News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ए क्रिकेट टोलीले अमेरिकासँगको अभ्यास एकदिवसीय खेलमा ७ रनले रोमाञ्चक जित हासिल गरेको छ।
- सन्दीप जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाएर शतक प्रहार गरे।
- नेपाल ए ले स्कटल्यान्ड र अमेरिकालाई पराजित गर्दै जारी शृङ्खलामा क्लिन स्वीप गरेको छ।
२८ वैशाख, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले अमेरिकासँगको अभ्यास एकदिवसीय खेलमा रोमाञ्चक जित हासिल गरेको छ । सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ७ रनको रोमाञ्चक जित निकालेको छ ।
नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिका ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो । शेहान जयसूर्याले ७१ रन बनाए भने शुभम रन्जानेले ४७ तथा शयान जहांगिरले ४१ रन बनाए ।
अमेरिकालाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो र अन्तिम विकेट मात्र बाँकी थियो । स्ट्राइकमा सेट ब्याटर शेहान जयसूर्या थिए । पहिलो बल शेरले वाइड फाले भने दोस्रो बलमा शेहान ठूलो शट खेल्ने क्रममा लङअनमा क्याच आउट भए ।
नेपालका लागि शेर मल्लले ७.१ ओभरमा ३० रन दिएर ४ विकेट लिए । बसिर अहमदले ३ तथा शाहब आलम र पवन सर्राफले १-१ विकेट लिए । एक विकेट भने रनआउटबाट थियो । यस हिसाबले नेपाली स्पीनरले ९ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए ४९.५ ओभरमा २६४ रनमा अलआउट भएको थियो । सन्दीप जोराले शतक प्रहार गरे । जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाए । बसिर अहमदले ३८, मयन यादवले २४ तथा पवन सर्राफले २० रन बनाए ।
नेपाल ९७-४ को अवस्थामा हुँदादेखि जोरा र बसिर मिलेर ९९ रनको साझेदारी गरेका थिए ।
अमेरिकाका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन मात्र दिएर ३ विकेट लिए । जसदीप सिंह, शुभम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगारकरले १-१ विकेट लिए ।
नेपालले यसअघि स्कटल्यान्डसँगको दुवै अभ्यास खेल जितेेको थियो भने अमेरिकालाई पनि पहिलो अभ्यास खेलमा हराएको थियो ।
जोराको लय
सन्दीप जोराले नेपाल ए बाट पछिल्लो समय राम्रो लय देखाएका छन् । उनले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि ८३ रनको अविजित स्कोर बनाएका थिए । उक्त खेलमा वर्षा बाधक बनेपनि डीएल पद्धति अनुसार नेपाल विजयी भएको थियो । यद्यपी जोराले शतक भने मिस गरे । तर आज भने उनले त्यही लय दोहोर्याउँदै शतक प्रहार गरे ।
जोराले त्यसअघि अमेरिका विरुद्ध ३६ अनि स्कटल्यान्डविरुद्ध ३४ रन बनाएका थिए । सुरुका दुई खेलमा इनिङ ठूलो बनाउन नसकेपनि जोराले बाँकी दुई खेलमा भने राम्रो लय देखाउँदै अर्धशतक अनि शतक प्रहार गरेका हुन् ।
जोराले टिमका लागि योगदान दिन पाउँदा खुसी लागेको बताएका छन् । ‘रन लागिरहेको पनि छ, सबैले राम्रो खेलिरहेका छन् । योगदान दिन पाउँदा खुसी छु’ जोराले भने ।
नेपाल ए को क्लिन स्वीप
नेपाल ए ले जारी शृङ्खला क्लिन स्वीप समेत गरेको छ । नेपालले स्कटल्यान्ड र अमेरिका दुवैलाई हरायो । पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा अमेरिकालाई ३ विकेटले पराजित गर्यो ।
यस्तै तेस्रो खेलमा नेपाल ए ले स्कटल्यान्डमाथि डीएल पद्धति अनुसार ९ रनको जित हासिल गरेको थियो । नेपालले यसअघि ओमानलाई पनि एक खेलमा हराएको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ




प्रतिक्रिया 4