News Summary
Generated by OK AI. Editorially reviewed.- क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दक्षिण एसियामा ५ वर्ष मुनिका बच्चाहरूको औसत उचाइ जलवायु परिवर्तनले घट्ने अनुमान गरेका छन्।
विगत १५० वर्षमा, मानवजातिको उचाइ उल्लेखनीय रूपमा बढेको छ । तर यो वृद्धि सुस्त हुन सक्ने संकेतहरू छन् । यसको एउटा सम्भावित कारण जलवायु परिवर्तन हो ।
विश्वव्यापी तापक्रम वृद्धिले मौसममा द्रुत परिवर्तनहरू निम्त्याउँदैछ, जसले गर्दा गर्मीको लहर बढ्दै गएको छ ।
जलवायु परिवर्तनको यो अवस्थाले बच्चाहरूको जन्म हुनुभन्दा पहिले नै उनीहरूको विकासमा बाधा पुर्याउन सक्छ भन्ने निष्कर्ष संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले निकालेका छन् ।
टोलीले दक्षिण एसियामा ४ वर्ष मुनिका २ लाख बालबालिकाहरूको विश्लेषण गरेको छ ।
अनुसन्धानकर्ताहरूले गर्भावस्थाको प्रत्येक त्रैमासिकमा ३५ डिग्री सेल्सियसभन्दा माथिको उच्च आर्द्रता र तापक्रमको उतारचढावमा परेका बच्चाहरूको उचाइ अपेक्षा गरिएको भन्दा १३ प्रतिशत कम हुने अनुमान गरेका छन् ।
जन्मदेखि ५ वर्षको उमेरसम्मको उचाइ वृद्धिलाई बच्चाको समग्र स्वास्थ्य र विकासको प्रमुख सूचक मानिन्छ ।
हामी अन्ततः कति अग्लो हुन्छौं भन्ने कुरा आनुवंशिकी र पोषण र स्वास्थ्य जस्ता अन्य कारकहरूमा निर्भर गर्दछ । यस अध्ययनले जलवायु परिवर्तनका कारण बढ्दो गर्मी र आर्द्रताले दक्षिण एसियामा ५ वर्ष मुनिका बच्चाहरूको औसत उचाइ घटाउने खतरा छ रहेको देखाएको प्रमुख लेखक केटी म्याकमोहन बताउँछिन् ।
यस्तो असर विश्वव्यापी रूपमै पर्ने सक्ने म्याकमोहनको भनाइ छ । तापक्रम र आर्द्रताको स्तर पहिले नै उच्च रहेका कम र मध्यम आय भएका देशहरूमा पनि यही खालको परिणाम देखिन सक्ने उनको अनुमान छ ।
विश्व बैंकको वर्गीकरण अनुसार, लगभग १२० देशहरू कम र मध्यम आय भएका वर्गहरूमा पर्छन्।
मानव लम्बाइमा कन्सर्टिनाको प्रभाव
वैज्ञानिकहरूलाई थाहा छ कि मानव इतिहासको विभिन्न अवधिहरूमा औसत उचाइमा उल्लेखनीय रूपमा उतारचढाव आएको छ । १० हजार वर्ष पहिले शिकारमा आधारित जीवनशैलीबाट कृषि जीवनशैलीमा परिवर्तन हुने प्रमुख संक्रमणकालहरूमा औसत उचाइमा नकारात्मक प्रभाव परेको कुरा अध्ययनहरूले देखाएका छन् ।
हालसालै, २००४ मा, संयुक्त राज्य अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका अर्थशास्त्रका व्याख्याता प्रोफेसर रिचर्ड स्टेकेलले एउटा महत्त्वपूर्ण अध्ययन प्रकाशित गरे । उनले नवौं र उन्नाइसौं शताब्दीको बीचमा उत्तरी युरोपमा चिहानबाट उत्खनन गरिएका हजारौं कंकालहरूको उचाइ डेटाको विश्लेषण गरेका थिए । त्यो अवधिमा औसत उचाइमा उतारचढाव आएको थियो भन्ने कुरा पत्ता लागेको थियो, जुन १७औं शताब्दीमा यसको सबैभन्दा कम बिन्दुमा पुगेको थियो।
त्यस अवधिमा, युरोपमा धेरै परिवर्तनहरू भए, जसमा शहरहरूको विस्तार र संक्रामक रोगहरूको फैलावट, कृषि उत्पादनमा परिवर्तन, र सानो शीत युग पनि समावेश थियो । यो १६औं शताब्दीदेखि १९औं शताब्दीसम्म चलेको चिसोको अवधि थियो।
प्रोफेसर स्टेकेलले आफ्नो अध्ययनमा लेखेका छन्, ‘१७०० को दशकसम्म, उत्तरी युरोपका पुरुषहरूको उचाइ औसत २.५ इन्च (६.४ सेन्टिमिटर) घटेको थियो, र यो गिरावट २०औं शताब्दीको सुरुवातसम्म पूर्णरूपमा उल्टिएको थिएन।’
डा. एन्ड्रिया रोड्रिगेज मार्टिनेज बेलायतको इम्पेरियल कलेज लन्डनमा जनसंख्या स्वास्थ्य अनुसन्धानकर्ता हुन् । उनले मानव उचाइ प्रवृत्तिहरूको विश्लेषण गर्ने धेरै पत्रहरू लेखेकी छिन् । जलवायु परिवर्तनले आधुनिक जनसंख्यामा समान किसिमको दबाब दिन सक्छ भन्ने कुरामा डर रहेको उनी बताउँछिन् ।
डा. मार्टिनेजका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर लगभग एक अर्ब बालबालिका ‘धेरै उच्च जोखिम’मा छन् भन्ने अनुमान संयुक्त राष्ट्र संघको छ । जलवायु परिवर्तनले बालबालिकाको वृद्धि र स्वास्थ्यमा धेरै गम्भीर खतराहरू निम्त्याउने कुरा नकार्न नसकिने उनको भनाइ छ ।
डचहरू, जो बढ्न छोडेका छन्
२०औं शताब्दीलाई समग्रमा हेर्दा, उचाइमा जीवन यापनको परिस्थितिले भूमिका खेलेको स्पष्ट हुन्छ।
२०१७ मा, विश्वभरका स्वास्थ्य वैज्ञानिकहरूको सञ्जालले १८९६ र १९९६ को बीचमा जन्मेका २०० देशका पुरुष र महिलाहरूको बायोमेट्रिक डेटाको विश्लेषण प्रकाशित गर्यो ।
यसको अनुमान अनुसार, यस अवधिमा पुरुषहरूको विश्वव्यापी औसत उचाइ १६२ सेन्टिमिटरबाट १७१ सेन्टिमिटरसम्म बढ्यो । महिलाहरूका लागि, यो १५१ सेन्टिमिटरबाट १५९ सेन्टिमिटरसम्म बढ्यो।
यद्यपि, केही देशहरूमा यो वृद्धि अरूको तुलनामा बढी थियो । उदाहरणका लागि, इरानी पुरुषहरू १६.५ सेन्टिमिटर अग्लो भए, र दक्षिण कोरियाली महिलाहरू २०.२ सेन्टिमिटर अग्लो भए । यसको विपरीत, शताब्दीमा मेडागास्कर महिलाहरू केवल १.५ सेन्टिमिटर अग्लो भए, र पाकिस्तानी पुरुषहरू १.२७ सेन्टिमिटर अग्लो भए ।
किन यस्तो भिन्नता ?
उचाइमा हुने भिन्नतालाई आनुवंशिकीले धेरै हदसम्म व्याख्या गर्न सक्छ, तर यो पोषण, वातावरणीय र सामाजिक-आर्थिक कारकहरूको संयोजनसँग पनि जोडिएको छ’ डा. मार्टिनेज बताउँछिन् । यसमा पौष्टिक खाना र सफा पानीमा पहुँच, साथै रोगसँग लड्ने हाम्रो क्षमतामा सुधार ल्याउने चिकित्सा प्रगतिहरू समावेश छन् ।
संसारकै सबैभन्दा अग्ला मानिस भएका देशहरू
ऐतिहासिक रूपमा जीवनस्तरमा सुधार, उच्च गुणस्तरको खानामा पहुँच र चिकित्सा प्रगतिका कारण डचहरू विश्वका सबैभन्दा अग्ला मानिसहरू हुन्। नेदरल्याण्ड्सको वागेनिंगेन विश्वविद्यालयमा स्वास्थ्य र समाजकी प्राध्यापक क्रिस्टिना थम्पसन भन्छिन्, ‘उनीहरूको कथाले जीवनस्तर र स्वस्थ, अग्लो जनसंख्या बीच स्पष्ट सम्बन्ध रहेको देखाउँछ ।’
तर नेदरल्याण्ड्स तथ्याङ्क ब्यूरो(सीबीएस) का अनुसार, औसत उचाइ घटेको छ । १९८० मा जन्मेका पुरुषहरूको औसत उचाइ १९ वर्षको उमेरमा पुग्दा १८३.९ सेन्टिमिटर थियो, तर २००१ मा जन्मेका पुरुषहरूमा यो १८२.९ सेन्टिमिटरमा झरेको छ । डच महिलाहरूको औसत उचाइ १७०.७ सेन्टिमिटरबाट घटेर १६९.३ सेन्टिमिटरमा झरेको छ।
सीबीएसको एक कथन अनुसार, देशमा छोटो कद भएका व्यक्तिहरू बसाइँ सरेर आउनु र उनीहरूबाट जन्मिएका बच्चाहरू यहींका नागरिक हुनु उचाइ घट्नुको एउटा कारण हो । तर डच आमाबाबुबाटै जन्मेका बच्चाहरूले पनि उचाइमा गिरावट आएको देखिएको छ ।
‘यो गिरावटको कारण के हो भन्ने कुरा अझै स्पष्ट छैन’ थम्पसन भन्छिन्, ‘के आहारको गुणस्तर घट्दै गएको छ ? के बाल्यकालको मोटोपनले उचाइ वृद्धिमा बाधा पुर्याएको छ ?’
असमानताले विकासमा बाधा
विश्वका विकसित देशहरूले विश्वव्यापी उचाइको वरियतामा शीर्ष स्थानहरूमा प्रभुत्व जमाउनु कुनै आश्चर्यको कुरा होइन। तर यी वरियताहरू परिवर्तन हुन सक्छन् । एनसीडी तथ्याङ्कका अनुसार, १९औं शताब्दीको अन्त्यतिर, संयुक्त राज्य अमेरिका विश्वको तेस्रो अग्लो देश थियो । आज, अमेरिकीहरू शीर्ष २० मा पनि पर्दैनन् ।
यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने उचाइ घटेको छैन । १९९६ मा जन्मेका अमेरिकी पुरुषहरू १०० वर्ष पहिले जन्मेका आफ्ना पुर्खाहरू भन्दा औसतमा ६ सेन्टिमिटरभन्दा बढी अग्ला थिए । कुरा के हो भने संसारको बाँकी भागमा उचाइ द्रुत गतिमा बढेको छ।
अमेरिकी अर्थशास्त्री जोन कोम्लोसलाई मानव शरीरको आकारको अध्ययन, मानवशास्त्रीय इतिहासको अग्रणी मानिन्छ । उनी यसको श्रेय समयसँगै देशहरूभित्र देखा परेको सामाजिक-आर्थिक असमानतालाई दिन्छन् । विशेष गरी हालैका दशकहरूमा चिकित्सा सेवामा पहुँचको सन्दर्भले पनि यसमा असर परेको छ ।
‘अमेरिका ती देशहरूभन्दा पछाडि पर्यो जसले कल्याणकारी राज्य अपनाए, जहाँ गरिब मानिसहरूले पनि आफ्ना बच्चाहरूलाई डाक्टरकहाँ लैजान सक्थे’ कोम्लोस भन्छन् ।
२०औं शताब्दीको मध्यदेखि अमेरिकीको मोटोपनमा भएको वृद्धिले पनि उचाइको वृद्धिमा प्रभाव परेको प्रोफेसर कोम्लोसको भनाइ छ । बालबालिका र किशोर-किशोरीमा मोटोपन वृद्धि हुनु यसको कारण रहेको कोम्लोस बताउँछन् ।
यद्यपि सरकारी तथ्यांकले विगत दुई दशकमा अमेरिकी खाने बानीमा सुधार आएको देखाउँछ, तर तिनीहरूले अझै पनि १८ वर्ष मुनिका आधाभन्दा बढी अमेरिकीहरूले पोषणको दृष्टिकोणबाट कम खाना खाने गरेको संकेत गर्छन् ।
दुई कोरिया र दुई जर्मनको कथा
उचाइ वृद्धिमा जीवन परिस्थितिको भूमिकाको अर्को उल्लेखनीय उदाहरण कोरियाली जनताबाट आउँछ, जसलाई १९५० को दशकमा युद्धद्वारा उत्तर र दक्षिण कोरियामा विभाजित गरिएको थियो।
२०११ मा सियोलको सुङक्युङ्कवान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनमा दक्षिण कोरिया भन्दा उत्तर कोरियामा जन्मिएका मानिसहरूको उचाइ कम देखियो । यस अध्यययनको नतिजामा उत्तर कोरियामा जन्मेका मानिसहरू औसतमा आफ्ना धनी दक्षिणी समकक्षीहरू भन्दा ८ सेन्टिमिटर छोटो थिए ।
दोस्रो विश्वयुद्ध पछि पूर्व र पश्चिम गरी जर्मनी दुई भागमा विभाजित भयो । देश विभाजन भएको ४१ वर्ष (१९४९-१९९०) को समयमा जर्मनीमा जन्मेका मानिसहरूमा समान, तर कम स्पष्ट, भिन्नता भेटियो । पश्चिम जर्मनहरू औसतमा आफ्ना पूर्वी छिमेकीहरू भन्दा लगभग १ सेन्टिमिटर अग्ला थिए।
त्यसो भए के हामीले बढ्न छोडेका छौं ?
केही विकसित देशहरूमा मानव विकास शिखरमा पुगेको वा स्थिर भएको प्रमाण छ, तर विकासशील देशहरूसँग समातेर यसलाई क्षतिपूर्ति दिन सकिन्छ।
विश्वका केही विपन्न भागहरूमा सामाजिक आर्थिक अवस्था अझै पनि सुधार हुन सक्छ, तर मानवजन्य जलवायु परिवर्तनले यसमा बाधा पुर्याउन सक्छ भन्ने चिन्ता बढ्दै गएको छ ।
सबैभन्दा बढी र द्रुत गतिमा तापक्रम बढिरहेका क्षेत्रमा बस्ने मानिसहरूले जलवायु परिवर्तनसँग आफूलाई अनुकूल बनाउँदै लैजान कठिन हुने केटी म्याकमोहन बताउँछिन् ।
कृषि, निमार्ण कार्य जस्ता बाहिरको काम गर्ने व्यक्तिहरू बढी प्रभावित हुने उनको भनाइ छ । साथै प्रविधिहरूको प्रयोग गरी अनुकूल वातावरण बनाएर बस्ने पहुँच नहुनेहरू पनि यस खालको समस्याबाट पीडित हुने उनी बताउँछिन् ।
बीबीसीबाट
प्रतिक्रिया 4