+
+
Shares

समीक्षा बैठक राख्ने बाहेक सबथोक गर्दैछन् ओली

निर्वाचनको परिणामबारे समीक्षा बैठक राख्ने एमालेमा माग भइरहेको छ । तर ओली इच्छुक छैनन् । किनकी १३ चैतमै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ओलीलाई नेतृत्व छोडेर पार्टी पुनर्गठनको बाटो खुला गरिदिन प्रस्ताव राखेका थिए । त्यस यताका हरेकजसो भेटहरूमा पौडेलले ओलीलाई आफ्नो अडान राखिरहेका छन् । नेताहरुका अनुसार यो प्रस्तावमा महासचिव शंकर पोखरेलको समेत साथ छ ।

सइन्द्र राई सइन्द्र राई
२०८३ वैशाख २८ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तथैलीको शल्यक्रिया पछि गुन्डुमै बसेर राजनीतिक सक्रियता बढाएका छन्।
  • ओलीले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा भेटवार्ता र टेलिफोन संवादमार्फत वाम एकता र राष्ट्रिय एजेण्डामा छलफल गरिरहेका छन्।
  • ओलीको अनुपस्थितिमा बसेका सचिवालय बैठकले निर्वाचन समीक्षा गर्न केन्द्रीय कमिटी बोलाउने निर्णय गरेका छन् तर ओलीले गुन्डुबाटै निर्णय लिइरहेका छन्।

२८ वैशाख, काठमाडौ । पित्तथैलीको शल्यक्रिया गरेर गुन्डुमै आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सक्रियता बढेको छ ।

पार्टीभित्र र बाहिरका नेताहरूलाई गुन्डुमै बोलाएर अथवा टेलिफोन मार्फत ओलीले संवाद गरिरहेका छन् । उनको बढ्दो राजनीतिक गतिविधि सामाजिक सञ्जालमै देखिन थालेको छ ।

आइतबार दिउँसो मात्र एमालेका युवा नेता अब्दुस मियाँले ओलीसँग भेटवार्ता गरेको तस्वीर सार्वजनिक गरे । त्यो तस्वीर राजनीतिक सन्देश दिनेगरी सार्वजनिक गरिएको छ । तस्वीरमा ओली बस्ने कुर्सीमा मियाँ छन् भने ओली आगन्तुक कुर्सीमा बसेका छन् ।

स्रोतका अनुसार ओलीकै चाहनामा यस्तो तस्वीर लिइएको हो । ‘फोटो खिच्ने बेलामा आफू बस्ने कुर्सीमा अब्दुस मियाँलाई बस्न भन्नुभयो, र अर्को कुर्सीमा आफू बस्नुभयो,’ स्रोत भन्छ । अब्दुस सँगै गएका अर्का युवालाई बायाँ तर्फ राखेर ओली बीचमा बसेका छन् ।

मियाँले आफूहरू स्वास्थ्य अवस्था बुझ्न गुन्डु पुगेको बताए । ‘आराम गरिरहनुभएको थियो । स्वास्थ्य अवस्था बुझौं भनेरै त्यहाँ गएको हो,’ मियाँले अनलाइनखबरसँग भने, ‘राजनीतिक कुराकानी खासै भएन ।’ तर स्वास्थ्य अवस्था सुध्रिदै गएकाले राजनीतिक सक्रियता बढ्ने संकेत भने ओलीले दिए ।

‘स्वास्थ्य सुधार हुँदै गएकाले अब सक्रियता बढ्छ भन्ने संकेत चाहिँ उहाँले गर्नुभयो’, मियाँ भन्छन् । ओली बस्ने कुर्सीमा आफूलाई राखिएकोबारे भने उनले अनविज्ञता प्रकट गरे ।

आफू बसिरहेको कुर्सी मियाँका लागि छोडेर ओलीले दिन खोजेको सन्देश समायन्तरमा थाहा होला । तर ओलीको राजनीतिक सक्रियता बढेको बुझाउने यो एक पछिल्लो उदाहरण हो ।

पछिल्लो हप्ता हरेकजसो दिन ओलीको राजनीतिक गतिविधिका सन्देश सार्वजनिक भइरहेका छन् । ‘कतिपय भेटवार्ताको तस्वीर सार्वजनिक भएका होलान्, कति नभएका होलान्,’ एमालेका एक नेता भन्छन्, ‘अध्यक्षको भेटवार्ता बढेको छ ।’

अब्दुस मियाँसँग केपी ओली । यो तस्वीरमा ओलीको कुर्सीमा मियाँ बसेका छन् ।

ओलीको कतिपय भेटवार्ता एमालेको आन्तरिक जीवन भन्दा बाहिर राष्ट्रिय राजनीति र वाम आन्दोलनसम्मका छन् । जस्तो– गत २२ वैशाखमा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्ता ।

नेपाली कम्युनिष्ट पार्टीका नेता श्रेष्ठ ओलीलाई भेट्न गुन्डु नै पुगेका थिए । स्रोतका अनुसार ओलीसँग श्रेष्ठले समसामयिक एजेण्डादेखि वाम आन्दोलनसम्मका कुरा गरे । श्रेष्ठ वाम एकताको पक्षमा वकालत गर्ने मध्येका एक नेता हुन् ।

नेता श्रेष्ठले भेटेको भोलिपल्ट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको टेलिफोन संवाद भयो । टेलिफोन संवाद दुई जनाबीच सीमित रहेपनि कतिपय एजेण्डा भने समान छन् । जस मध्ये एक हो– वाम एकता ।

प्रचण्डका पछिल्ला निर्णय व बक्तव्य हेर्दा उनी वाम एकताको पक्षमा रहेको लुक्दैन । ९ वैशाखको मन्तव्य र १९ वैशाखमा सार्वजनिक नेकपाको वक्तव्यमा पनि वाम एकताको विषय उल्लेख छ ।

राजधानीमा आइतबार, (हिजो) भएको एक कार्यक्रममा पनि प्रचण्डले वाम एकताबारे बोले । ‘हामीले आफैंले पहिला राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो भन्ने कुरा सच्याउने प्रयास गर्नु र नयाँ ढंगले आन्दोलन अघि बढाउन जरुरी छ,’ प्रचण्डले भनेका छन्, ‘हामीले हिजो जसरी जनयुद्ध, जनआन्दोलन र अभियानका क्रममा जहाँ आइपुगेका थियौं, अहिले फेरि परिस्थितिले एकताको आधार खोजी गर्न बाध्य पारेको छ ।’

विगतमा एमालेसँग भएको एकताको प्रसंगसमेत उल्लेख गरेर वाम एकताको कुरा प्रचण्डले उठाउनु अर्थपूर्ण छ । र, यसमा ओलीसँगको संवाद तथा भेटवार्ता अर्थपूर्ण छ ।

यद्यपि नेकपाका नेताहरू, ओलीसँगको संवाद र भेटवार्तालाई एकताकै सन्दर्भमा जोड्न नहुने बताउँछन् । ‘अध्यादेशहरूबाट सरकार चल्न खोजिरहेको छ । हजारौं भूमिहीन सुकुमबासी बेघर बनाइएका छन्,’ नेकपाका एक नेता भन्छन्, ‘राष्ट्रिय राजनीतिका यिनै सन्दर्भमा केपी ओलीसँग पनि कुराकानी भएको हो ।’

नेताहरूका दाबी बमोजिम पार्टी एकता नभएर राष्ट्रिय राजनीतिक एजेण्डामा विपक्षीहरू जुट्ने सन्दर्भमै कुराकानी भएपनि ओलीको सक्रियता बढेको प्रमाण हो ।

‘यतिबेला हामीले बुझ्ने भनेको अध्यक्ष बिरामी हुनुहुन्छ, उहाँ गुन्डुमै आराम गरिरहनुभएको छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘यस्तो बेला पार्टी एकतादेखि राष्ट्रिय राजनीतिबारे निर्णयहरू लिँदै हुनुहुन्छ भन्ने हामीले सोच्ने कुरा भएन ।’

एमालेका शीर्ष नेताहरुले मातहतका कार्यकर्तालाई ओली बिरामी भएकैले निर्वाचनमा सर्मनाक पराजय खेप्नुको समीक्षा गर्न नसकिएको जवाफ दिँदै आएका छन् ।

ओलीको अनुपस्थितिमा बसेका केही सचिवालय बैठकले पनि चाँडै समीक्षा बैठक राख्ने निर्णय गरेको छ । गत २१ चैतको सचिवालय बैठकले निर्वाचन परिणामबारे समीक्षा गर्न केन्द्रीय कमिटी बोलाउने जानकारी दिएको थियो ।

तर, अझै कुनैपनि कमिटीको बैठक बोलाउन नसकेको एमालेमा ओलीले गुन्डुबाटै पार्टीका निर्णयहरू लिन थालेका छन् । र, ती निर्णय प्रक्रियाहरूमा प्रमुख पदाधिकारीहरू नै सामेल नगराइएको केही घटना यसै साता भए ।

गत बिहीबार, (२४ वैशाखमा) सुदूरपश्चिम प्रदेशका सांसद र केही नेताहरू गुन्डु बोलाइएका थिए । केन्द्रीय उपमहासचिव लेखराज भट्ट, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायत नेताहरूसँग ओलीले संवाद गरेको तस्वीर सार्वजनिक भयो । नेताहरूका अनुसार त्यसदिन चार घण्टा लामो छलफल हुँदा पनि कुरा मिलेन ।

सुदूरपश्चिम प्रदेशका सांसदसँग गुण्डुमा छलफल गर्दै ओली ।

फेरि भोलिपल्ट, (२५ वैशाखमा) केही नेताहरूसँग ओलीले संवाद गरे । सुदूरपश्चिममा दलका नेताबाट रावललाई हटाउनेदेखि प्रदेश सरकार फेर्नेसम्मको प्रस्ताव आउँदा त्यहाँ समस्या भएको थियो । तर ओलीले आफू निकट रावललाई हटाउन नचाहेको बुझेपछि नेताहरू सुदूरपश्चिम फर्किए । प्रदेश राजनीति र पार्टीभित्र विवाद सुल्झाउनुपर्ने त्यति अर्थपूर्ण छलफल गुन्डुमा हुँदा महासचिव शंकर पोखरेल सहित कोही पदाधिकारी थिएनन् ।

शुक्रबार त्यस्तै अर्को दृष्य सार्वजनिक भयो । एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त भइन् । एमाले संसदीय दलको विधानतः प्रतिनिधि सभा दलका नेताले राष्ट्रिय सभाका नेता र सचेतक नियुक्त गर्न सक्छन् । तर मेचेलाई नियुक्ति दिलाउने निर्णय गुन्डुमा भयो, र ओलीबाट पत्र बुझेको तस्वीर सार्वजनिक भयो ।

स्रोतका अनुसार मेचेलाई नियुक्तिपत्र दिँदा उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्या अर्याल, राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम दंगाल लगायत गुन्डुमै थिए । ओलीकै निर्णय अनुसार थापाले मेचेलाई सचेतक नियुक्त गरेको थिए ।

किनकि थापाका हरेक अभिव्यक्ति र निर्णय ओलीको पक्षमा छन् । ओलीले पनि थापालाई संसदीय दलको नेता बनाउनेदेखि कार्यबाहक अध्यक्ष सम्म दिइसके । त्यसैले ओलीले आफ्नै स्वकीय सचिव रहेकी मेचेलाई सचेतक बनाउने निर्णय लिएको अनुमान लगाउन सकिन्छ ।

रोशनी मेचेलाई बधाई दिँदै केपी शर्मा ओली र रामबहादुर थापा बादल ।

अर्थात पार्टी गतिविधिदेखि राष्ट्रिय राजनीतिक एजेण्डाहरूमा ओलीको सक्रियता बढेको छ । तर पदाधिकारीहरूले सार्वजनिक रुपमै राखिरहेको निर्वाचन समीक्षा बैठक राख्न भने ओलीको चासो दिएका छैनन् ।

एक पदाधिकारीका अनुसार समीक्षा बैठक राख्ने भनेका ओलीले सारेको सार्यै छन् । ‘हिजो मात्रै शेरधन राईलाई मातृशोक पर्‍यो, अध्यक्षले शेरधन फर्केपछि बैठक बस्नुपर्छ भन्नुभयो भन्ने सुनेँ,’ उनी भन्छन्, ‘यसै बैठक राख्ने समय सर्दै गएको छ ।’

निर्वाचनको अन्तिम मतपरिणाम नआइसक्दै ओली पितृशोकमा परे । २९ फागुनमा पितृशोकमा परेका ओलीलाई १४ चैतमा सरकारले गिरफतार गर्‍यो । अदालतको आदेशमा २६ चैतमा ओली छुटे ।

तर, हिरासतकै क्रममा अस्पताल भर्ना हुँदा थाहा भएको पित्तथैलीको शल्यक्रिया गर्ने निर्णय ओलीले लिए । शल्यक्रियापछि ३ वैशाखमा ओली गुन्डु फर्किए ।

हिरासतमा, अस्पतालमा र शोकमा बस्दा पनि ओलीले भेटवार्ता भने कायम राखेका थिए । भेटका क्रममा एमालेका पदाधिकारीहरूले समीक्षा बैठक राख्नदेखि नेतृत्व छोड्न समेत प्रस्ताव गरिरहेका छन् ।

उच्च स्रोतका अनुसार १३ चैतमै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ओलीलाई नेतृत्व छोडेर पार्टी पुनर्गठनको बाटो खुला गरिदिन प्रस्ताव राखेका थिए ।

त्यस यताका हरेकजसो भेटहरूमा पौडेलले ओलीलाई आफ्नो अडान राखिरहेका छन् । नेताहरुका अनुसार यो प्रस्तावमा महासचिव शंकर पोखरेलको समेत साथ छ ।

गिरफतारीमा पर्नुअघि महासचिव पोखरेललाई ओलीले गुन्डु बोलाएरै धारणा बुझेका थिए । तर महासचिव पोखरेलले ‘अब साथ दिन सकिन्न’ भन्ने जवाफ फर्काएपछि ओली सकेसम्म पार्टी बैठक टार्ने नीतिमा रहेको नेताहरुको बुझाइ छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?