News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ मा पूर्वी पहाडी जिल्लामा रेड पान्डा संरक्षणका लागि ६ करोड ५५ लाख ५३ हजार २२७ रुपैयाँ खर्च गरिने भएको छ।
- इलाम, पाँचथर र ताप्लेजुङका ४२ सामुदायिक वन र दुई राष्ट्रिय वनमा रेड पान्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।
- रेड पान्डा संरक्षणका लागि वृक्षरोपण, अनुसन्धान, विद्यालय शिक्षासहित विभिन्न कार्यक्रम स्थानीय साझेदार संस्थासँग मिलेर भइरहेको छ।
२९ वैशाख, पाँचथर । पूर्वी पहाडी जिल्लामा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यका लागि सन् २०२६ मा ६ करोड ५५ लाख ५३ हजार २२७ रुपैयाँ खर्च गरिने भएको छ ।
रेड पान्डा नेटर्वकले स्थानीय साझेदार संस्थासँग मिलेर इलाम, पाँचथर र ताप्लेजुङ (पीआईटी) मा यो वर्ष उक्त बजेट खर्च गर्न लागेको हो ।
तीन जिल्लाका ४२ सामुदायिक वन र दुई राष्ट्रिय वनमा रेड पान्डा संरक्षणमा उक्त रकम खर्चिने भएको हो । जस अनुसार पाँचथरका लागि १ करोड ६३ लाख २४ हजार बजेट छुट्याइएको छ ।
जिल्ला परियोजना सल्लाकार समितिको बैठक तथा परियोजना सुनाइ आयोजना गरी रेड पान्डा संरक्षणको अवस्थाबारे जानकारी गराइएको थियो । सन् २०२५ पाँचथरमा ७१ लाख ९८ हजार रुपैयाँ खर्च भएको थियो ।
१८ वर्ष अघिदेखि ती तीन जिल्लामा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यक्रम सुरु गरिएको थियो । अहिले नेपालका १३ जिल्लामा संरक्षण कार्यक्रम भइरहेको छ ।
तीन जिल्लामा रहेका रेड पान्डाका प्राकृतिक बासस्थान संरक्षण, समुदायलाई सचेतना तथा परिचालन, वृक्षरोपण, विद्यालयमा संरक्षण शिक्षा, अध्ययन अनुसन्धान लगायतका काम भइरहेको रेड पान्डा नेटवर्कले जानकारी दिएको छ ।
‘विशेषगरी रेड पान्डाको वन व्यवस्थापन, अनुसन्धान, विद्यालय शिक्षाको क्षेत्रमा काम गरिरहेको छ,’ नेकवर्टकका परियोजना संयोजक वाङचु भुटियाले भने, ‘खण्डीकरण भएको बासस्थान पहिचान गरेर वृक्षारोपणमार्फत जोड्ने काम भइरहेको छ । वृक्षरोपणलाई प्राथमिकता दिएका छौँ ।’
नेपालसहित विश्वका पाँच देशमा मात्र पाइने संकटापन्न वन्यजन्तु संरक्षणका कार्यक्रम, रेडपान्डासँग जोडिएका विभिन्न महोत्सव, कार्यक्रम, अध्ययन अनुसन्धानसमेत बढिरहेको छ ।
इलाममा पान्डा हेर्न विदेशबाट समेत पर्यटक आउने गरेका छन् । रेड पान्डा पाउने सामुदायिक वनमा स्थानीय वैज्ञानिकको रूपमा वन अभिभावक राखिएको छ । पाँचथरमा १४, इलाममा १८ र ताप्लेजुङमा २१ जना वन अभिभावक छन् । पूर्वका तीन जिल्लामा रेड पान्डा संरक्षणको स्थानीय गैरसरकारी सस्थासँग मिलेर कार्यक्रम भइरहेको छ ।
‘इलामको जौवारीमा ८०० रोपनी जग्गामा वृक्षरोपण गरिरहेका छौँ । पाँचथरमा सन् २०२५ मा ७ हजार ६३२ बिरुवा रोपेका थियौं । सन् २०२६ मा ५३ हजार बिरुवा रोप्ने तयारीमा छौँ । जैविक मार्गको विकासका लागि सुहाउँदो बिरुवा रोप्ने, संरक्षण गर्ने काम भइरहेको छ,’ श्री दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले भने, ‘बासस्थान संरक्षण, अध्ययन अनुसन्धान, सचेतनामूलक कार्यक्रम भइरहेको छ । रेड पान्डा जोगाउन समुदाय स्तरबाटै सचेतना बढेको छ । यो अत्यन्त सकारात्मक कुरा हो ।’
नेपालका २५ जिल्लामा रेड पान्डा पाइने बताइन्छ । नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, भोजपुर, डोल्पा, रोल्पा रुकुमपूर्व, रुकुम पश्चिम, जाजारकोट, जुम्ला, मुगु, कालीकोटमा रेड पान्डा पाइन्छ ।
नेपालका प्राकृतिक बासस्थानमा रहेका हाब्रे ७५ प्रतिशत निकुञ्ज/आरक्ष तथा संरक्षित क्षेत्र बाहिर रहेको पाइन्छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले हाब्रेलाई सन् १९९४ सालदेखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ । समुद्र सतहदेखि २ हजारदेखि ४ हजार ४०० मिटर उचाइसम्म यो जीव पाइन्छ ।
फोटो क्याप्सन : पाँचथरको फिदिम नगरपालिका–१३ मा खिचिएको रेड पान्डा ।
प्रतिक्रिया 4