+

प्रथम छायाँनाथ अल्ट्रा रेस ३ जेठमा हुने

२०८३ वैशाख  १० गते १७:०७ २०८३ वैशाख १० गते १७:०७
प्रथम छायाँनाथ अल्ट्रा रेस ३ जेठमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुम कार्मारोङ गाउँपालिकाले जेठ ३ गते छायाँनाथ केन्द्रित ३० किलोमिटर लामो प्रथम छायाँनाथ अल्ट्रा रेस आयोजना गर्ने जनाएको छ ।
  • प्रतियोगितामा महिला र पुरुष दुवै विधामा दौड हुनेछ र स्थानीय सहभागिता बढाउन ५ किलोमिटर फन रन पनि राखिएको छ ।
  • प्रतियोगिताको विजेतालाई २ लाखदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार र मेडल प्रदान गरिनेछ र खर्च ९८ लाख रुपैयाँ अनुमान गरिएको छ ।

१० वैशाख, काठमाडौं । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आयोजना गर्ने भएको छ । गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत आगामी जेठ ३ गते पुलुमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।

छायाँनाथ धाम (एब्लाङ) केन्द्रित यस क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भू–परिवेश र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ । तर, पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावले यसको सम्भावना पूर्ण रूपमा उजागर हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

यही सम्भावनालाई प्रवर्द्धन गर्दै साहसिक खेलमार्फत खेल पर्यटन विकास गर्ने उद्देश्यले अल्ट्रा रेस आयोजना गर्न लागिएको हो । मुगुम कार्मारोङ गाउँपालिका र अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा हुने प्रतियोगितालाई नेपाल एड्भेन्चर रनिङ महासंघले प्राविधिक सहयोग गर्नेछ ।

किम्रि (२८८० मिटर) बाट सुरु हुने ३० किलोमिटर लामो दौड छायाँनाथ (४८२० मिटर) र चिताइकुना (२४४० मिटर) हुँदै पुलु (२२५५ मिटर) मा पुगेर टुंगिनेछ । प्रतियोगितामा महिला र पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ । साथै, स्थानीय सहभागिता बढाउन ५ किलोमिटर ‘फन रन’ पनि राखिएको छ ।

प्रतियोगिताका विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ३० किलोमिटर मुख्य विधामा प्रथम हुनेले २ लाख, द्वितीयले १ लाख ५० हजार, तृतीयले १ लाख, चौथोले ७५ हजार र पाँचौंले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीयतर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता आयोजना गर्न करिब ९८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यस कार्यक्रममार्फत मुगुम कार्मारोङलाई साहसिक खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रथम छायाँनाथ अल्ट्रा रेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय