News Summary
Generated by OK AI. Editorially reviewed.- गर्दन दुख्ने समस्या विगत केही वर्षदेखि बढ्दै गएको छ र आधुनिक जीवनशैलीले गर्दा टाउको अगाडि झुकाउने बानीले यो समस्या बढाएको छ।
- ६० डिग्री अगाडि झुकाउँदा गर्दनले २५ देखि ३० किलो तौल धान्नुपर्ने हुन्छ जसले मेरुदण्डमा दबाब र डिजेनेरेटिभ चेन्जेज निम्त्याउँछ।
आजकल ढाड दुख्ने बिरामीहरू जस्तै गर्दन दुख्ने बिरामीहरू पनि धेरै नै बढेका छन् । विगत केही वर्षदेखि यो समस्या झन् झन् बढ्दै गएको देखिन्छ।
हामी मानिसहरू अरू प्राणीहरूभन्दा एउटा मुख्य कुरामा फरक छौं । हामी बाइपेडल हौं, अर्थात् दुई खुट्टामा उभिने प्राणी । हाम्रो शरीर ठाडो रहन्छ, गर्दन ठाडो रहन्छ र टाउको पनि ठाडो नै रहन्छ । प्रकृतिले हामीलाई यस्तै ठाडो अवस्थामा बस्न र हिँड्नका लागि डिजाइन गरेको हो ।
एउटा वयस्क मानिसको टाउकोको तौल औसतमा करिब ५ किलो ग्राम हुन्छ । हाम्रो गर्दनलाई ठ्याक्कै ठाडो अवस्थामा कति पनि नझुकाई मात्र ५ किलो तौल धान्नका लागि बनाइएको हो । तर आधुनिक जीवनशैलीले गर्दा हामी बारम्बार अगाडि झुक्न थालेका छौं । मोबाइल हेर्ने, ल्यापटपमा काम गर्ने, रिल्स वा भिडियो हेर्ने बेला गर्दन १५, ३० वा ६० डिग्रीसम्म अगाडि झुक्छ ।

जब हामी १५ डिग्री मात्र झुक्छौं, तब गर्दनले धान्नुपर्ने तौल बढेर करिब १२ किलो पुग्छ । ३० डिग्री झुकाउँदा यो तौल १८ किलो नाघ्छ र सबैभन्दा खतरनाक कुरा त के हो भने, ६० डिग्री झुकाउँदा हाम्रो गर्दनले २५ देखि ३० किलो सम्मको तौल धान्नुपर्ने हुन्छ । यसरी ६० डिग्री झुकेरमोबाइल र ल्यापटप चलाउनु अहिले सामान्य भइसकेको छ ।
प्रकृतिले ५ किलोका लागि बनाएको गर्दनलाई हामी दिनहुँ २५–३० किलोको बोझ थोपर्ने गर्छौं ।
यो अवस्था लामो समयसम्म कायम रहँदा के हुन्छ ?
यो अवस्थामा लामो समयसम्म कायम रहँदा हाम्रो गर्दनको पछाडिपट्टिको मेरुदण्डमा निरन्तर दबाब पर्छ । मेरुदण्डका हड्डीहरूबीचका साना जोर्नीहरू खिइन थाल्छन्, जसलाई हामी आर्थराइटिस भन्छौं । लिगामेन्ट कमजोर हुँदै जान्छन् । पछाडिका मांसपेशीहरूमा अत्यधिक मेकानिकल स्ट्रेस बढ्छ, जसले गर्दा ती मांसपेशीहरू थकित हुन्छन् र दुख्ने हुन्छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा, हड्डीहरूबीच रहेका डिस्कहरू जसलाई सामान्य भाषामा कुर्कुरी हड्डी भनिन्छ त्यो खिइन थाल्छन् । यी डिस्कहरू हर्नियट हुन सक्छन्, जसलाई डिस्क हर्नियसन भनिन्छ । यसबाट नसाहरू च्यापिन थाल्छन् । कहिलेकाहीं मुख्य स्पाइनल कर्डमै दबाब पर्न थाल्छ, जसलाई माइलोप्याथी भनिन्छ । यी सबै परिवर्तनहरूलाई चिकित्सकीय भाषामा डिजेनेरेटिभ चेन्जेज भनिन्छ ।
यसका लक्षणहरू के–के हुन्छन् ?
सुरुमा मुख्य लक्षण भनेको पछाडिको गर्दन दुख्नु नै हो । यो दुखाइ कहिलेकाहीँ टाउकोतिर सर्छ, कहिलेकाहीँ दुई पाताको बीचमा वा कुममा पनि महसुस हुन्छ ।
जब नसाहरू च्यापिन थाल्छन्, तब दुखाइ हाततिर पनि जान्छ । हातमा झमझम गर्ने, लाटो हुने, कमजोरी महसुस हुने वा कहिलेकाहीँ प्यारालाइसिस जस्तो अवस्था पनि आउन सक्छ ।
अझ गम्भीर अवस्थामा स्पाइनल कर्डमा दबाब बढ्दा हातसँगै खुट्टाहरू पनि कमजोर हुन थाल्छन् । दिसा र पिसाब नियन्त्रणमा समस्या हुन सक्छ । यस्तो अवस्थालाई माइलोप्याथिक चेन्जेज भनिन्छ र यसलाई समयमै ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।
उपचार कसरी गर्ने ?
गर्दन दुख्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन । बेवास्ता गर्दा समस्या बढ्दै जान सक्छ र अन्य जटिलता निम्तन सक्छ । यो समस्याको सबैभन्दा राम्रो उपचार भनेको रोकथाम नै हो । सुरुमा आफ्नो दैनिक बस्ने र काम गर्ने पोस्चर पूर्ण रूपमा सुधार्नु पर्छ ।
यो समस्या आजकल टेक्स्ट नेक सिन्ड्रोम वा टेक नेक सिन्ड्रोम को नामले चिनिन्छ । यो नाम १५–२० वर्षअघि मोबाइल र कम्प्युटरको प्रयोग बढेसँगै सुरु भएको हो । किशोरकिशोरीहरूले घण्टौं टाउको झुकाएर टेक्स्ट वा रिल्स हेर्ने गरेका कारण यो नाम रहन गएको हो ।
यो समस्याबाट बच्न कुर्सीमा बस्दा ढाड सीधा राख्नुपर्छ । टाउको र गर्दन पनि ठाडो राख्नुपर्छ । कम्प्युटर वा ल्यापटपको स्क्रिन आँखाको स्तरमा राख्नुपर्छ र घोप्टो परेर लामो समय हेर्नु हुँदैन ।
दोस्रो महत्वपूर्ण उपचार फिजियोथेरापी हो । मांसपेशीहरूलाई बलियो बनाउने आइसोमेट्रिक नेक एक्सरसाइज, सोल्डर रोल र पोस्चर करेक्सनका व्यायामहरू गर्नुपर्छ । फिजियोथेरापीले धेरैजसो बिरामीलाई राम्रोसँग राहत दिन्छ ।
औषधिको कुरा गर्दा, दुखाइ कम गर्ने र मांसपेशी रिल्याक्स गर्ने औषधिहरू छोटो समयका लागि मात्र दिन सकिन्छ । लामो समयसम्म औषधिमा निर्भर रहनु राम्रो होइन ।
कहिले शल्यक्रिया आवश्यक पर्छ ?
कुल बिरामीमध्ये ९० देखि ९५ प्रतिशतलाई फिजियोथेरापी र सही पोस्चरले नै ठिक बनाउन सकिन्छ । केवल ५ देखि १० प्रतिशत बिरामीमा मात्र शल्यक्रियाको आवश्यकता पर्न सक्छ ।
जब दुखाइ अत्यधिक बढ्छ र सहनै नसक्ने हुन्छ, हात वा खुट्टामा प्यारालाइसिस सुरु हुन्छ र दिसा वा पिसाब नियन्त्रण गुम्छ यस्तो अवस्थामा मात्रै अप्रेसन सिफारिस गरिन्छ । साथै एमआरआई रिपोर्ट र बिरामीको लक्षण दुवैले स्पष्ट रूपमा नसा वा स्पाइनल कर्डमा ठूलो चाप देखाउँछन् तब अप्रेसन आवश्यक पर्छ ।
एमआरआईको रिपोर्ट र क्लिनिकल लक्षण दुवै मिले मात्र अप्रेसनको सल्लाह दिइन्छ । यदि अप्रेसन गरेर पनि फाइदा नहुने देखिएमा अप्रेसन सिफारिस गरिँदैन ।
धेरै बिरामीहरू ‘अप्रेसन गरिदिनुस्’ भनेर आउनुहुन्छ तर उहाँहरूलाई बुझाइन्छ ९० प्रतिशतभन्दा बढी केसमा अप्रेसन आवश्यक नै पर्दैन । सही व्यायाम, पोस्चर सुधार र फिजियोथेरापीले नै ठिक हुन्छ ।
नशा च्यापिएको समस्या ‘बिना अप्रेसन सबै ठिक पारिन्छ’ भन्ने १०० प्रतिशत ग्यारेन्टीका विज्ञापनहरूबाट सावधान रहनुपर्छ । ‘एभिडेन्स बेस्ड’ मेडिसिन फलो गर्नुपर्छ जसमा विश्वभरका वैज्ञानिक अध्ययन र क्लिनिकल ट्रायलहरूको आधारमा मात्र उपचार गरिन्छ ।
गर्दन दुखाइ छ भने आजैबाट सही पोस्चर अपनाउनुपर्छ, नियमित व्यायाम गर्नुपर्छ र आवश्यक परे चिकित्सकसँग सल्लाह लिनुपर्छ । समयमै ध्यान दिएमा यो समस्या सजिलै नियन्त्रणमा रहन्छ ।
प्रतिक्रिया 4