News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले अप्रिल फुलको रूपमा फेसबुकमा क्युआर कोडमार्फत सामाजिक सञ्जालमा आउने हरेक कुरा सत्य नहुने सन्देश दिएको छ।
- प्रहरीले ७९ हजार नेटवर्क र सोसल मिडिया डेस्कमार्फत घटनाको सूचना तुरुन्त फेसबुकमा प्रकाशित गर्ने प्रणाली स्थापना गरेको छ।
‘तपाईंविरुद्ध प्रहरीमा कुनै उजुरी वा निवेदन त परेको छैन ?’
प्रहरीको फेसबुक पेजमा एकाएक यस्तो सूचना सम्प्रेषण भयो ।
त्यससँगै अर्को कुरा पनि त्यहाँ उल्लेख थियो– ‘सुनिश्चित गर्नका लागि एक पटक यो क्युआर कोड स्क्यान गर्नुहोस् ।’
अब प्रहरीको आधिकारिक फेसबुक पेजबाटै यस्तो सूचना आएपछि कसले पो स्क्यान नगर्लान् ? सबैले हतार-हतार क्युआर कोड स्क्यान गरे । तब मान्छेहरूले थाहा पाए, प्रहरीले यो त ‘अप्रिल फुल’ पो मनाएको रहेछ । किनभने यो ठ्याक्कै अप्रिल १ मा राखिएको सूचना थियो ।
के प्रहरीले सर्वसाधरणसँग यो मजाक गरेको थियो ? पक्कै थिएन । खासमा त त्यहाँ गहिरो सन्देश थियो । त्यो हो, सामाजिक सञ्जालमा आउने हरेक कुरा सत्य हुँदैन ।
हरेक कुरा पत्याउनुअघि रोकिनुहोस्, सोच्नुहोस्, अनि जाँच्नुहोस् ।
आजको डिजिटल युगमा हामी सबै कुरा अनलाइन गर्छौं । कारोबार, सानातिना कुरा खोज्नदेखि लिएर लगभग हरेक काम सबै डिजिटल प्लेटफर्ममा निर्भर छौं ।
यसरी सबै कुरा डिजिटल बन्दै जाँदा ठगीका नयाँ तरिकाहरू पनि बढिरहेका छन् । यसैबीच इन्टरनेटमा जोडिएका ठगहरूले मानिसहरूलाई सजिलै फसाउँछन् ।
एकातिर ध्यान तान्ने सन्देश थियो । अर्कोतर्फ यस्ता रचनात्मक सन्देशले नेपाल प्रहरीको फेसबुक प्रयोग गर्ने शैली कति बदलिएको छ भन्ने देखाउँछ।
डिजिटलसँगै अघि बढेको प्रहरीको सूचना दिने शैली
नेपाल प्रहरीका पहिले-पहिलेका पोस्टहरू औपचारिक र जानकारीमूलक मात्र हुन्थे, जसले सबैको ध्यान खिच्न सक्दैनथ्यो । अहिले भने पोस्टहरूमा हास्य, सानो ट्विस्ट, क्रिएटिभ ग्राफिक्स र सरल भाषा प्रयोग गरिन्छ ।
यसै सन्दर्भमा प्रहरी प्रवक्ता अभिनारायण काफ्ले भन्छन्, ‘अहिलेका दर्शक छिटो बुझ्ने र छोटो सामग्री मन पराउँछन् । त्यसैले, प्रहरीले पनि त्यही शैली अपनाएको हो ।’
सूचना अब केवल दिनु मात्र होइन, कसरी प्रस्तुत गर्ने भन्ने कला पनि उत्तिकै महत्वपूर्ण रहेको प्रहरीले बुझेको उनको भनाइले पुष्टि गर्छ ।
छिनछिनमै अपडेट– सूचनाको गति कसरी सम्भव भयो ?
आज सूचना ढिलो आयो भने त्यसको मूल्य घट्छ । यही कुरा बुझेर नेपाल प्रहरीले आफ्नो सूचना प्रवाह प्रणालीको रफ्तार बढाएको देख्न सकिन्छ ।
दुर्घटना, ट्राफिक जाम वा विपद् । यी सबै घटनाको सूचना अहिले केही मिनेटमै प्रहरीको फेसबुकमा आउँछ । देशभर ७९ हजारको संख्यामा फैलिएको प्रहरी नेटवर्क र केन्द्रमा रहेको सोसल मिडिया कोअर्डिनेशन डेस्क २४ घण्टा खटिएको प्रवक्ता काफ्ले बताउँछन् ।
काफ्ले भन्छन्, ‘कुनै घटना घट्नेबित्तिकै सूचना नेटवर्कमार्फत हामीले बनाएको केन्द्रमा रहेको सोसल मिडिया डेस्कमा आइपुग्छ । सूचनालाई भेरिफाइ गर्ने, ग्राफिक्स, समाचार बनाउने टोली खटिरहेको हुन्छ । सबै भए पछि तुरुन्तै सार्वजनिक गरिन्छ ।’
उनका अनुसार पहिले बिहान–बेलुका मात्र अपडेट दिने अभ्यास थियो । अहिले भने घटना भयो भने तुरुन्त जानकारी दिने प्रणाली स्थापित भएको छ ।
यसले नागरिकलाई जामबाट जोगिन, वैकल्पिक बाटो रोज्न र आपतकालीन अवस्थामा छिटो निर्णय लिन सहयोग गरेको छ ।
सूचना मात्र होइन, विश्वास निर्माणको प्रयास गर्छौ
डिजिटल प्लेटफर्मले प्रहरी र नागरिकबीचको दूरी घटाएको देख्न सकिन्छ । पहिले प्रहरीले धेरै काम गरे पनि ती गतिविधि जनतासम्म पुग्दैनथे । अहिले भने अवस्था परिवर्तन भएको छ । उद्धार कार्य, अपराधी पक्राउ, विपद् व्यवस्थापन– यी सबै गतिविधि नियमित रूपमा सार्वजनिक हुँदा नागरिकले प्रत्यक्ष देख्न पाएका छन् ।
‘प्रहरीले दिनहुँ धेरै सेवा दिइरहेको हुन्छ, ती कुरा जनतासम्म पुग्दा मात्र विश्वास बढ्छ’ प्रवक्ता काफ्ले भन्छन्, ‘जब कुनै घटना हुन्छ र तुरुन्त जानकारी सार्वजनिक हुन्छ, पीडितलाई न्याय भएको अनुभूति हुन्छ ।’
कानुन उल्लंघन गर्दा तुरुन्तै कारबाही हुन्छ भन्ने सन्देश पनि समाजमा पुगिरहेको काफ्ले सुनाउँछन् । यसले पारदर्शिता बढाएको र प्रहरीप्रतिको विश्वास मजबुत बनाएको उनको दावी छ ।
‘मन छुने, दिमागमा बस्ने’ कन्टेन्ट दिन्छौं
प्रहरीको फेसबुक शैली परिवर्तनको केन्द्रमा एउटा स्पष्ट सोच छ, ‘सन्देश यस्तो होस्, जसले सिधै मनमा छोओस् र दिमागमा असर गरोस् । ‘हामीले यस्तो कन्टेन्ट दिन खोज्छौं, जसले सिधा ‘हर्ट टच’ र ‘माइन्ड टच गरोस’ ’ प्रवक्ता काफ्ले भन्छन्, ‘मानिसले पढेपछि सम्झियोस्, व्यवहारमा उतारोस् ।’
त्यसैले, अहिले पोस्टहरू केवल सूचना होइन, अनुभव जस्तै बनाइन्छ । छोटो सन्देश, बलियो भिजुअल र सिधा तर चोटिलो भाषाले मानिसको ध्यान खिच्छ र प्रभाव छोड्छ ।
उदाहरणका रूपमा– सुरक्षासम्बन्धी सन्देशलाई जटिल भाषामा होइन, अल्वेज बी केयरफुल’ जस्तो सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गरिन्छ । यस्तो प्रस्तुतीकरणले सन्देशलाई दिमागमा मात्र होइन, व्यवहारमा पनि पुर्याउने लक्ष्य राख्छ । यही कारणले अहिलेका पोस्टहरू देख्नमा सामान्य भए पनि प्रभावमा गहिरा छन् ।
फरक प्रस्तुति किन बदलियो ?
डिजिटल युगमा सूचना मात्र पर्याप्त हुँदैन, त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । यो कुरा प्रहरीले बुझेर आफ्नो प्रस्तुति शैली परिवर्तन गरेको हो । आजको दर्शक छोटो, स्पष्ट र दृश्य सामग्रीतर्फ आकर्षित हुन्छ । त्यसैले, पोस्टहरूमा ग्राफिक्स, छोटो भिडियो र प्रभावकारी सन्देश प्रयोग गरिन्छ ।
यो परिवर्तन संगठनको उच्च तहबाट आएको हो । प्रवक्ता अभियान काफ्लेका अनुसार यो डिजिटल शैलीको परिकल्पना प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष पहलमा अघि बढाइएको हो ।
‘नेपाल प्रहरीको फेसबुक तथा डिजिटल सूचना प्रणालीमा देखिएको यो परिवर्तन आकस्मिक होइन, योजनाबद्ध सोच र नेतृत्वको परिणाम हो’ काफ्ले भन्छन्, ‘विशेषगरी प्रहरी महानिरीक्षक धनबहादुर कार्कीको परिकल्पनाले यसलाई नयाँ दिशामा अघि बढाएको हो ।’
प्रवक्ता काफ्लेका अनुसार, प्रहरी संगठनलाई समयअनुसार डिजिटल रूपमा सशक्त बनाउनुपर्ने आवश्यकता महसुस गर्दै उच्च तहबाटै यसको सुरुवात गरिएको थियो । सूचना केवल कागज वा औपचारिक माध्यममा सीमित नराखी, नागरिकले प्रयोग गर्ने प्लेटफर्ममै पुर्याउने लक्ष्य तय गरियो।
यस परिकल्पनाअन्तर्गत सामाजिक सञ्जाललाई प्राथमिक माध्यम बनाउँदै सूचना प्रवाहलाई छिटो, आकर्षक र प्रभावकारी बनाउने रणनीति अपनाइयो । त्यसका लागि छुट्टै सोसल मिडिया डेस्क, कन्टेन्ट टिम र भिजुअल प्रस्तुतीकरणमा ध्यान दिने अभ्यास विकास गरेर चुस्त दुरुस्त ढंगले जनताको साथी बन्दै जाने काफ्ले बताउँछन् ।
यो केवल प्रविधि प्रयोग गर्ने परिवर्तन होइन, सोचको रूपान्तरण पनि हो । प्रहरी अब ‘सूचना दिने निकाय’ मात्र होइन, ‘सञ्चार गर्ने र जोडिने संस्था’ बन्न खोजिरहेको देख्न सकिन्छ ।
यही नेतृत्वदायी सोचका कारण आज प्रहरीको फेसबुक पोस्टहरू सामान्य सूचना भन्दा अघि बढेर जनचेतना, व्यवहार परिवर्तन र विश्वास निर्माण गर्ने माध्यम बनेका छन् ।
नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमा हाल २५ लाखभन्दा बढी फलोअर्स रहेका छन्, जसले यसको व्यापक पहुँच देखाउँछ । यस प्लेटफर्ममार्फत पोस्टहरू लाखौँ मानिससम्म पुग्ने भएकाले सूचना, सचेतना र जनसम्पर्कमा यसको प्रभाव निकै उच्च देखिन्छ ।
नागरिक–प्रहरी सम्बन्धको नयाँ अध्याय
प्रहरीको यो कार्यलाई सरसर्ती हेर्दा सामाजिक सञ्जालले प्रहरी र नागरिकबीचको सम्बन्धलाई नयाँ रूप दिएको छ । अब यो सम्बन्ध केवल नियम पालना गर्ने मात्र होइन, सहकार्यमा आधारित भएको छ ।
नागरिकहरूले पोस्ट शेयर गर्छन्, प्रतिक्रिया दिन्छन् र जानकारी थप्छन् । यसले सूचना अझ छिटो फैलिन्छ । एउटा पोस्ट हजारौँ मानिससम्म पुग्दा खोजी प्रक्रिया छिटो हुन्छ । यसले दुईतर्फी संवादलाई बलियो बनाएको छ ।
यसले प्रहरीलाई अझ नागरिकमैत्री बनाएको छ र समाजमा विश्वासको आधार बलियो बनाएको देख्न सकिन्छ ।
प्रतिक्रिया 4