+

क्रिकेट रंगशाला किन हटाउन खोज्दैछ त्रिवि ?

२०८३ वैशाख  १४ गते २०:४१ २०८३ वैशाख १४ गते २०:४१

सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको व्यवस्थित रंगशाला बनाउन हालसम्म करिब २ अर्ब लगानी गरिसकेको छ । तर त्रिविको त्यो अल्टिमेटमले नेपाली क्रिकेट अन्योलतातर्फ धकेलिने डर पैदा भएको छ ।

क्रिकेट रंगशाला किन हटाउन खोज्दैछ त्रिवि ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले ४ वैशाखमा १८ संघ-संस्थालाई ३५ दिने अल्टिमेटमसहित आफ्नो अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गर्‍यो।
  • नेपाल क्रिकेट संघसँग २५ वर्षे भाडा सम्झौता वैशाखमै सकिँदैछ।
  • युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदानको भाडा सम्झौता छिट्टै नवीकरण हुने बताएका छन्।

१४ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४ वैशाखमा आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित निकायलाई अल्टिमेटम सहितको ३५ दिने सूचना जारी गर्‍यो । त्रिविले अल्टिमेटम दिएका १८ वटा संघ-संस्थामध्ये नेपाल क्रिकेट संघ (क्यान) पनि छ ।

त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिले तयार पारेको प्रतिवेदनले १८ संघ-संस्थाले २ हजारभन्दा बढी रोपनी जग्गा प्रयोग गरेको उल्लेख गरेको थियो । त्यसमा क्यानले क्रिकेट मैदानको रूपमा त्रिविको जग्गा प्रयोग गर्दै आएको छ ।

त्रिवि क्रिकेट मैदान भाडाका लागि क्यानले गरेको २५ वर्षको सम्झौता वैशाखमा सकिँदैछ । सोही कारण पनि त्रिविले क्यानलाई पनि उक्त ठाउँ खाली गर्न ३५ दिने अल्टिमेटम दिएको हो ।

ठूलाठूला खेल हुँदा महिनौंसम्म विश्वविद्यालयको अध्ययन अनुसन्धानको काम प्रभावित हुने गरेको त्रिविको निष्कर्ष छ । क्यानले २०५९ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत त्रिविसँग सम्झौता गरेको थियो ।

सम्झौता गर्ने बेलाका क्यानका महासचिव विनयराज पाण्डेका अनुसार सम्झौता गर्नुअघि उक्त ठाउँमा मोटरसाइकल सिक्ने ठाउँका रूपमा प्रयोग भएको थियो । उक्त ठाउँमा अहिले प्यारापिट र फ्लडलाइट जडान गरी व्यवस्थित क्रिकेट मैदान निर्माण गरिएको छ । क्यानले अन्तर्राष्ट्रिय खेलका लागि उक्त मैदान प्रयोग गर्दै आएको छ ।

क्यानका अनुसार सरकारले पनि त्यसलाई अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित रंगशाला बनाउन हालसम्म करिब २ अर्ब लगानी गरिसकेको छ । तर त्रिविको त्यो अल्टिमेटमले नेपाली क्रिकेट अन्योलतातर्फ धकेलिने डर पैदा भएको छ ।

क्यानका पूर्वअध्यक्ष पाण्डे मैदान हटाइयो भने नेपाली क्रिकेटलाई अपूरणीय क्षति हुने बताउँछन् । ‘त्रिवि मैदान हटाइयो भने नेपाली क्रिकेटलाई अपूरणीय क्षति हुनेछ । किनकि, अहिले नेपालसँग अन्तर्राष्ट्रिय स्तरका धेरै विकल्पहरू छैनन्,’ उनी भन्छन्, ‘जबरजस्ती वा झगडा गरेर समस्या समाधान हुँदैन । दुवै पक्षलाई फाइदा हुने गरी टुङ्गो लगाउनुपर्छ ।’

सुशीला कार्की नेतृत्वको सरकारले त्रिवि परिसरमा रहेको उक्त मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न गुरुयोजना स्वीकृत गरेको थियो । गुरुयोजनाबमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले त्रिवि क्रिकेट मैदान नहुने हो भने नेपाली क्रिकेट धेरै पछि धकेलिने बताउँछन् ।

अघिल्लो आर्थिक वर्षमा मात्रै सरकारले उक्त मैदानको स्तरोन्नतिका लागि करिब ८५ करोडभन्दा रकम लगानी गरिसकेको छ । ४३ करोड ७७ लाखमा प्यारापिट र ४२ करोड १९ लाख रुपैयाँ लागतमा फ्लडलाइट जडान गरिएको थियो ।

त्यसबाहेक पनि ग्राउन्ड, पिच स्तरोन्नतिमा समेत सरकारले करौडौं लगानी गरिसकेको छ । पहिलो चरणको काम भइसकेको मैदानमा दोस्रो चरणको निर्माणका लागि बजेट विनियोजन गर्ने तयारी सरकारले गरिरहेको छ । तर त्रिविले पनि जग्गा खाली गर्न क्यानको नाममा अल्टिमेटम जारी गरिसकेको छ । क्यानले घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय खेलहरू त्रिवि मैदानमै गर्ने गरेको छ । मुलपानी मैदान पूर्ण रूपमा तयार नहुँदा नेपाल प्रिमियर लिग (एनपीएल) सहितका प्रतियोगिता पनि त्रिवि मैदानमै हुने गरेका छन् ।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा फड्को मारिरहेको बेला राज्य वा विश्वविद्यालयले यसको विकासमा अवरोध पुर्‍याउनु राष्ट्रकै हितविपरीत हुने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको तर्क छ ।

‘त्रिवि मैदान केवल एउटा खेल खेल्ने ठाउँ मात्र नभएर यो राष्ट्रको सम्पत्ति पनि हो । ३० वर्षको इतिहास बोकेको मैदानलाई विश्वविद्यालयले एक्कासि हटाउन खोज्नु गलत हो,’ उनी भन्छन् । राष्ट्रको लगानीलाई संरक्षित गर्न त्रिवि र क्यानलाई एकआपसको मत भिन्नतालाई हटाई क्रिकेट विकासमा लाग्न क्षेत्रीको सुझाव छ ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले त्रिवि क्रिकेट मैदान नहुने हो भने नेपाली क्रिकेट धेरै पछि धकेलिने स्पष्ट पारे । क्यान त्रिविसँगको सम्झौता थप गर्ने पक्षमा छ ।

गत चैत २३ मा बसेको क्यान बोर्ड बैठकले करार सम्झौता अवधि थप गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार क्यानले सम्झौता थप गर्नका लागि राखेप र युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाइसकेको छ ।

युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने बताए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा आज मात्रै त्रिविका उपकुलपति सहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिट्टै हुने बताएका हुन् ।

‘आज बिहान त्रिवि उपकुलपति सहितको बैठक थियो । सकारात्मक कुरा भएको छ । खाली गराउने हैन, भाडा सम्झौता रिन्यु गर्ने हो । राज्यका यत्रो लगानी भएको छ,’ उनले भने, ‘राज्यकै संरचना हो । लिज पुनः एग्रिमेन्ट चाहिँ गराउनु पर्नेछ ।’

क्रिकेट रंगशाला त्रिवि
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय