News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय धनकुटाले सेवाग्राहीको राहदानी घरमै पुर्याउने व्यवस्था सुरु गरेको छ।
- यो सेवा वैशाख १४ गतेदेखि राहदानी फारम भर्नेहरूलाई उपलब्ध गराइनेछ।
- सेवाग्राहीले घरमै राहदानी ल्याउन चाहँदा हुलाक शुल्क ५५ रुपैयाँ तिर्नुपर्नेछ।
१२ वैशाख, धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले सेवाग्राहीको राहदानी घरघरमै पुर्याउने व्यवस्था सुरु गरेको छ । जिल्ला प्रशासनले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरी तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पुर्याउने व्यवस्था गरेको हो ।
सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए ।
मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले एक सय बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख छ ।
प्रशासन र हुलाक कार्यालयबीच सम्झौता गरि राहदानी भर्न आउनेलाई यही लिन आउने की घरमै ल्याइदिनु भनेर सोध्ने र त्यसपछि घरमै भन्नेलाई भिन्दै फारम भराई फारममा रहेको ठेगानामा राहदानी पुर्याउन प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
घरमै राहदानी ल्याउनु भन्ने सेवाग्राहीलाई हुलाक महशुल शुल्क भने लाग्ने भएको छ । घरमै ल्याइदिनु भन्ने सेवाग्राहीले अतिरित्त फारममा विस्तृतमा ठेगाना भरेपछि हुलाकको रजिष्ट्रर नम्बर रसिद उपलब्ध गराइने जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी ईश्वर श्रेष्ठले बताए ।
यस्तै राहदानीको तौल अनुसार ५५ रुपैयाँ लाग्ने उनको भनाइ छ । त्यसपछि खाममा नाम ठेगाना लेखेर, राहदानीको तौल बराबरको अर्थात् ५५ रुपैयाँको टिकट टाँसेर कार्यालयले राखेर काठमाडांैबाट राहदानी बनेर आइसकेपछि घरमा पुर्याइने श्रेष्ठले बताए ।
जसको लागि हुलाक कार्यालयले एक जना कर्मचारी जिल्ला प्रशासनमै राखिने भएको छ । यो सेवा वैशाख १४ गते सोमबारदेखि राहदानीको फारम भर्नेलाई उपलब्ध गराइने भएको छ ।
सोमबार भन्दा अगाडि राहदानी फारम भरिसकेका सेवाग्राहीको हकमा भने हुलाक दस्तुर असुल्न समस्या हुने भएकाले यो सेवा नपाउने जिल्ला हुलाक कार्यालयले जनाएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ६० वटा वडामा सर्वसाधारणले सोमबारबाट सुरु हुने हुलाक सेवामार्फत राहदानी पाउने व्यवस्था प्रभावकारी हुने बताइएको छ ।
घरमै सेवा पुर्याउँदा सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घट्ने साथै लाइन बस्नुपर्ने समस्या कम हुने र समय तथा खर्च दुवै बचत हुने भएको छ । विशेषगरी धनकुटाका शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रका नागरिकका लागि यो सेवा प्रभावकारी हुने देखिएको छ ।
घरघरमै राहदानी वितरणसँगै हुलाक सेवा सरकारी कुरियर सेवाका रूपमा विकास भइ कार्यान्वयन आएको जिल्ला हुलाक कार्यलय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले बताए । उनले सरकारले घोषणा गरेको सेवालाई थप प्रभावकारी बनाउँन लागि पर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4