेतृत्व मञ्चलाई रास्वपाको विधानले भने चिन्दैन । रास्वपाको विधानले चिन्ने गरी केन्द्रीय तहमा ८ संरचना छन् । राष्ट्रिय महाधिवेशन, केन्द्रीय परिषद्, केन्द्रीय समिति, सल्लाहकार परिषद्, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा र विभागहरू केन्द्रीय तहका संरचना हुन् । विधानभन्दा बाहिर रहेर संघीय नेतृत्व मञ्च गठन गरिएको छ ।

विवेकशील साझा दलबाट रास्वपामा आएका नेताहरूलाई पार्टीको केन्द्रीय संरचनामा राख्ने गरी छुट्टै संरचना बनाउने गरी संघीय नेतृत्व मञ्चको सुरुवात गरिएको थियो । विवकेशील साझा दलले रास्वपासँग एकता गरेपछि उक्त दलका १७ नेतालाई संघीय नेतृत्व मञ्चमा राखिएको थियो ।

समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, बिमला अधिकारी,  रञ्जु दर्शना, पवित्रा थापा, बिमल तामाङ, समुद्र केसी, दामोदर नेपाल, आशुतोष प्रधान, नवराज थापा, सुरज प्रधान, धनेज थापा,  सुदन श्रेष्ठ, अजित खड्का, रुस्तम अन्सारी, सुशील शाह र शीतल भुसाललाई संघीय नेतृत्व मञ्चमा राखिएको थियो ।

विवेकशील साझाबाट संघीय नेतृत्व मञ्चमा रहेका १७ मध्ये सात जनालाई केही समयपछि केन्द्रीय समितिमा समेटिएको थियो । पूर्वविवेकशील साझाका नेताहरू समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, रञ्जु दर्शना, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा हाल रास्वपाको केन्द्रीय सदस्य छन् । पूर्वविवेकशील साझा पृष्ठभूमिका १० जना संघीय नेतृत्व मञ्चमा छन् ।

रास्वपासँग एकता भाँडिए पनि रास्वपामै रहेका उज्यालो नेपाल पार्टीका तत्कालीन केन्द्रीय सदस्यहरूलाई पनि रास्वपाले संघीय नेतृत्व मञ्चको सदस्यमा मनोनित गरेको छ । उज्यालो नेपालका तत्कालीन केन्द्रीय सदस्यहरू डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. तारा जोशी, डा. शंकर ढकाल, रिमा विश्वकर्मा, सञ्जीव भट्टराई लगायतलाई संघीय नेतृत्वमा मञ्चमा राखिएको छ । यीमध्ये दुई जना रास्वपाका सांसद बनेका छन् । जोशीले डडेलधुराबाट प्रत्यक्ष निर्वाचन जिते भने विश्वकर्मा समानुपातिक सांसद बनेकी छिन् ।

रास्वपाले संघीय नेतृत्व मञ्चलाई सोमबार थप विस्तार गरेको छ । केन्द्रीय समितिको बैठकले ८ जनालाई संघीय नेतृत्व मञ्चमा मनोनीत गर्ने निर्णय गरेको छ । तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, हरिशरण आचार्य, प्रेमा चौधरी, नवराज राना, राजेन्द्रबहादुर अधिकारी र एकराज चौधरीलाई संघीय नेतृत्व मञ्चमा थपिएको छ । संघीय नेतृत्व मञ्च तेस्रो पटक विस्तार गरिएसँगै २५ सदस्यीय समिति बनेको छ ।

संघीय नेतृत्व मञ्च गठन गरिए पनि त्यसमा रहनेहरूको भूमिका भने किटान भएको छैन । उनीहरूका लागि काम, कर्तव्य र अधिकारसमेत तोकिएको छैन ।

संघीय नेतृत्व मञ्चमा रहेका एक सदस्यले अनलाइनखबरसँग भने, ‘केन्द्रीय सदस्यभन्दा मुनि मर्यादाक्रम र जिम्मेवारी हुने भनिएको छ । यो मञ्चले गर्ने काम निश्चित छैन । आजसम्म एउटा बैठक पनि बसेको छैन ।’

संघीय नेतृत्व मञ्चमा रहेका नेताहरूसँग पार्टी नेतृत्वले हालसम्म छलफल नगरेको उनले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार संघीय नेतृत्व मञ्चमा रहेका सदस्यहरूसँग सल्लाह, सुझाव लिन आमन्त्रित सदस्यका रूपमा केन्द्रीय समितिको बैठकमा बोलाउन सकिने छ । प्रवक्ता झाले भने, ‘महाधिवेशन नहुने बेलासम्मका लागि यो अल्पकालीन व्यवस्था हो । महाधिवेशनमा प्रतिस्पर्धा गरेर जित्नेहरू केन्द्रीय सदस्य बन्नुहुन्छ । जित्न नसक्ने बन्नुहुन्न ।’

रास्वपाको विधानअनुसार १२९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । बालेन शाह पक्षसँगको एकतापछि पनि केन्द्रीय समितिले पूर्णता भने पाएको छैन । बालेन र पूर्वविवेकशील धारका नेताहरूलाई समावेश गरेर रास्वपाको केन्द्रीय समितिको आकार ९२ सदस्यीय बनेको छ ।

रास्वपामा प्रवेश गर्ने अन्य दलका सबै नेतालाई केन्द्रीय समितिमा समावेश गर्न सम्भव नरहेको हुँदा वैकल्पिक व्यवस्था गरिएको प्रवक्ता झाले जानकारी दिए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?