News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सले चर्चित श्रृंखला ‘मनी हाइस्ट’ को नयाँ अध्याय र विभिन्न स्पिन-अफ श्रृंखला ल्याउने घोषणा गरेको छ।
- श्रृंखलाको सर्जक एलेक्स पिनाको निर्माण कम्पनीले ‘कर्नेल तामायो’ को भूमिकामा आधारित चार भागको छोटो श्रृंखला बनाउने तयारी गरेको छ।
- ‘बर्लिन’ सिजन २ को प्रिमियरमा ‘मनी हाइस्ट’ को पुनरागमनको औपचारिक घोषणा अल्भारो मोर्टेले गरेका हुन् र यो सिजन मे १५ मा रिलिज हुँदैछ।
लस एन्जलस । नेटफ्लिक्सले आफ्नो चर्चित श्रृंखला ‘मनी हाइस्ट’ को नयाँ अध्याय आउने घोषणा गरेको छ । यसको एउटा छोटो भिडियो (टिजर) सार्वजनिक गर्दै नेटफ्लिक्सले यसबारे जानकारी दिएको हो ।
सार्वजनिक टिजर र विज्ञप्ति अनुसार, नेटफ्लिक्सले अब एउटा मात्र नयाँ सिजन नभई यस श्रृंखलाको मूल कथासँग जोडिएका विभिन्न पाटो र पात्रहरूमा आधारित रहेर थुप्रै ‘स्पिन-अफ’ श्रृंखला ल्याउने तयारी गरेको छ ।
स्पेनिस भाषामा ‘ला कासा दे पापेल’ नामले चिनिने यो श्रृंखलाको संसार अब झन् ठूलो हुने निश्चित भएको छ ।
नेटफ्लिक्सको विज्ञप्तिमा भनिएको छ, ‘कतिपय कथाहरूको सुरुवात एउटा उत्कृष्ट प्रहारबाट हुन्छ, जसले सबै कुरा परिवर्तन गरिदिन्छ । नगदका लागि गरिएको पहिलो डकैतीदेखि लिएर बैंक अफ स्पेनको सुन दाउमा लगाइएको शताब्दीकै सबैभन्दा कलात्मक चोरीसम्म, ‘मनी हाइस्ट’ को संसार सधैं विस्तारित, विकसित र रोमाञ्चक रहिआएको छ ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘तर एउटा कुरा प्रष्ट छ- यो क्रान्ति कहिल्यै रोकिने छैन । अबदेखि ‘मनी हाइस्ट’ को संसारका हरेक गतिविधिका लागि यो नै मुख्य नियन्त्रण केन्द्र (मिसन कन्ट्रोल) हुनेछ । यदि तपाईं हाम्रो अर्को योजनामा सामेल हुन चाहनुहुन्छ र यो समूहको कुनै पनि चाल छुटाउन चाहनुहुन्न भने, यहीँ जोडिनुहोला । नेटफ्लिक्समा ‘मनी हाइस्ट’ को यात्रा जारी छ ।’
यो टिजर सार्वजनिक भएपछि समर्थक माझ अब आउने भागहरू कुनै विशेष पात्रमा आधारित ‘स्पिन-अफ’ हुन् वा ‘मनी हाइस्ट’ को छैटौं सिजन नै हो भन्ने विषयमा चर्चा सुरु भएको छ ।
टिजरको अन्तिम दृश्यमा जमिनमुनिबाट सुनको इँटा निकालिएको देखाइएको छ, जसले दर्शकको खुल्दुली झन् बढाएको छ । स्पेनी पत्रिका ‘एल पाइस’ले त गत महिना नै यसका सर्जक एलेक्स पिनाको निर्माण कम्पनीले ’कर्नेल तामायो’ को भूमिकामा आधारित रहेर चार भागको एउटा छोटो श्रृंखला खिच्न लागेको खबर सार्वजनिक गरिसकेको छ ।
‘मनी हाइस्ट’ को पुनरागमनको यो औपचारिक घोषणा यो श्रृंखलामा ’प्रोफेसर’ को भूमिका निर्वाह गर्ने प्रसिद्ध कलाकार अल्भारो मोर्टेले शनिबार सेभिलमा आयोजित ’बर्लिन’ सिजन २ को प्रिमियरका क्रममा गरेका हुन् । ’बर्लिन’ को दोस्रो सिजन आगामी मे १५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4