+
+
Shares

‘बाली जोगाउन बाँदर समात्ने, मार्ने जुक्ति दीर्घकालीन र मानवीय छैन’

अहिलेको अवस्थामा एक्लाएक्लै खेती गरेर बाली जोगाउनु कठिन भएकाले सामूहिक रूपमा बाली कुर्ने र पालोपालो खेतबारी हेरचाह गर्ने अभ्यास प्रभावकारी देखिन्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ वैशाख १० गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको मध्यपहाडी भेगका किसानहरू बाँदरको आतंकबाट मकै, धान र फलफूलमा व्यापक क्षति भई खेती छोड्नुपर्ने अवस्थामा पुगेका छन् ।
  • सरकारले रातो बाँदरलाई कृषि हानिकारक जनावर घोषणा गरी खेतबारीमा पसेमा लखेट्न पाइने व्यवस्था गरेको छ, तर समातेर मार्न नपाइने नियम छ।
  • बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधानमा बाँदरको संख्या र प्रजनन अवस्थाको तथ्यांक संकलन र वैज्ञानिक बन्ध्याकरण आवश्यक रहेको छ।

बाँदर र मान्छेबीचको द्वन्द्व अरु चर्किएको छ । एकातिर खेतीबालीमा बाँदर पस्ने क्रम बढेको छ भने, बाँदरलाई खोरमा थुन्ने र मार्ने क्रम उसैगरी बढेको छ । यहाँ कसलाई मार परेको छ ? को अन्यायमा छ ? त्यसको ठ्याक्कै जवाफ छैन ।

दुवै आ–आफ्नो ठाउँमा समस्याग्रस्त छन् । आफूले दुखजिलो गरेर लगाएको बाली बाँदर पसेर खाइदिएपछि किसानहरू रुष्ट छन् । भने उता, बाँदरहरू खाना खोज्दै मान्छेको बस्तीतिर पस्न थालेका छन् । जंगलमा खाना नपाएर बस्ती पसेका बाँदरको बाध्यतालाई बुझ्ने धैर्यता यतिबेला किसानसँग छैन ।

नेपालका थुप्रै क्षेत्रमा अहिले धमाधम बाँदर समात्ने र खोरमा थुन्ने गरेको देखिन्छ । तर, के यसरी किसानले आफ्नो बालीनाली जोगाउने तरिका ठीक छ ? प्रश्न यसतर्फ मात्र छैन । कुनै प्राणीमाथि गरिने यस्तो व्यवहार कति न्ययापूर्ण र मानवीय छ ? प्रश्नको फेरो यतातिर पनि छ ।

त्यसो भए अब के गर्ने त ? बाँदर व्यवस्थापनको कुनै यस्तो वैज्ञानिक र मानवीय तरिका छ ? जसले किसानको बालीनाली जोगाउन सकियोस् । यही विषयमा हामीले त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक रहेका वन्यजन्तुविज्ञ डा. लक्ष्मण खनालसँग कुराकानी गरेका छौँ ।

बाँदरले किसानहरूको खेतीबालीमा ठूलो क्षति पुर्‍यायो भन्ने गुनासोहरू आइरहन्छन् । नेपालका कुन–कुन क्षेत्र बढी प्रभावित छन्  ? 

रातो बाँदरले बालीनालीमा ठूलो क्षति गर्‍यो भनेर नै ‘बाँदरको आतंक’ भन्ने शब्द प्रयोग भइरहेको छ । यो समस्या मुख्य रूपमा नेपालको मध्यपहाडी भेगका जिल्लाहरूमा अत्यधिक छ । पूर्वमा इलाम, पाँचथर, भोजपुरदेखि पश्चिममा बैतडीसम्मका मध्यपहाडी जिल्लाहरू सबैभन्दा बढी प्रभावित छन् ।

त्यसबाहेक तराईका केही जिल्लाहरू जस्तै बाँके, बर्दिया, कैलालीका किसानहरूले पनि बाँदरको समस्या भएको बताइरहेका छन् । शहरी क्षेत्रहरूमा जस्तै हेटौंडा, काठमाडौंमा भने बालीनालीभन्दा घरका फलफूल चोर्ने, तोडफोड गर्ने र घरभित्रका खानेकुरा खाइदिने समस्या बढी देखिन्छ । तर बालीनाली नोक्सानीको हिसाबले मध्यपहाडी भेग नै सबैभन्दा बढी प्रभावित छ ।

बाँदरले कुन–कुन बालीमा बढी क्षति पुर्‍याउँछ ? कुन बाली सबैभन्दा बढी जोखिममा छ ?

विशेष गरी रातो बाँदरले प्रायः सबै प्रकारका बालीमा क्षति गर्छ, तर क्षतिको मात्रा र तरिका बालीअनुसार फरक पर्छ । बाँदरले बाली खाएर, च्यातेर, उखेलेर वा कोतरेर नष्ट गर्छ । रोप्ने बेलादेखि उम्रिने, फुल्ने, फल्ने र थन्क्याउने बेलासम्म सबै चरणमा समस्या हुन्छ ।

मकै सबैभन्दा बढी प्रभावित र जोखिमपूर्ण बाली हो । बाँदरले मकैलाई अत्यधिक मन पराउँछ । बीउ टिपेर खान्छ, उम्रेको बिरुवा २–३ पाते हुँदा उखेलेर खान्छ, घोगा लाग्न थालेपछि घोगा च्यात्छ र दाना लागेपछि झन् बढी नष्ट गर्छ ।

मकैपछि धान, गहुँ, आलु, फलफूलहरू पनि उत्तिकै प्रभावित छन् । बाँदरले कम क्षति गर्ने बालीहरू भने तितो वा पिरो स्वादका हुन्छन् जस्तैः खुर्सानी, अदुवा, बेसार, लसुन, प्याज, तोरी, करेला आदि । यिनीहरूलाई बाँदरले कम रुचाउँछ वा च्यातेर मात्र क्षति गर्छ ।

यो समस्या पहिले पनि थियो, तर अहिले किन यति धेरै बढेको छ ?

समस्या पहिले पनि थियो, तर नोक्सानीको दर अहिले निकै बढेको छ । मुख्य कारणमा वन क्षेत्र बढेको छ तर विविधता घटेको छ । नेपालमा वन क्षेत्र झन्डै ४७.५ प्रतिशत छ । तर वनभित्रका स्थानीय प्रजातिका रूखहरू मासिएर केही प्रजातिका रूख मात्र बढेका छन् । जसले बाँदरलाई खानेकुरा उपलब्ध गराउँथे, ती घटेका छन् । वन बढ्यो तर बाँदरको खानेकुरा घट्यो । त्यसैले बाँदरहरू खाना खोज्दै किसानको खेतीबालीमा पस्न थालेका छन् ।

विगत दुई–तीन दशकमा गाउँबाट शहर, पहाडबाट तराईतिर बसाइँसराइ बढेको छ । खेतीयोग्य जमिन बाँझो भयो र सेकेन्डरी फरेस्टमा परिणत भयो । बाँकी रहेका किसानहरूले पनि सबै जमिनमा खेती गर्दैनन् । त्यसैले खेती गरेको सानो जमिनमा बाँदरहरूले धेरै क्षति गर्छन् ।

खेती प्रणाली पुरानो छ । अझै पनि गाउँघरमा साना–साना बारी, गोरुले जोतेर मकै रोप्ने पुरानो प्रणाली छ । एउटा किसानको बारी आज रोपिन्छ, अर्कोको भोलि । फुल्ने÷फल्ने समय फरक–फरक हुँदा बाँदरलाई लामो समयसम्म खानेकुरा उपलब्ध हुन्छ, किसानलाई भने दु:ख ।

बाँदर जंगलमा बस्नुपर्ने होइन र ? गाउँघरमा किन छिरिरहेका छन् ?

किसानको बालीको क्षती बढ्नुमा बाँदरको फोरेजिङ रणनीति पनि समावेस हुन्छ । जंगलमा कम खानेकुरा पाउन धेरै मेहनत गनुपर्छ । धेरै मेहनतबाट पाएको खानाबाट धेरै ऊर्जा मिल्दैन । खेतबारीमा थोरै जोखिम लिएर किसानले लगाएको बाली खाएमा बढी ऊर्जा मिल्छ । त्यसैले बाँदरले जोखिम मोल्न थालेको हो ।

किसानहरू बाँदर नियन्त्रण गर्न बाँदरलाई मार्ने, पासो थाप्ने, खोरमा थुन्ने गरिरहेका छन्, हो समाधान हो ?

बाँदर नियन्त्रणका लागि मार्नु, पासोमा पार्नु दीर्घकालीन समाधान होइन । सरकारले आर्थिक वर्ष ०८१/८२ र ०८२/८३ मा रातो बाँदरलाई कृषि हानिकारक जनावर घोषणा गरेको छ । खेतबारीमा पसेमा लखेट्न पाइन्छ, लखेट्दा मरेमा मुचुल्का बनाएर कानुनी कारबाही नहुने व्यवस्था छ । तर समातेर मार्न पाइँदैन । किसानहरू समस्यामा छन्, ‘हामी बाँच्ने कि बाँदर बाँच्ने’ भन्ने आवाज पनि आएको छ । तर मार्ने अभ्यासले समस्या समाधान हुँदैन ।

बाँदर मार्नु किन समाधान होइन, यसले के प्रभाव पर्छ ?

बाँदर सामाजिक प्राणी हो, समूहमा बस्छ । बाँदरको समूहमा एउटा बलियो लिडर उच्च र्‍याङ्कको बाँदर हुन्छ, जसले समूहलाई एकीकृत राख्छ । यदि त्यो लिडर मारियो भने समूहमा विग्रह आउँछ र समूह फुट्छ । फुटेका साना–साना समूहहरू नयाँ ठाउँ खोज्दै हिँड्छन् । जसले गर्दा पहिले बाँदर नभएका गाउँ, खेतबारी वा क्षेत्रमा पनि बाँदरको झुण्ड पुग्छ र समस्या फैलिन्छ ।

समूह फुटेपछि प्रतिस्पर्धा घट्छ, खानेकुरा सजिलै पाइन्छ र बाँदरहरू बढी प्रजनन गर्छन् । एउटा ठूलो समूह जस्तै ५० वटा मारेर घटाए पनि १–२ वर्षमा फेरि ४०–५० वटाको समूह बन्न सक्छ । यो व्यावहारिक र दिगो हुँदैन ।

बाँदर इकोसिस्टमको अभिन्न अंग हो । उनीहरूले बीउ वितरण गर्छन् जसले जंगलको पुनर्जन्ममा मद्दत गर्छ । बाँदर घटेमा जंगलको वृद्धि प्रभावित हुन्छ ।

समूह फुट्दा वा लिडर मर्दा बाँदरहरू बढी आक्रामक बन्छन् । बालबच्चा, महिला वा एक्लो हिँडेका मानिसहरूमाथि आक्रमण गर्ने जोखिम बढ्छ । यसबाट चोटपटक र रोग सर्ने सम्भावना पनि बढ्छ ।

बाँदर इकोसिस्टमको अभिन्न अंग हो । उनीहरूले बीउ वितरण गर्छन् जसले जंगलको पुनर्जन्ममा मद्दत गर्छ । बाँदर घटेमा जंगलको वृद्धि प्रभावित हुन्छ । साथै बाँदरले किरा, फट्याङ्ग्रा, मुसा र चराको अण्डासम्म खाएर तिनीहरूको संख्या नियन्त्रण गर्छ । बाँदर घट्दा यी कीटहरू बढ्न सक्छन् ।

बाँदर चितुवा जस्ता मांसाहारी जनावरको आहार हो । बाँदरको संख्या अत्यधिक घटेमा चितुवाले शिकार नपाएर मानिसमाथि आक्रमण बढाउन सक्छ।

भारतको हिमाचल प्रदेश र उत्तराखण्डमा बाँदर नियन्त्रण गर्ने प्रयास गरिए पनि समस्या पूर्ण समाधान भएको छैन । केही ठाउँमा ‘स्टेरिलाइजेसन’ बन्ध्याकरणको प्रयास गरिएको छ तर पूर्ण सफलता मिलेको छैन । अस्ट्रेलियाले कंगारु नियन्त्रण गर्दा वैज्ञानिक तरिकाले उमेर र लिङ्ग अनुसार मात्र गर्छ, तर नेपालमा जस्तो अनियन्त्रित मार्ने अभ्यासले दीर्घकालीन फाइदा दिँदैन ।

सरकारले बाँदरलाई कृषि हानिकारक जनावर घोषणा गरेको छ, जसले खेतमा पसेमा लखेट्न पाइन्छ मरेमा मुचुल्का बनाएर । तर समातेर वा पासो थापेर मार्न पाइँदैन । अनियन्त्रित मार्नेले कानुनी समस्या र वन्यजन्तु संरक्षण कानुन उल्लङ्घन गर्न सक्छ ।

तत्कालीन र दीर्घकालीन समाधान के हुन सक्छन् ? किसानले के गर्न सक्छन् ? राज्यले के गर्नुपर्छ ?

नेपालका विशेषगरी मध्यपहाडी क्षेत्रमा बाँदरले बालीनालीमा पुर्‍याइरहेको क्षति किसानका लागि ठूलो चुनौती बनेको छ । यस समस्याको समाधान एकै उपायबाट सम्भव छैन, बरु तत्कालीन र दीर्घकालीन रणनीतिहरूको संयोजन आवश्यक देखिन्छ ।

तत्कालीन समाधानका रूपमा किसानले अपनाउन सक्ने उपायहरू मुख्यतः व्यवहारिक र समुदायमा आधारित छन् । अहिलेको अवस्थामा एक्लाएक्लै खेती गरेर बाली जोगाउनु कठिन भएकाले सामूहिक रूपमा बाली कुर्ने र पालोपालो खेतबारी हेरचाह गर्ने अभ्यास प्रभावकारी देखिन्छ । साथै, छरिएर गरिएको खेतीले बाँदरलाई सजिलो हुने भएकाले सकेसम्म एकै क्षेत्रमा मिलेर खेती गर्ने प्रवृत्ति बढाउनुपर्छ ।

मकै जस्ता बढी क्षति हुने बालीमा भने परम्परागत रूपमा पाक्न दिई भित्र्याउने सट्टा, दुधे अवस्थामा नै काटेर साइलेज बनाउने प्रविधि अपनाउन सकिन्छ, जसले पशु आहार पनि सुनिश्चित गर्छ र बाँदरबाट हुने क्षति पनि कम गर्छ । त्यसैगरी, एउटै बालीमा निर्भर नहुने र विविध बाली लगाउने, साथै अदुवा, लसुन, खुर्सानी, कागती जस्ता बाँदरले कम क्षति गर्ने बालीतर्फ क्रमशः आकर्षित हुने प्रयास पनि तत्कालका लागि उपयोगी उपाय हुन् ।

दीर्घकालीन रूपमा भने यो समस्याको समाधान अझ व्यवस्थित र वैज्ञानिक दृष्टिकोणबाट खोज्नुपर्ने हुन्छ । सबैभन्दा पहिले बाँदरको वास्तविक संख्या, बसोबास र प्रजनन अवस्थाबारे स्पष्ट तथ्यांक संकलन आवश्यक छ, किनकि त्यसबिना कुनै पनि नीति प्रभावकारी हुन सक्दैन । त्यसपछि बाँदरको संख्या नियन्त्रणका लागि बन्ध्याकरण जस्ता वैज्ञानिक उपायहरू लागू गर्न सकिन्छ, जसले क्रमशः जनसंख्या वृद्धि दर घटाउन मद्दत गर्छ ।

वन व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । वन क्षेत्र बढेको भए पनि त्यसभित्र बाँदरका लागि आवश्यक आहार दिने स्थानीय प्रजातिका बिरुवाहरू घट्दै गएकाले ती प्रजातिहरूको संरक्षण र विस्तार आवश्यक छ । साथै, परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई आधुनिकीकरण गर्दै व्यवसायिक र यान्त्रिक खेतीतर्फ रूपान्तरण गर्नु दीर्घकालीन समाधानको महत्वपूर्ण आधार हो ।

किसान स्वयंले पनि आफ्नो भूमिकालाई सक्रिय बनाउनु आवश्यक छ । उनीहरूले सामूहिक रूपमा खेती गर्ने, बाँझो जमिनलाई पुनः उपयोगमा ल्याउने, बजारमुखी र कम जोखिम भएका बाली रोज्ने तथा नयाँ प्रविधि सिकेर प्रयोग गर्ने दिशामा अघि बढ्नुपर्छ । परम्परागत अभ्यासमा मात्र सीमित नबसी परिवर्तनलाई आत्मसात् गर्ने हो भने क्षति कम गर्न सकिन्छ ।

यससँगै राज्यको भूमिका सबैभन्दा महत्वपूर्ण देखिन्छ । राज्यले वन, कृषि र वन्यजन्तु व्यवस्थापनलाई समेटेर एकीकृत नीति निर्माण गर्नुपर्छ । किसानलाई आवश्यक तालिम, प्रविधि र जानकारी उपलब्ध गराउनुपर्छ ।

क्षतिपूर्ति तथा बाली बीमा प्रणालीलाई सरल र सहज बनाउने, र वैज्ञानिक आधारमा वन्यजन्तु व्यवस्थापनका उपायहरू लागू गर्ने काम राज्यले गर्नैपर्छ । साथै, वन संरक्षणबाट प्राप्त हुने आम्दानी– जस्तै कार्बन क्रेडिटलाई प्रभावित किसानसम्म न्यायोचित रूपमा पुर्‍याउने व्यवस्था गर्न सकेमा किसानमा खेतीप्रति पुनः उत्साह जाग्न सक्छ ।

समग्रमा हेर्दा बाँदरको समस्या केवल नियन्त्रण गरेर मात्र समाधान हुने विषय होइन । यो कृषि प्रणाली, वन व्यवस्थापन र सामाजिक परिवर्तनसँग जोडिएको जटिल समस्या भएकाले किसान, राज्य र वैज्ञानिक निकायबीचको समन्वयमा आधारित दीर्घकालीन रणनीति नै यसको प्रभावकारी समाधान हुन सक्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?