+

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

२०८३ वैशाख  १० गते १३:०७ २०८३ वैशाख १० गते १३:०७

जब नसाहरू च्यापिन थाल्छन्, तब दुखाइ हाततिर पनि जान्छ । हातमा झमझम गर्ने, लाटो हुने, कमजोरी महसुस हुने वा कहिलेकाहीँ प्यारालाइसिस जस्तो अवस्था पनि आउन सक्छ ।

Shares
गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्दन दुख्ने समस्या विगत केही वर्षदेखि बढ्दै गएको छ र आधुनिक जीवनशैलीले गर्दा टाउको अगाडि झुकाउने बानीले यो समस्या बढाएको छ।
  • ६० डिग्री अगाडि झुकाउँदा गर्दनले २५ देखि ३० किलो तौल धान्नुपर्ने हुन्छ जसले मेरुदण्डमा दबाब र डिजेनेरेटिभ चेन्जेज निम्त्याउँछ।

आजकल ढाड दुख्ने बिरामीहरू जस्तै गर्दन दुख्ने बिरामीहरू पनि धेरै नै बढेका छन् । विगत केही वर्षदेखि यो समस्या झन् झन् बढ्दै गएको देखिन्छ।

हामी मानिसहरू अरू प्राणीहरूभन्दा एउटा मुख्य कुरामा फरक छौं । हामी बाइपेडल हौं, अर्थात् दुई खुट्टामा उभिने प्राणी । हाम्रो शरीर ठाडो रहन्छ, गर्दन ठाडो रहन्छ र टाउको पनि ठाडो नै रहन्छ । प्रकृतिले हामीलाई यस्तै ठाडो अवस्थामा बस्न र हिँड्नका लागि डिजाइन गरेको हो ।

एउटा वयस्क मानिसको टाउकोको तौल औसतमा करिब ५ किलो ग्राम हुन्छ । हाम्रो गर्दनलाई ठ्याक्कै ठाडो अवस्थामा कति पनि नझुकाई मात्र ५ किलो तौल धान्नका लागि बनाइएको हो । तर आधुनिक जीवनशैलीले गर्दा हामी बारम्बार अगाडि झुक्न थालेका छौं । मोबाइल हेर्ने, ल्यापटपमा काम गर्ने, रिल्स वा भिडियो हेर्ने बेला गर्दन १५, ३० वा ६० डिग्रीसम्म अगाडि झुक्छ ।

 

 

जब हामी १५ डिग्री मात्र झुक्छौं, तब गर्दनले धान्नुपर्ने तौल बढेर करिब १२ किलो पुग्छ । ३० डिग्री झुकाउँदा यो तौल १८ किलो नाघ्छ र सबैभन्दा खतरनाक कुरा त के हो भने, ६० डिग्री झुकाउँदा हाम्रो गर्दनले २५ देखि ३० किलो सम्मको तौल धान्नुपर्ने हुन्छ । यसरी ६० डिग्री झुकेरमोबाइल र ल्यापटप चलाउनु अहिले सामान्य भइसकेको छ ।

प्रकृतिले ५ किलोका लागि बनाएको गर्दनलाई हामी दिनहुँ २५–३० किलोको बोझ थोपर्ने गर्छौं ।

यो अवस्था लामो समयसम्म कायम रहँदा के हुन्छ ?

यो अवस्थामा लामो समयसम्म कायम रहँदा हाम्रो गर्दनको पछाडिपट्टिको मेरुदण्डमा निरन्तर दबाब पर्छ । मेरुदण्डका हड्डीहरूबीचका साना जोर्नीहरू खिइन थाल्छन्, जसलाई हामी आर्थराइटिस भन्छौं । लिगामेन्ट कमजोर हुँदै जान्छन् । पछाडिका मांसपेशीहरूमा अत्यधिक मेकानिकल स्ट्रेस बढ्छ, जसले गर्दा ती मांसपेशीहरू थकित हुन्छन् र दुख्ने हुन्छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा, हड्डीहरूबीच रहेका डिस्कहरू जसलाई सामान्य भाषामा कुर्कुरी हड्डी भनिन्छ त्यो खिइन थाल्छन् । यी डिस्कहरू हर्नियट हुन सक्छन्, जसलाई डिस्क हर्नियसन भनिन्छ । यसबाट नसाहरू च्यापिन थाल्छन् । कहिलेकाहीं मुख्य स्पाइनल कर्डमै दबाब पर्न थाल्छ, जसलाई माइलोप्याथी भनिन्छ । यी सबै परिवर्तनहरूलाई चिकित्सकीय भाषामा डिजेनेरेटिभ चेन्जेज भनिन्छ ।

यसका लक्षणहरू के–के हुन्छन् ?

सुरुमा मुख्य लक्षण भनेको पछाडिको गर्दन दुख्नु नै हो । यो दुखाइ कहिलेकाहीँ टाउकोतिर सर्छ, कहिलेकाहीँ दुई पाताको बीचमा वा कुममा पनि महसुस हुन्छ ।

जब नसाहरू च्यापिन थाल्छन्, तब दुखाइ हाततिर पनि जान्छ । हातमा झमझम गर्ने, लाटो हुने, कमजोरी महसुस हुने वा कहिलेकाहीँ प्यारालाइसिस जस्तो अवस्था पनि आउन सक्छ ।

अझ गम्भीर अवस्थामा स्पाइनल कर्डमा दबाब बढ्दा हातसँगै खुट्टाहरू पनि कमजोर हुन थाल्छन् । दिसा र पिसाब नियन्त्रणमा समस्या हुन सक्छ । यस्तो अवस्थालाई माइलोप्याथिक चेन्जेज भनिन्छ र यसलाई समयमै ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।

उपचार कसरी गर्ने ?

गर्दन दुख्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन । बेवास्ता गर्दा समस्या बढ्दै जान सक्छ र अन्य जटिलता निम्तन सक्छ । यो समस्याको सबैभन्दा राम्रो उपचार भनेको रोकथाम नै हो । सुरुमा आफ्नो दैनिक बस्ने र काम गर्ने पोस्चर पूर्ण रूपमा सुधार्नु पर्छ ।

यो समस्या आजकल टेक्स्ट नेक सिन्ड्रोम वा टेक नेक सिन्ड्रोम को नामले चिनिन्छ । यो नाम १५–२० वर्षअघि मोबाइल र कम्प्युटरको प्रयोग बढेसँगै सुरु भएको हो । किशोरकिशोरीहरूले घण्टौं टाउको झुकाएर टेक्स्ट वा रिल्स हेर्ने गरेका कारण यो नाम रहन गएको हो ।

यो समस्याबाट बच्न कुर्सीमा बस्दा ढाड सीधा राख्नुपर्छ । टाउको र गर्दन पनि ठाडो राख्नुपर्छ । कम्प्युटर वा ल्यापटपको स्क्रिन आँखाको स्तरमा राख्नुपर्छ र घोप्टो परेर लामो समय हेर्नु हुँदैन ।

दोस्रो महत्वपूर्ण उपचार फिजियोथेरापी हो । मांसपेशीहरूलाई बलियो बनाउने आइसोमेट्रिक नेक एक्सरसाइज, सोल्डर रोल र पोस्चर करेक्सनका व्यायामहरू गर्नुपर्छ । फिजियोथेरापीले धेरैजसो बिरामीलाई राम्रोसँग राहत दिन्छ ।

औषधिको कुरा गर्दा, दुखाइ कम गर्ने र मांसपेशी रिल्याक्स गर्ने औषधिहरू छोटो समयका लागि मात्र दिन सकिन्छ । लामो समयसम्म औषधिमा निर्भर रहनु राम्रो होइन ।

कहिले शल्यक्रिया आवश्यक पर्छ ?

कुल बिरामीमध्ये ९० देखि ९५ प्रतिशतलाई फिजियोथेरापी र सही पोस्चरले नै ठिक बनाउन सकिन्छ । केवल ५ देखि १० प्रतिशत बिरामीमा मात्र शल्यक्रियाको आवश्यकता पर्न सक्छ ।

जब दुखाइ अत्यधिक बढ्छ र सहनै नसक्ने हुन्छ,  हात वा खुट्टामा प्यारालाइसिस सुरु हुन्छ र दिसा वा पिसाब नियन्त्रण गुम्छ यस्तो अवस्थामा मात्रै अप्रेसन सिफारिस गरिन्छ ।  साथै एमआरआई रिपोर्ट र बिरामीको लक्षण दुवैले स्पष्ट रूपमा नसा वा स्पाइनल कर्डमा ठूलो चाप देखाउँछन् तब अप्रेसन आवश्यक पर्छ ।

एमआरआईको रिपोर्ट र क्लिनिकल लक्षण दुवै मिले मात्र अप्रेसनको सल्लाह दिइन्छ । यदि अप्रेसन गरेर पनि फाइदा नहुने देखिएमा अप्रेसन सिफारिस गरिँदैन ।

धेरै बिरामीहरू ‘अप्रेसन गरिदिनुस्’ भनेर आउनुहुन्छ तर उहाँहरूलाई बुझाइन्छ ९० प्रतिशतभन्दा बढी केसमा अप्रेसन आवश्यक नै पर्दैन । सही व्यायाम, पोस्चर सुधार र फिजियोथेरापीले नै ठिक हुन्छ ।

नशा च्यापिएको समस्या ‘बिना अप्रेसन सबै ठिक पारिन्छ’ भन्ने १०० प्रतिशत ग्यारेन्टीका विज्ञापनहरूबाट सावधान रहनुपर्छ । ‘एभिडेन्स बेस्ड’ मेडिसिन फलो गर्नुपर्छ जसमा विश्वभरका वैज्ञानिक अध्ययन र क्लिनिकल ट्रायलहरूको आधारमा मात्र उपचार गरिन्छ ।

गर्दन दुखाइ छ भने आजैबाट सही पोस्चर अपनाउनुपर्छ, नियमित व्यायाम गर्नुपर्छ र आवश्यक परे चिकित्सकसँग सल्लाह लिनुपर्छ । समयमै ध्यान दिएमा यो समस्या सजिलै नियन्त्रणमा रहन्छ ।

गर्दन टाउको नसा
डा. रुपेश राउत
लेखक
डा. रुपेश राउत
न्युरोसर्जन परामर्शदाता

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १६६६७ एमडी, एमएस हाल ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा न्युरोसर्जनको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

पटक–पटक जाँघ चिलाउँछ, किन ?

पटक–पटक जाँघ चिलाउँछ, किन ?