News Summary
Generated by OK AI. Editorially reviewed.- चौविसे गाउँपालिकाले चार दशकदेखि राष्ट्रियस्तरका पुरुष र महिला फुटबल खेलाडी उत्पादन गर्दै आएको छ।
- वैशाख १८ देखि २२ गतेसम्म चौविसेमा १३औं रारा गोल्डकप फुटबल प्रतियोगिता आठ टिमको सहभागितामा सम्पन्न भएको छ।
- प्रतियोगिताको फाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लब विजयी हुँदै सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।
धनकुटा, २७ वैशाख । धनकुटा खेलकुदका लागि सदैव परिचित रहँदै आएको छ । धनकुटा सदरमुकाममा ए डिभिजन खेलाडी आवद्ध भएको सहिद भीमनारायण श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता र चौविसे गाउँपालिकाको केन्द्र राजारानीमा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।
यस्तै सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रदेश स्तरीय महिला फुटबल हरेक वर्ष सञ्चालन हुँदै आएका छन् । तर फुटबलको मामलामा यस जिल्लाको चौविसे गाउँपालिका विशेष मानिन्छ । चार दशकभन्दा बढी समयदेखि राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको चौविसेले पुरुष र महिला फुटबल दुवैमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
यस गाउँपालिकाले राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ, उमेर समूहका राष्ट्रिय टिम सदस्य बुद्ध चेम्जोङ, राष्ट्रिय महिला टिमकी खेलाडी सिर्जना चेम्जोङ, र विभागीय टिम नेपाल पुलिस क्लबका अनुप लिम्बू जस्ता खेलाडीहरूलाई जन्माएको छ ।
किरण चेम्जोङले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत चौविसेको नाम चम्काएका छन् भने हालका युवा खेलाडीहरू दिलेन चेम्जोङ, प्रतिस मगर र धिरेन विश्वकर्मा अण्डर–१७ राष्ट्रिय टिमबाट मैदानमा देखिन थालेका छन् ।
रारा फुटबल क्लबका अध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष मणि चेम्जोङ भन्छन्, ‘यी खेलाडीहरु केवल उदाहरण मात्र हुन् । चौविसेले अझ धेरै प्रतिभाशाली खेलाडी उत्पादन गरेको छ ।’
खेलाडी उत्पादनमा स्थानीय साना प्रतियोगिता र रारा फुटबल प्रतियोगिताको ठूलो योगदान रहेको छ । उत्कृष्ट खेलाडीहरू उत्पादन भएपछि रारा फुटबल क्लबले पनि राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयार रहँदै आएको छ ।

खेलाडीहरूले धनकुटा सहित चौविसेको नाम राखेको चेम्जोङ बताउँछन् । खेलाडी उत्पादन हुनुमा गाउँमा हुने साना प्रतियोगितादेखि रारा फुटबल प्रतियोगिताको सहयोग रहेको छ भने राम्रा खेलाडी उत्पादन भएपछि रारा फुटबल क्लब पनि राष्ट्रियस्तरका प्रतियोगिता समेत गराउँदै आएको छ ।
यही क्रममा चौविसे गाउँपालिकाको केन्द्र राजारानीमा यही वैशाख १८ देखि २२ गतेसम्म जिल्लाकै ठूलो पुरस्कार राशीसहित १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
आयोजक रारा फुटबल क्लबका अनुसार प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । जसमा आयोजकसहित मोरङको केराबारी फुटबल क्लब, उदयपुरको गाईघाट युनाइटेड क्लब, धनकुटाको डाडाँबजार फुटबल क्लब, सिराहाको सलहेस युथ क्लब, झापाको बिर्तामोड युनाइटेड क्लब, काठमाण्डौको आरआई एफसी र सुनसरीको धरान फुटबल क्लब रहेका थिए ।
आयोजक रारा फुटबल क्लबले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा खेलाडी मैदान उतारेको थियो । धेरै समयपछि गाउँका साथीभाइ तथा समर्थकका बीचमा प्रत्यक्ष रुपमा खेल खेल्न पाउँदा उत्साहित बनेको राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले बताए । उनले यो अवसर जुराउने रारा फुटबल क्लब र स्थानीय समर्थक प्रति आभार व्यक्त गर्दै गाउँको खेलको विकासको लागि आफूले सकेको सहयोग संधैभरि गरि रहने प्रतिबद्धता जनाए ।
प्रतियोगिताको फाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लब विजयी हुँदै नगद सात लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । आयोजक रारा फुटबल क्लब उपविजेता बन्दै तीन लाख रुपैयाँसहित पुरस्कृत भएको थियो ।

यस्तै उदयीमान खेलाडी आयोजक टिमका लोकेन्द्र चेम्जोङ घोषित भए । त्यसैगरी उत्कृष्ट गोलकिपर झापाका अभिषेक बराल, प्रतियोगिताभर ४ गोल गर्दै झापाका राजेश दाहाल सर्वाधिक गोलकर्ता बन्न सफ भए । उनिहरुले जनही नगद ११ हजार रुपियाँ र ट्रफी प्राप्त गरे ।
यस्तै सर्वोत्कृष्ट खेलाडी राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर समेत रहेका आयोजक टिमका खेलाडी किरण चेम्जोङ घोषित भए । उनले नगद २५ हजार रुपियाँसहित ट्रफी प्राप्त गरेका थिए ।
चौविसे गाउँपालिकाले खेलकुदमा लगानी गर्दै आएको छ । गाउँपालिका उपाध्यक्ष टंकमाया पाङ्मी मगरका अनुसार, गत वर्ष रारा फुटबल प्रतियोगिताको अक्षय कोषका लागि २५ लाख रुपैयाँ सहयोग गरिएको थियो भने यस वर्ष १४ लाख रुपैयाँ सहयोग गरिएको छ ।
प्रतियोगिता हुने पुण्य माविको खेलमैदानको स्तरोन्नति र प्रत्येक वडामा कम्तीमा एउटा खेलमैदान निर्माण गर्ने नीति पनि कार्यान्वयनमा रहेको छ । यस्तै हरेक वडामा हुने प्रतियोगितामा गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ ।
खेलकुदमा लगानीले चौविसेमा खेल पर्यटनको सम्भावना बढाएको छ । वडा र राष्ट्रिय स्तरका प्रतियोगितामा यहाँ दर्शकहरूको घुइँचो सदैव देख्न पाइन्छ । यसपटकको रारा गोल्डकपको फाइनलमा टिकट बिक्रीबाट करिब १० लाख रुपैयाँ आम्दानी भएको आयोजक रारा फुटबल क्लबले जनाएको छ । अन्य दिनमा करिब ५ लाखको टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
चौविसे गाउँपालिकामा खेलकुदमा लगानीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै खेल पर्यटनको सम्भावना थप बढाएको छ । वडा स्तरीय होस् वा राष्ट्रिय स्तरका प्रतियोगिता, दर्शकहरूको घुइँचो यहाँ सधैं देख्न पाइन्छ ।
वडादेखि जिल्लाकै प्रतिष्ठित प्रतियोगिता हुँदा आगन्तुक दर्शक तथा खेलप्रेमीका कारणले स्थानीय व्यवसाय र व्यापारमा समेत सकारात्मक प्रभाव पार्दै आएको छ । यसपटकको रारा गोल्डकपको फाइनलमा करिब ८ हजार दर्शक राजारानी बाहिरबाट आएको अनुमान गरिएको छ । जसले गर्दा राजारानीलाई पर्यटक धान्न निकै मुस्किल परेको थियो ।
यसरी हेर्दा चौविसे गाउँपालिकामा फुटबल केवल खेल नभई पहिचान पनि बन्दै गएको स्थानीयको भनाइ छ । रारा फुटबल क्लबका सचिव जीवन कटुवालका अनुसार चौविसेमा फुटबल अब केवल खेल मात्र नभई गाउँको पहिचान र गौरव बन्ने दिशामा अघि बढिरहेको छ ।

प्रतिक्रिया 4