News Summary
Generated by OK AI. Editorially reviewed.- गट हेल्थमा खराब खानपान, तनाव र बारम्बार एन्टिबायोटिक प्रयोगले ठूलो असर पारिरहेको छ भने स्वास्थ्य विज्ञानले गट हेल्थलाई समग्र स्वास्थ्यको आधार भनेको छ।
- प्रिबायोटिक्स जीवित राम्रा ब्याक्टेरिया हुन् भने प्रिबायोटिक्स पचाउन नसक्ने फाइबरयुक्त तत्व हुन्, यी दुवै गट माइक्रोबायोम सन्तुलित बनाउन अनिवार्य पूरक हुन्।
आजभोलिको व्यस्त जीवनशैली, खराब खानपान, तनाव र बारम्बार एन्टिबायोटिकको प्रयोगले हाम्रो गट हेल्थमा ठूलो असर पारिरहेको छ । समग्र स्वास्थ्यको आधार नै गट हेल्थ हो भन्ने कुरा स्वास्थ्य विज्ञानले स्पष्ट रूपमा भन्न थालेको छ ।
हाम्रो गटमा धेरै मात्रामा ‘माइक्रोब्स’ ब्याक्टेरिया, फंगी, भाइरस आदि बस्छन्, जसलाई गट माइक्रोबायोम भनिन्छ । यो माइक्रोबायोमले पाचन प्रक्रिया, रोग प्रतिरोधक क्षमता, मुड, मानसिक स्वास्थ्य, तौल नियन्त्रण, हृदय स्वास्थ्य, छाला र यहाँसम्म कि मस्तिष्कको कार्यसमेत नियन्त्रण गर्छ ।
गट हेल्थ राम्रो बनाउन प्रिबायोटिक्स र प्रोबायोटिक्सको चर्चा अहिले सर्वत्र छ । तर धेरैलाई एउटा मुख्य प्रश्नले सताउँछ यी दुवैमध्ये कुन बढी महत्त्वपूर्ण छ ? प्रिबायोटिक्स कि प्रोबायोटिक्स ?
उत्तर सरल छैन । वास्तवमा यी दुवै एकअर्काका विकल्प होइनन्, बरू अनिवार्य पूरक हुन् । एउटाले अर्काको काममा मद्दत गर्छ । प्रोबायोटिक्सले राम्रा ब्याक्टेरिया ‘रोप्छ’ भने प्रिबायोटिक्सले तिनलाई ‘पोषण’ दिन्छ र बढ्न मद्दत गर्छ ।
प्रिबायोटिक्स र प्रोबायोटिक्स के हुन् ?
प्रोबायोटिक्स जीवित ‘राम्रा ब्याक्टेरिया’ वा यिस्ट हुन् जुन सिधै गटमा पुगेर माइक्रोबायोमलाई सन्तुलित बनाउँछन् । उनीहरूले हानिकारक ब्याक्टेरियासँग प्रतिस्पर्धा गर्छन्, पाचन सुधार्छन् र रोगप्रतिरोधि क्षमता बढाउँछन् ।
प्रिबायोटिक्स पचाउन नसक्ने फाइबरयुक्त तत्व जस्तै इनुलिन, फ्रुक्टो–ओलिगोसाकाराइड्स हुन् जसले गटमा पहिले नै भएका राम्रा ब्याक्टेरियालाई खानाको रूपमा काम गर्छन् । यसले राम्रा ब्याक्टेरियाको संख्या र क्रियाकलाप बढाउँछ ।
सिनबायोटिक भनेको चाँहि प्रिबायोटिक्स र प्रोबायोटिक्सको संयोजन हो, जसले अझ राम्रो परिणाम दिन्छ किनकि प्रिबायोटिक्सले प्रोबायोटिक्सलाई जीवित रहन र प्रभावकारी रूपमा काम गर्न मद्दत गर्छ ।
दुवै किन आवश्यक छ ?
केवल प्रोबायोटिक्स मात्र खाँदा स्थायी फाइदा हुँदैन यदि गटमा तिनलाई खान दिने प्रिबायोटिक्स (फाइबर) नभएमा । धेरै प्रोबायोटिक्स गटमा पुग्नुअघि नै मर्न सक्छन् ।
यदि राम्रा ब्याक्टेरियाको संख्या नै कम छ भने केवल प्रिबायोटिक्स मात्र खाँदा फाइदा सीमित हुन्छ । जस्तै लामो समय एन्टिबायोटिक प्रयोग गरेपछि यस्तो समस्या हुन सक्छ ।
दुवैको संयोजनले गट बारियर बलियो बनाउँछ, सुन्निने समस्या घटाउँछ, छोटो अवधिको फ्याटी एसिड उत्पादन बढाउँछ जसले कोलोनका कोषहरूलाई पोषण दिन्छ र समग्र स्वास्थ्य सुधार्छ ।
अन्य फाइदाहरू
-राम्रो पाचन र कब्जियत घटाउने
-रोगप्रतिरोधी प्रणाली मजबुत बनाउने
-एलर्जी, एक्जिमा कम गर्ने विशेष गरी बच्चाहरूमा
-मुड र मानसिक स्वास्थ्य सुधार गर्ने
-तौल नियन्त्रण र मेटाबोलिज्ममा सहयोग गर्ने
प्रोबायोटिक्सयुक्त खानेकुरा
दही, मोही
फर्मेन्टेड खानेकुरा : गुन्द्रुक, तामा, किम्ची, ओइजी, अचार कम्बुचा, आदि
पेस्टुराइज्ड फर्मेन्टेड फुडमा भने जीवित ब्याक्टेरिया कम हुन सक्छन् ।
प्रिबायोटिक्सयुक्त खानेकुरा
फलफूल : केरा, स्याउ, जामुन
तरकारी : लसुन, प्याज, चुकन्दर
अनाज : ओट्स, जौ, गहुँ, चिया सिड, फ्लेक्स सिड, दाल
ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा
-सन्तुलित आहार सबैभन्दा राम्रो हो । सप्लिमेन्टभन्दा खानाबाट पोषण लिनुपर्छ ।
-धेरै फाइबर एकैचोटि खाँदा ग्यास वा ब्लोटिङ हुन सक्छ त्यसैले क्रमिक रूपमा बढाउनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ किनकी फाइबरले पानीसँग काम गर्छ ।
-सन्तुलित र स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । नियमित व्यायाम, पर्याप्त निद्रा, तनाव कम गर्नु र एन्टिबायोटिकको आवश्यकताबिना प्रयोग नगर्नु पनि महत्वपूर्ण हुन्छ ।
-गम्भीर समस्या जस्तो आईबीएस, आईबीडी, एन्टिबायोटिकसँग सम्बन्धित पखाला भएमा डाक्टर वा ग्यास्ट्रोएन्टेरोलोजिस्टसँग सल्लाह लिनुपर्छ । केही प्रकारका प्रोबायोटिक्स विशेष रोगमा प्रभावकारी हुन्छन् ।
राम्रो गट हेल्थका लागि ‘प्रिबायोटिक्स वा प्रोबायोटिक्स’ होइन, बरु ‘प्री र प्रोबायोटिक्स’ को संयोजन बढी प्रभावकारी हुन्छ । दैनिक आहारमा दही÷मोही जस्ता प्रोबायोटिक्स र फलफूल–तरकारी–फाइबरयुक्त खानेकुरा समावेश गर्दा लामो समयसम्म गट हेल्थ राम्रो रहन्छ, र समग्र स्वास्थ्यमा सुधार आउँछ । स्वस्थ आहार, सक्रिय जीवनशैली र नियमितता नै गट हेल्थको सबैभन्दा राम्रो आधार हो ।
प्रतिक्रिया 4