News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले काठमाडौंका नदी किनारका अनाधिकृत आधा दर्जन भन्दा बढी सुकुमवासी बस्तीहरूमा डोजर चलाएर खाली गर्ने काम सुरु गर्दैछ।
- डोजर चलाउने बस्तीहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी परिचालित भएका छन् ।
- प्रशासनले घरहरू तुरुन्त खाली गर्न, बिरामी र वृद्धलाई सुरक्षित स्थानमा सार्न र आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन अनुरोध गरेको छ।
१८ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ ।
आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।
त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् । बस्ती खाली गर्ने सूचनालाई अटेर गरी बस्दा कुनै क्षति भएमा त्यसको जिम्मेवार स्वयं हुने चेतावनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरुबाट सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासीहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेको देखिएको थियो ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।
बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ वटा काम तत्काल गर्न भनेको छ ।
यी हुन् प्रशासनले अनुरोध गरेका कार्य–
१. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोला ।
२. तपाईंको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।
३. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला । अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।
४. तपाईंको व्यक्तिगत मालसामानहरू, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरूको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला । ५. २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्नु होला । ६. वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।
७. वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।
८. तपाईंलाई मानवीय सहायता प्रदान गर्दै, उद्धार गर्ने कार्य हुनेछ । कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडि नलाग्नुहोला ।
९. नक्कली एवं अवास्तविक भूमिहीन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइने छ ।
१०. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त तपाईंको हक अधिकार सुरक्षित रहनेछ ।
११. सरकारको यस अभियानमा सहयोग गर्ने कार्य तपाईंको समेत कर्तव्य र जिम्मेवारी हो ।
१२.सरकारले तपाईंलाई सहयोग र मद्दत गर्न आएको छ । तपाईंका बालबालिकाको शिक्षाको प्रबन्ध सरकारको तर्फबाट हुनेछ ।
१३.कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाईं स्वयम् हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिन्छ ।
प्रतिक्रिया 4