News Summary
Generated by OK AI. Editorially reviewed.- रातको ३ बजे निद्रा खुल्ने समस्या कोर्टिसोल हार्मोनको प्राकृतिक उतारचढावसँग जोडिएको छ र तनावले यसलाई बढाउँछ।
धेरै मानिसहरूलाई रातको ठ्याक्कै ३ बजे वा ३ देखि ४ बजेको बीचमा अचानक निद्रा खुल्ने समस्या हुन्छ । कतिपयले यसलाई भूतप्रेत वा अशुभ संकेत मान्छन्, तर विज्ञानका अनुसार यो शरीरको आन्तरिक घडी र हार्मोनसँग जोडिएको महत्वपूर्ण संकेत हो ।
यदि तपाईंलाई पनि बारम्बार रातको ३ बजे निद्रा खुल्छ भने यसलाई हल्का रूपमा लिनु हुँदैन । यसले तपाईंको निद्रा चक्र बिग्रिएको र शरीरमा तनाव बढेको संकेत गर्न सक्छ ।
रातको यो समयमा निद्रा खलबलिनुको मुख्य कारण कोर्टिसोल हार्मोनको प्राकृतिक उतारचढाव हो ।
सर्केडियन रिदम : शरीरको आन्तरिक घडीको सम्बन्ध
हाम्रो शरीरभित्र एउटा स्वचालित २४ घण्टे घडी चलिरहेको हुन्छ, जसलाई सर्केडियन रिदम अर्थात जैविक घडी भनिन्छ । यो घडीले हामीलाई कहिले सुत्ने, कहिले उठ्ने, कहिले खाने र कहिले ऊर्जावान हुने भन्ने कुरा नियन्त्रण गर्छ ।
यो घडी मुख्य रूपमा मस्तिष्कको सुप्राक्यास्मेटिक न्यूक्लियस नामक भागले चलाउँछ । रातको समयमा यो घडीले मेलाटोनिन हार्मोन बढाएर गहिरो निद्रा दिन्छ भने बिहानतिर कोर्टिसोल हार्मोन बढाएर जागरणको तयारी गर्छ ।
रातको २ बजेपछि कोर्टिसोलको स्तर बिस्तारै बढ्न थाल्छ । स्वस्थ व्यक्तिमा यो वृद्धि क्रमिक रूपमा हुन्छ र बिहान उठ्ने तयारीका लागि हो । तर यदि तपाईं दिनभर तनावमा हुनुहुन्छ, राति ढिलो सुत्नुहुन्छ वा अनियमित जीवनशैली छ भने कोर्टिसोलको यो वृद्धि अत्यधिक र छिटो हुन्छ । त्यसैले, ठ्याक्कै ३ बजे निद्रा अचानक खुल्छ र फेरि सुत्न गाह्रो हुन्छ ।
कोर्टिसोल : स्ट्रेस हार्मोनको भूमिका
कोर्टिसोललाई प्रायः नकारात्मक हार्मोन ठानिन्छ, तर यो शरीरका लागि अत्यन्त आवश्यक छ । यसले ऊर्जा व्यवस्थापन, रक्तचाप नियन्त्रण, प्रतिरक्षा प्रणाली र जागरणमा महत्वपूर्ण काम गर्छ ,
रातको १२ बजे कोर्टिसोलको स्तर सबैभन्दा कम हुन्छ । २ देखि ३ बजेपछि यो बिस्तारै बढ्न थाल्छ । बिहान उठेपछि ३० देखि ४५ मिनेटभित्र यसको स्तर सबैभन्दा उच्च हुन्छ, जसलाई कोर्टिसोल अवेकनिङ रेस्पोन्स भनिन्छ ।
दिनभरको तनाव, चिन्ता, बढी स्क्रिन टाइम वा अनियमित खानपानले कोर्टिसोललाई रातभरि नै उच्च राख्छ । रातको ३ बजे यो हार्मोनको प्राकृतिक वृद्धिले शरीरलाई अलर्ट मोडमा ल्याउँछ, हृदयको धड्कन बढाउँछ र गहिरो निद्राबाट हल्का निद्रातर्फ धकेल्छ । फलस्वरूप निद्रामा अचानक खुल्छ ।
अन्य कारणहरू
यो समस्या केवल कोर्टिसोलसँग मात्र जोडिएको छैन । यसका अन्य महत्वपूर्ण कारणहरू पनि छन् । रातको दोस्रो भागमाः निद्रा (सपना देख्ने चरण) बढी हुन्छ, जुन सुत्नुको हल्का चरण हो । ३ बजेपछि शरीर बिस्तारै जागरणतर्फ जान थाल्छ । यही बेला सानो हार्मोन परिवर्तन, ब्लड सुगरको गिरावट वा तनावले पनि निद्रा सजिलै टुट्छ ।
राति लामो समयसम्म खाना नखाएको कारण ब्लड सुगर घट्दा शरीरले कोर्टिसोल र एड्रेनालिन निकालेर सुधार गर्न खोज्छ । यसले निद्रा खुलाउँछ। महिलाहरूमा मेनोपजपछि हर्मोन परिवर्तनले यो समस्या झन् बढाउँछ ।
दिनभरको मानसिक दबाब, कामको चाप, चिन्ता र राति बढी मोबाइल हेर्ने बानीले पनि कोर्टिसोललाई असन्तुलित बनाउँछ । कोठाको तापक्रम बढी हुनु, प्रकाश वा सानो आवाजले पनि निद्रा टुट्न सघाउँछ ।
यसबाट बच्ने व्यावहारिक उपायहरू
रातको ३ बजे निद्रा टुट्ने समस्या बारम्बार भएमा यसलाई सुधार्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा नियमित र स्वस्थ जीवनशैली अपनाउनु हो ।
राति १० बजे अगाडि सुत्ने प्रयास गर्ने र हरेकदिन उही समयमा उठ्ने बानी बसाल्नुपर्छ । सुत्नुभन्दा कम्तीमा १ घण्टा अगाडि मोबाइल, टिभी र कम्प्युटर बन्द गर्नुहोस् किनकि नीलो प्रकाशले मेलाटोनिन हार्मोन घटाउँछ ।
दिनमा नियमित व्यायाम गर्न सकिन्छ, तर सुत्नुभन्दा ३ घण्टा अगाडि मात्र । रातको खाना हल्का र सुत्नुभन्दा २–३ घण्टा अगाडि खानुहोस् । यदि ब्लड सुगरको समस्या छ भने सुत्नुअघि हल्का प्रोटिनयुक्त खानेकुरा लिन सकिन्छ ।
कोठालाई चिसो, अँध्यारो र शान्त राख्नु उचित हुन्छ । त्यस्तै, तनाव व्यवस्थापनका लागि ध्यान, योग, प्राणायाम वा जर्नल लेख्ने बानी बसाल्नु उचित हुन्छ ।
यदि समस्या लामो समयदेखि छ र दिनभर थकान, चिन्ता वा एकाग्रता कम भएको महसुस हुन्छ भने चिकित्सकसँग परामर्श लिन सकिन्छ ।
कहिलेकाहीं थाइराइड, मधुमेह वा स्लिप एप्निया जस्ता स्वास्थ्य समस्या पनि यसको कारण हुन सक्छन् ।
प्रतिक्रिया 4