+

एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत ? अनुसन्धानमा यस्तो देखियो

२०८३ वैशाख  १३ गते १७:०९ २०८३ वैशाख १३ गते १७:०९
एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत ? अनुसन्धानमा यस्तो देखियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रिटिश मेडिकल जर्नल ओपनमा प्रकाशित अध्ययनले पाँचवटा लोकप्रिय एआई च्याटबटहरूले स्वास्थ्यसम्बन्धी प्रश्नमा झन्डै ४९.६ प्रतिशत गलत वा भ्रामक जानकारी दिएको देखाएको छ।

आजकल धेरै मानिसहरू स्वास्थ्यसम्बन्धी कुनै पनि प्रश्नको जवाफ पाउन एआई च्याटबटहरू जस्तै च्याटजीपीटी, ग्रोक, जेमिनाई आदि प्रयोग गर्छन् ।

एआईबाट स्वास्थ्य सल्लाह लिनु सही हो कि गलत ? यसबारे हालै एउटा महत्वपूर्ण अध्ययनले स्पष्ट जवाफ दिएको छ ।

ब्रिटिश मेडिकल जर्नल ओपनमा प्रकाशित यो अध्ययन अनुसार, लोकप्रिय एआई च्याटबटहरूले स्वास्थ्य र चिकित्सासम्बन्धी प्रश्नहरूको जवाफ दिँदा ठूलो मात्रामा गलत, अधुरो र भ्रामक जानकारी दिन्छन् ।

अध्ययनले देखाएको छ कि यस्ता जवाफहरूको झन्डै आधा भागले विज्ञानमा आधारित कुरा र गैर–विज्ञानमा आधारित कुराहरूबीच गलत सन्तुलन देखाउँछन् । अर्थात्, उनीहरूले कहिलेकाहीँ गलत वा प्रमाणित नभएका कुरालाई पनि वैज्ञानिक जस्तै बनाएर प्रस्तुत गर्छन् ।

शोधकर्ताहरूले पाँचवटा चर्चित एआई च्याटबटहरूलाई परीक्षण गरे । जसमा गुगलको जेमिनाई, डीपसीक, मेटा एआई, च्याटजीपीटी र ग्रोक। यिनलाई क्यान्सर, खोप, स्टेम सेल उपचार, पोषण र खेलाडीको प्रदर्शन सुधार्ने विषयमा विभिन्न प्रश्न सोधियो ।

प्रश्नहरू सामान्य मानिसले अनलाइनमा सोध्ने जस्तै भाषामा बनाइएका थिए । जसमा गलत जानकारी फैलाउने शैल पनि समावेश थियो । जवाफहरूलाई तीन भागमा विभाजन गरियो । समस्या नभएको, केही समस्या भएको र अत्यधिक समस्या भएको ।

अध्ययनको नतिजा निकै चिन्ताजनक छ । कुल जवाफहरू मध्ये झन्डै ४९.६ प्रतिशत समस्याग्रस्त देखिए । त्यसमध्ये ३० प्रतिशत केही हदसम्म समस्याग्रस्त र १९.६ प्रतिशत अत्यधिक समस्याग्रस्त थिए ।

अर्थात् यस्ता जवाफले सामान्य व्यक्तिलाई यस्तो उपचार वा विधितर्फ डोर्‍याउन सक्छ जुन प्रभावकारी नहुन सक्छ वा चिकित्सकको सल्लाहबिना प्रयोग गर्दा स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ ।

सबैभन्दा खराब नतिजा स्टेम सेल, पोषण र एथलेटिक प्रदर्शन सम्बन्धी प्रश्नमा आयो । विशेष गरी ग्रोकबाट अपेक्षा निकै बढी अत्यधिक समस्याग्रस्त जवाफहरू प्राप्त भए ।

यो अध्ययनका लेखकहरू ‘अमेरिकाको हार्बर–यूसीएलए मेडिकल सेन्टरको लुन्डक्विस्ट इन्स्टिच्युट लगायत’ ले भनेका छन्– जनरेटिव एआई च्याटबटहरूलाई अहिले अनुसन्धान, मार्केटिङ र स्वास्थ्य क्षेत्रमा तीव्र गतिमा प्रयोग गरिँदै छ । तर पर्याप्त जागरूकता र निगरानी नभएको कारणले यिनीहरूबाट गलत जानकारी अझ बढी फैलिने खतरा छ ।

एआईले जवाफ दिँदा अत्यन्त आत्मविश्वासपूर्ण तरिकाले बोल्छ, तर धेरैजसो सन्दर्भ गलत वा बनावटी हुन्छन् र भाषा पनि सामान्य मानिसले सजिलै बुझ्न नसक्ने खालको हुन्छ ।

महत्वपूर्ण कुरा के हो भने, एआई च्याटबट कुनै पनि हालतमा योग्य डाक्टरको विकल्प होइन । यसले सामान्य जानकारी दिन सक्छ, तर कुनै पनि रोगको उपचार, औषधि खानु, डाइट परिवर्तन गर्नु वा नयाँ उपचार विधि अपनाउनुअघि अवश्य नै योग्य चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

आफ्नो स्वास्थ्यसँग जोडिएको कुनै पनि निर्णय एआईको भरमा मात्र लिनु हुँदैन, किनकि गलत जानकारीले ठूलो हानि पुर्‍याउन सक्छ ।

एआई स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय