News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले प्रेमनाथ यादव हत्या र श्यामसुन्दर शर्मामाथिको गोली प्रहार दुवै घटनामा एउटै भारतीय सुटर संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ।
- पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले बताए।
२८ वैशाख, सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय सिरहाले हत्या तथा ज्यान मार्ने उद्योगको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरीका अनुसार २०८२ फागुन १६ गते सिरहा नगरपालिका–७ बाँसघारीमा २८ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो।
घटनापछि खटिएको अनुसन्धान टोलीले घटनास्थलबाट गोलीको खोका बरामद गर्नुका साथै बीटीएस, सीडीआर, सीसीटीभी फुटेज र अन्य प्राविधिक प्रमाणहरूको विश्लेषण गरेको थियो।
तीन जना भारतीय नागरिकसहित केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा उपेन्द्र यादव पक्राउ परेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पारिवारिक विवाद र पुरानो रिसिइबीका कारण उपेन्द्र यादवले भारतीय सुटरको सहयोगमा करिब ३ लाख रुपैयाँ सुपारी दिएर हत्या गराउने योजना बनाएको खुलेको छ। त्यसमध्ये १ लाख रुपैयाँ पहिले नै दिइसकेको र बाँकी रकम दिन बाँकी रहेको प्रहरीको भनाइ छ।
त्यस्तै, औरही गाउँपालिका–५ स्थित जितिया मन्दिरका पुजारी ५५ वर्षीय श्यामसुन्दर शर्मालाई बाहिरबाट ढोकाको चुकुल लगाई झ्यालबाट टाउकोमा गोली प्रहार गरी गम्भीर घाइते बनाइएको घटनामा पनि एक अभियुक्त पक्राउ परेका छन्।
प्रहरीका अनुसार पारिवारिक रिसिइबीकै कारण हरि ठाकुरले भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर पुजारीमाथि गोली प्रहार गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले प्रेमनाथ यादव हत्या र श्यामसुन्दर शर्मामाथिको गोली प्रहार दुवै घटनामा एउटै भारतीय सुटर संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ।
नेपाली नागरिकहरूले नै बिचौलियाको भूमिका निर्वाह गर्दै भारतबाट सुटर बोलाएर घटना गराएको प्रहरीको दाबी छ।
हाल फरार रहेका सुटर तथा घटनाको ‘डिल’ मिलाउने अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले बताए ।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया 4