+
+
Shares

कांग्रेसमा दलको नेता छान्ने सकस : गगनको रोजाइमा मोहन, विश्वप्रकाशको जोड भीष्म

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच आ-आफ्ना उम्मेदवारलाई लिएर कुरा नमिलेपछि नेता चयन प्रक्रिया लम्बिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि झन्डै दुई महिना बित्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन।
  • सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच सहमति नहुँदा दलको नेता चयन प्रक्रिया ढिलाइ भएको छ।
  • २४ चैतमा दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको भए पनि सहमति नहुँदा निर्वाचन कार्यतालिका स्थगित भएको छ।

१० वैशाख, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्नै लाग्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले दलको नेता चयन गर्न नसक्दा संवैधानिक परिषदले पूर्णता पाउन नसक्दा कामकाज प्रभावित छ ।

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच सहमति जुट्न नसक्दा कांग्रेस संसदीय दलको नेता चयनमा ढिलाइ भएको हो ।

कांग्रेसका एक शीर्ष नेताले सभापति थापा र उपसभापति शर्माको चाहना बाझिँदा दलको नेता चयनमा ढिलाइ भएको अनलाइनखबरलाई जानकारी दिएका छन् ।

सभापति थापाले प्रत्यक्षतर्फका सांसद मोहन आचार्य र उपसभापति शर्माले समानुपातिकतर्फका सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउन चाहिरहेका छन् । आचार्य रसुवाबाट प्रत्यक्ष र आङ्देम्बे पाँचथरबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । आङ्देम्बे १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका थिए ।

समानुपातिकतर्फ निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपरेकोले कांग्रेसमा दलको नेता चयनका लागि ढिलाइ हुन पुगेको नेताहरू दाबी गर्छन् । उनले २२ फागुनमा सभामुखको निर्वाचन सम्पन्न गरेर मात्रै प्रतिनिधिसभाको सभाध्यक्षबाट फुर्सद पाएका थिए ।

सांसद केसीले पनि आकाङ्क्षा राखेका कारण सभामुखको टुङ्गो लागेपछि मात्रै संसदीय दलको नेता चयनबारे प्रक्रिया अघि बढाउने तयारी थियो । प्रक्रिया अघि बढाएर २४ चैतमा दलको नेता चयन गर्नका लागि कांग्रेसले सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको थियो ।

तर, न त रसाइलीको संयोजकत्वमा समिति गठन गरिएको सूचना आधिकारिक रूपमा सार्वजनिक गर्‍यो, न त कांग्रेसले २४ चैतमा दलको नेता चयनका लागि समितिमार्फत प्रक्रिया नै अघि बढायो ।

सभापति थापा र उपसभापति शर्माबीच कुरा नमिलेका कारण समितिले प्रक्रिया अगाडि नबढाएको र २४ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको कांग्रेस स्रोतको भनाइ छ ।

नेतृत्वबीच सहमतिको प्रयासस्वरूप सरसल्लाह चलिरहेकै समयमा निर्वाचन समिति संयोजक रसाइलीले २ वैशाखमा निर्वाचन तालिका सार्वजनिक हुने र ४ वैशाखमा निर्वाचन गरिने बताएका थिए ।

तर, उनले २ वैशाखमा निर्वाचन कार्यतालिका ल्याएनन् । कार्यतालिकाबारे अनलाइनखबरको जिज्ञासामा रसाइलीले भनेका थिए, ‘अब एकैचोटि वैशाख ४ गते दलको नेता चयन हुन्छ ।’

निर्वाचन समिति संयोजक रसाइलीले निर्वाचन प्रक्रिया रोकेर सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर छलफल गरेका थिए । पछि उनले ७ वैशाखमा दलको नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरे । कार्यतालिकाअनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ११ वैशाखमा निर्वाचन हुनेछ ।

कांग्रेसका नेताहरू सभापति थापाले सहमतिमा अघि बढ्न खोजेपछि दलको नेता चयनमा ढिलाइ भएको बताउँदै आएका छन् । ‘सर्वसम्मत गराउनेलगायतका विभिन्न प्रयासले ढिलो भएको हो,’ एक पदाधिकारीले भने ।

ती पदाधिकारीले सभापति थापाले रसुवाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद आचार्यलाई दलको नेता बनाउन चाहेको पनि बताए । उनले भने, ‘मोहन आचार्य सभापतिको इन्ट्रेस्टभित्रको क्यान्डिडेट चाहिँ हो ।’

ती नेताले सभापति थापाले व्यक्ति जोसुकै भए पनि सर्वसम्मत दलको नेता बनाउन खोजेकोसमेत दाबी गरे । ‘सभापतिजीको मान्छे को बन्छ भन्दा पनि अर्जुन दाइबाहेक अर्को को सर्वसम्मत हुन्छ, उसलाई बनाउन पाए हुन्थ्यो भन्ने कुरा हो,’ ती नेताले भने, ‘भीष्म (भीष्मराज आङ्देम्बे) दाइ भए पनि उहाँलाई आपत्ति हुन्न ।’

कांग्रेसमा समानुपातिकतर्फका सांसद आङ्देम्बे पनि संसदीय दलको नेताका आकाङ्क्षी हुन् । उनी १४औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

कांग्रेसका नेताहरूले सहमतिको प्रयासका लागि चैत अन्तिम साता सांसद केसीलाई भेटेर छलफल गरेका थिए । छलफलका क्रममा नेताहरूले उनलाई नेतृत्वले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा पनि कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगन थापाले दलको नेतामा चुनौती दिएका थिए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा पनि पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूलाई टिकट वितरण गर्दा देउवा र थापा दुवैको हस्ताक्षर निर्वाचन आयोगमा प्रयोग भएको थियो । समानुपातिक प्रणालीको बन्दसूचीमा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए भने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाले हस्ताक्षर गरेका थिए ।

दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद बनेकाहरू संसदीय दलमा रहेका कारण नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । दुवै प्रणालीअन्तर्गत निर्वाचित ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चस्व छ भने समानुपातिकतर्फ संस्थापनइतर समूहका सांसदहरू बढी छन् ।

टिकट वितरणलाई आधार मान्दा प्रत्यक्ष र समानुपातिक गरी संस्थापनपक्षीय १६ र संस्थापनइतर पक्षीय २२ सांसदहरू छन् । इतरपक्षीय २२ मध्ये निवर्तमान सभापति देउवानिकट १५ र कोइरालानिकट सात जना मानिन्छन् ।

तर, पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच देखिएको ध्रुवीकरणले सांसदहरूको सङ्ख्याबारे यकिन भन्न सकिने अवस्था भने देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?