+
+
Shares

बच्चामा हीन भावना आउनुका ८ कारण, कसरी हटाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बच्चाको मानसिक विकास सामाजिक, पारिवारिक र स्कूलसँग जोडिएका परिस्थितिमा निर्भर गर्छ र नकारात्मक विचारले हीन भावना जन्माउँछ।
  • हीन भावना रोक्न अभिभावक, शिक्षक र समाजले सकारात्मक वातावरण सिर्जना गरी बच्चालाई प्रोत्साहन दिनुपर्छ।

बच्चाको मानसिक विकास पूर्णरूपमा उसको सामाजिक, पारिवारिक र स्कूलसँग जोडिएका परिस्थितिहरूमा निर्भर गर्छ । यदि सानो उमेरमा कुनै पनि परिस्थितिका कारण बच्चालाई आफ्नो बारेमा नकारात्मक विचार आउन थाल्छ भने त्यस्ता बच्चाहरू हीन भावनाबाट ग्रस्त हुन थाल्छन् ।

यो हीन भावनाले बच्चाको आत्मविश्वास पूर्णरूपमा कमजोर बनाउँछ । उसको भविष्यमा विभिन्न प्रकारका मानसिक समस्याहरू जस्तै डिप्रेसन, चिन्ता, सामाजिक अलगाव र अध्ययनमा ध्यान केन्द्रित गर्न नसक्ने समस्या निम्त्याउँछ । बच्चालाई हीन भावनाबाट बाहिर निकाल्न निकै गाह्रो हुन्छ ।
यसका लागि उसको वरिपरिको वातावरण अत्यन्त सकारात्मक, विश्वासयोग्य र प्रोत्साहनपूर्ण हुनुपर्छ ताकि बच्चाले आफ्नो आत्मविश्वास गुमाउन नपाओस् ।

हीन भावना कहिलेकाहीं सानो उमेरमै सुरु भए पनि वयस्क हुँदासम्म रहिरहन सक्छ, त्यसैले अभिभावक, शिक्षक र समाजले यसलाई समयमै पहिचान गरी सम्बोधन गर्नु अत्यन्त जरुरी छ ।

बच्चामा हीन भावना उत्पन्न हुने मुख्य कारणहरू

१. प्रतिस्पर्धाको बोझ

बच्चाहरूबीच हरेक क्षेत्र पढाइ, खेलकुद, अतिरिक्त क्रियाकलापमा अत्यधिक प्रतिस्पर्धा हुने वातावरणले उनीहरूलाई सधैं ‘म अरूभन्दा राम्रो हुनुपर्छ’ भन्ने दबाब दिन्छ । नेपालजस्ता देशमा जहाँ टपर बन्ने संस्कृति छ, त्यहाँ बच्चाहरूले आफूलाई असफल ठान्न थाल्छन् । यो बोझले उनीहरूको प्राकृतिक रचनात्मकता र खुसी मार्छ र हीन भावना जन्माउँछ ।

२. गलत मूल्यांकन प्रक्रिया

धेरै अभिभावक र शिक्षकले बच्चाको प्रयासलाई होइन, मात्र परिणाम (नम्बर, पदक वा जित)लाई हेरेर मूल्यांकन गर्छन् । यदि बच्चाले मेहनत गरे पनि नतिजा राम्रो आएन भने ऊ आफूलाई ‘असफल’ ठान्छ । यसले प्रयासको महत्व बुझ्न नदिई हीन भावना बढाउँछ । सही मूल्यांकन भनेको प्रक्रिया र प्रयासलाई प्राथमिकता दिनु हो ।

३. दबाब महसुस हुनु

बाबु–आमाले निरन्तर ‘यो गर्नू, त्यो गर्नू, राम्रो नभए के हुन्छ ?’ भन्दै दबाब दिएमा बच्चाले आफूलाई कमजोर र अयोग्य ठान्न थाल्छ । यो दबाबले बच्चाको मनोबल गिराउँछ र ऊ कुनै पनि काममा डराउन थाल्छ ।

४. समानताको अभाव

बच्चालाई सधैं ‘तिमी अरू जस्तो छैनौं’, ‘तिमी कमजोर छौँ’ जस्ता भावना दिनुले उसको आत्मबल कमजोर हुन्छ । यस्तो अवस्थामा बच्चालाई अरूसँग तुलना गर्न बाध्य बनाउँछ र ऊ आफूलाई ‘अलग’ वा ‘कमजोर’ ठान्छ ।

५. नकारात्मक टिप्पणी र आलोचना

बाबु–आमा, शिक्षक वा आफन्तले बच्चाको बारम्बार ‘तिमी बुद्धू छौँ’, ‘केही गर्न सक्दैनौँ’ जस्ता टिप्पणी गरेमा बच्चाको मनमा नकारात्मक धारणा बस्छ । यो सबैभन्दा शक्तिशाली कारण हो किनकि बच्चाले यी शब्दहरूलाई आफ्नो ‘सत्य’ ठान्छन् ।

६.असुरक्षा

घरमा पारिवारिक झगडा, आर्थिक समस्या, तनाव वा भावनात्मक उपेक्षा भएमा बच्चाले ‘म सुरक्षित छैन’ भन्ने महसुस गर्छ । यो भावनात्मक असुरक्षाले आत्मविश्वासको जग नै कमजोर बनाउँछ ।

७. अवास्तविक अपेक्षाहरू

अभिभावकले बच्चाबाट जस्तै: हरेक परीक्षामा १०० प्रतिशत ल्याउनु, हरेक क्षेत्रमा उत्कृष्ट हुनु भन्ने जस्ता अपेक्षा राख्छन् भने बच्चाले असफलताको डरले हीन भावना विकास गर्छ । हरेक बच्चा फरक–फरक क्षमताको हुन्छ भन्ने कुरा बिर्सनु नै ठूलो गल्ती हो ।

८. कमजोरी

शारीरिक कमजोरी उचाइ कम हुनु, रोग वा अशक्तता, पढाइमा कठिनाइ जस्ता समस्या वा मानसिक विकासमा ढिलाइ भएमा बच्चाले आफूलाई अरूभन्दा तल्लोस्तरको ठान्छ । यदि यस्ता कमजोरीलाई सम्बोधन नगरी ‘तिमी नै कमजोर छौ’ भनियो भने हीन भावना गहिरिन्छ ।

बच्चालाई हीन भावनाबाट मुक्त गर्ने उपायहरू

बच्चालाई हीन भावनाबाट मुक्त गर्न अभिभावक, शिक्षक र समाजले मिलेर काम गर्नुपर्छ । यो एक दिनको काम होइन, निरन्तर प्रक्रिया हो ।

१. बच्चालाई पर्याप्त समय र ध्यान दिने

बच्चासँग दैनिक कम्तीमा २०–३० मिनेट गुणस्तरीय समय बिताउनुपर्छ उसको कुरा सुन्नुपर्छ र उसको भावना बुझ्नुपर्छ । ‘म तिमीलाई माया गर्छु जस्तोसुकै भए पनि’ भन्नुपर्छ ।

२. नियमित खुला कुराकानी गर्ने

बच्चासँग ‘आज कस्तो भयो ?’, ‘केले दुःख दियो ?’ जस्ता प्रश्न सोध्ने । उसलाई आफ्नो भावना व्यक्त गर्न प्रोत्साहन दिने । यसले उसलाई सुरक्षित महसुस गराउँछ ।

३. आफ्नो अनुभव सुनाउने

अभिभावकले आफ्नो बाल्यकालमा आफूले सामना गरेका असफलता र त्यसबाट कसरी बाहिर निस्किएँ भन्ने कथा सुनाउनुपर्छ । यसले बच्चालाई समस्याहरू आउँछन् र ती सधैं रहँदैनन् भन्ने कुरा सिक्न प्रेरणा दिन्छ ।

४. नतिजालाई होइन प्रयासलाई प्रशंसा गर्ने

‘तिमीले धेरै मेहनत गर्‍यौ, मलाई गर्व लाग्यो’ भन्नुपर्छ । असफलतामा पनि ‘यो बाट हामीले के सिक्यौं ?’ भन्दै सकारात्मक दृष्टिकोण दिनुपर्छ ।

५. बच्चाको बलियो पक्ष पहिचान गरी प्रोत्साहन गर्ने

हरेक बच्चामा केही न केही विशेषता हुन्छ । उसलाई चित्र बनाउन मन लाग्छ ? नाच्न मन लाग्छ ? खेल्न मन लाग्छ ? त्यसमा प्रोत्साहन दिनुपर्छ । उसलाई ‘तिमीमा यो क्षमता छ’ भनेर सम्झाउनुपर्छ । यसले उनीहरुको आत्मविश्वास बढ्छ ।

६. सकारात्मक वातावरण सिर्जना गर्ने

घरमा झगडा कम गर्ने । बच्चाको अगाडि सधैं सकारात्मक कुरा गर्ने गनुपर्छ । ‘तिमी गर्न सक्छौ’ भन्ने वाक्यांश बारम्बार प्रयोग गर्नुपर्छ ।

७. स्वतन्त्रता र जिम्मेवारी दिने

बच्चालाई सानो–सानो काम आफ्नो कोठा सफा गर्ने सानो निर्णय लिनेमा स्वतन्त्रता दिनुपर्छ । यसले उनीहरू सफल हुँदा आत्मविश्वास बढ्छ ।

८. नकारात्मक तुलना रोक्ने

स्कुलमा शिक्षकसँग समन्वय गर्नुपर्छ । सामाजिक सञ्जालको प्रयोग सीमित र निगरानीमा राख्नुपर्छ । परिवारसँग सकारात्मक कुराकानी गर्ने बानी बसाल्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?