+
+
Shares

दुई दशकमा ज्येष्ठ नागरिक दोब्बर बढे, व्यवस्थापनमा गम्भीर हुन सुझाव

नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या द्रुत गतिमा बढेकोले उनीहरुको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा ६० वर्ष माथिको ज्येष्ठ नागरिकको जनसंख्या विगत दुई दशकमा दोब्बर बढेको छ र वृद्धिदर अझै उच्च छ।
  • जनसंख्या अध्ययनका अनुसार नेपालमा ज्येष्ठ नागरिकको वृद्धिदर ३.२ प्रतिशत छ जुन कुल जनसंख्या वृद्धिदर ०.९३ प्रतिशतभन्दा तीन गुणा बढी हो।
  • वृद्ध नागरिकको सामाजिक सुरक्षा र हेरचाहका कार्यक्रम राज्यले व्यापक रुपमा विस्तार गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

२९ वैशाख, काठमाडौं । नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या द्रुत गतिमा बढेकोले उनीहरुको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन् ।

विगत दुई दशकमा नेपालमा ६० वर्ष भन्दा माथीको जनसंख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकोले परिवार र राज्य यसमा गम्भीर हुनुपर्ने सुझाव उनीहरूको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रस्तुतीकरण गरिएका चारवटा छलफल सत्रमा सहभागी विज्ञहरूले अब ज्येष्ठ नागरिकको जनसंख्या गनेर मात्र बस्नु उपयुक्त नुहने बताए ।

त्रिभुवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा.पद्धमप्रसाद खतिवडाले नेपालमा बच्चा पाउने दर कम भएपनि बच्चा पाउने उमेरको जनसंख्या ठूलो भएकोले यो समूह क्रमशः बुढ्यौलीतर्फ प्रवेश गरिरहेकोले नेपालमा आगामी केही दशकसम्म नै ज्येष्ठ नागरिरकको जनसंख्या बढिरहने बताए ।

उनले ज्येष्ठ नागरिकलाई राज्यले हेरचाहन गर्ने सामाजिक सुरक्षाका कार्यक्रम व्यापक रुपमा बिस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याएका छन् ।

त्रिविका पूर्वप्राध्यापक विधान आचार्यले नेपालमा स्वास्थ्य सेवाको उपलब्धता,बढ्दो आर्थिक अवस्था आदिका कारण औसत आयु बढ्दै गएको बताएका छन् । २०३८ सालतिर नेपालीकौ औसत आयु ४९.८ वर्ष रहेकोमा हाल करिब ७० वर्ष पुगेको उनले जानकारी दिए ।

कपन बहुमुखी क्याम्पसका प्रमुख एवं जनसंख्या अध्येता भूमिदत्त पौडेलले २०५८ सालको जनगणनामा ज्येष्ठ नागरिकको जनसंख्या १४ लाख ७७ हजार ३सय ७९ रहेकोमा २०७८ मा यो संख्या दोब्बर भन्दा बढी भएर २९ लाख ७७ हजार ३ सय १८ पुगेको बताए ।

उनका अनुसार नेपालको औसत जनसंख्या वृद्धिदरको तुलनामा ज्येष्ठ नागरिकको वृद्धिदर झन्डै तीन गुणा बढी छ । हाल नेपालको औसत जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ भने ज्येष्ठ नागरिकको वृद्धिदर ३.२ प्रतिशत छ । कुल जनसंख्याको १०.२ प्रतिशत मानिसहरू ६० वर्ष भन्दा माथीको उमेरका छन् ।

जनसंख्या विष्लेषक चेतन अधिकारीले ज्येष्ठ नागरिक र मिडिया कभरेजका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए । अधिकारीको प्रस्तुतिमा ज्येष्ठ नागरिकका समाचार सञ्चार माध्यममा ज्यादै न्यून मात्रामा प्रस्तुत भएको उल्लेख गरिएको थियो ।

सम्मेलनमा जापान,चीन,बंगलादेश लगायतका देशका जनसंख्या शास्त्री तथा प्राध्यापकहरूले आफ्नो देशको ज्येष्ठ नागरिक व्यवस्थापन सम्बन्धी तथ्य तथ्यांक पनि प्रस्तुत गरेका थिए ।

आयोजक प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी र ज्येष्ठ नागरिकसँगै जोडिएर आउने नाम भएकोले यो सम्मेलनको सान्दर्भिकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?