१० वैशाख, काठमाडौं । एशिया इन्टरनेशनल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सांस्कृतिक दिवस सम्पन्न भएको छ । यस कार्यक्रममा भारत, नेपाल, बंगलादेश, पाकिस्तान, इजिप्ट, मोरक्को, यमन, यूएई, सुडान, अल्जेरिया, अफगानिस्तान तथा टर्कीका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र एकताको भावना विकास गर्नु रहेको विश्वविद्यालयले जानकारी दिएको छ ।
सहभागी विद्यार्थीहरूले आफ्ना देशका परम्परागत पहिरन, सांस्कृतिक झाँकी, परिकार (खानपान), गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न देशका स्टलहरू राखिएको थियो, जहाँ दर्शकहरूले फरक–फरक देशका परिकारहरूको स्वाद लिनुका साथै तिनका सांस्कृतिक विशेषताको अवलोकन गरे ।

कार्यक्रममा नेपाली विद्यार्थीहरूले आफ्नो मौलिक संस्कृति, परम्परागत नृत्य, गीत तथा परिकारलाई प्रभावकारी र सुसज्जित ढंगले प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुति उत्कृष्ट ठहरिँदै समग्रमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो।
हाल एशिया इन्टरनेशनल युनिभर्सिटीमा ७६ जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् । ८ जना नेपाली प्राध्यापक तथा शैक्षिक कर्मचारीहरू कार्यरत छन् ।
नेपाली समुदाय उज्बेकिस्तानमा आफ्नो संस्कृति प्रस्तुत गर्न अत्यन्त सक्रिय देखिएको छ । यस्ता कार्यक्रमहरू मार्फत उज्बेक नागरिकहरूले नेपालबारे थप जानकारी प्राप्त गरिरहेका छन्, जसले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यस किसिमका कार्यक्रमले फरक-फरक देशका विद्यार्थीबीच सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने र सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4