News Summary
Generated by OK AI. Editorially reviewed.- लोकतन्त्रमा चुनाव, बहुमत र जनसमर्थन आधार हुन् र जनमतले सरकार गठन र नीति निर्धारण गर्छ।
- अनियन्त्रित बहुमतले अल्पमतको अधिकार कमजोर पार्दै निरङ्कुशताको ढोका खोल्न सक्छ।
- स्वतन्त्र न्यायपालिका, प्रेस, नागरिक स्वतन्त्रता र सङ्घीय सन्तुलन लोकतन्त्रको रक्षा गर्ने मुख्य सुरक्षा कवच हुन्।
चुनाव, बहुमत र जनसमर्थन लोकतन्त्रका आधार हुन्। यसैले लोकतन्त्रलाई जनताको शासन मानिन्छ। देश कसरी चल्ने, कसले शासन गर्ने र कस्तो नीति अपनाइने भन्ने निर्णय जनमतले निर्धारण गर्छ। यही कारण लोकतन्त्रमा चुनावलाई अत्यन्त महत्त्वपूर्ण प्रक्रिया मानिन्छ। चुनावमार्फत नागरिकहरूले आफ्ना प्रतिनिधि चयन गर्छन् र राज्य सञ्चालनको जिम्मेवारी सुम्पिन्छन्।
जनताको मतबाट बनेको सरकारलाई वैधानिक र स्वीकार्य मानिन्छ, किनकि त्यो जनमतको प्रतिनिधित्व हो। लोकतन्त्रमा बहुमतको अवधारणा पनि यही कारण महत्त्वपूर्ण हुन्छ। समाजमा फरक-फरक विचार, दल र स्वार्थ हुन्छन्। फरक-फरक विचार एउटै हुन सम्भव हुँदैन। त्यसैले निर्णय प्रक्रियामा बहुमतलाई आधार बनाइन्छ। जुन दल वा नेतृत्वले बहुमत प्राप्त गर्छ, उसले सरकार बनाउने अवसर पाउँछ। यही कारण सामान्य बुझाइमा जति ठूलो जनमत, त्यति बलियो लोकतन्त्र मानिन्छ।
लोकतन्त्रमा जनमत नै सबैभन्दा ठूलो शक्ति हो भने किन यही जनमत कहिलेकाहीँ निरङ्कुशताको आधार बन्छ ? आउनुहोस्, यो प्रश्नको जवाफ खोजौं ।
लोकतन्त्र केवल बहुमतको शासन होइन, अल्पमतको अधिकार, असहमतिको सम्मान, स्वतन्त्र प्रेस, न्यायपालिका र संविधानको सीमाभित्र सञ्चालन हुने व्यवस्था पनि हो। त्यसैले ठूलो जनमत लोकतन्त्रको शक्ति हुन सक्छ, तर त्यो शक्ति संस्थागत सन्तुलनभित्र रहँदा मात्र लोकतान्त्रिक रहन्छ। यदि बहुमतलाई नै अन्तिम सत्य मानियो र जनसमर्थनलाई कानुन तथा संस्थाभन्दा माथि राखियो भने लोकतन्त्रको यही शक्ति क्रमशः निरङ्कुशतामा बदलिन सक्छ।
सबैभन्दा पहिला कमजोर हुने कुरा ‘असहमतिको सम्मान’ हो। लोकतन्त्रमा असहमति राष्ट्रविरोध होइन; त्यो लोकतन्त्रको प्राण हो। तर जब सरकार आफूलाई नै राष्ट्रको प्रतिनिधि ठान्न थाल्छ, तब सरकारको आलोचना राष्ट्रको आलोचना ठहरिन्छ। पत्रकार ‘देशद्रोही’, बुद्धिजीवी ‘विदेशी एजेन्ट’, विपक्ष ‘राष्ट्रघाती’ घोषित हुन थाल्छन्। यस्तो वातावरणमा डर बिस्तारै राजनीतिक संस्कृतिमा बदलिन्छ। मानिसहरू बोल्नुअघि सोच्न थाल्छन्। आत्मसेन्सरसिप बढ्छ। यही मौनता निरङ्कुशताको वास्तविक शक्ति हो।
राजनीतिक चिन्तक अलेक्सिस द तोक्भिलले आफ्नो पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ मा अनियन्त्रित बहुमतलाई लोकतन्त्रको सबैभन्दा ठूलो खतराको रूपमा बताएका छन्। उनका अनुसार यदि बहुमतले आफूलाई नै पूर्ण सत्य ठान्न थाल्यो भने अल्पमतको अधिकार, आलोचना र वैचारिक स्वतन्त्रता कमजोर हुँदै जान्छ। जब बहुमतले ‘हामी नै राष्ट्र हौँ’ भन्ने मानसिकता विकास गर्छ, तब लोकतन्त्र बिस्तारै शक्ति-केन्द्रित संरचनामा बदलिन थाल्छ।
आधुनिक विश्व राजनीतिमा यही प्रवृत्ति अझ स्पष्ट देखिन्छ। स्टिभेन लेभिट्स्की र ड्यानियल जिब्लाटको ‘हाउ डेमोक्रेसीज डाइ’ पुस्तकले लोकतन्त्रहरू प्रायः सैनिक ‘कू’ वा खुला हिंसाबाट मर्दैनन्, तिनीहरू निर्वाचित सरकारभित्रै बिस्तारै कमजोर हुन्छन् भन्ने कुराको पुष्टि गरेको छ। जस्तै- सन् १९५० देखि हालसम्म विश्वमा पतन भएका अधिकांश लोकतन्त्रहरू प्रत्यक्ष सैनिक शासनबाट होइन, निर्वाचित नेताहरूको शक्ति विस्तारबाट कमजोर भएका छन्।
चुनाव जितेर आएका नेताहरूले सुरुवातमा संविधान, राष्ट्रवाद र जनताको नाम लिन्छन्। उनीहरू आफूलाई ‘जनताको असली प्रतिनिधि’ घोषित गर्छन्। त्यसपछि बिस्तारै न्यायपालिका, प्रेस, विश्वविद्यालय, विपक्ष र प्रशासनमाथि नियन्त्रण बढाउन थाल्छन्।
यसको मूल कारण शक्ति र जनमतबीचको मनोवैज्ञानिक सम्बन्ध हो। जब कुनै नेता वा दलले अत्यधिक जनसमर्थन प्राप्त गर्छ, तब उसलाई आफू केवल सरकार नभई ‘राष्ट्रको इच्छा’ जस्तो लाग्न थाल्छ। आलोचना उसलाई लोकतान्त्रिक प्रक्रिया होइन, व्यक्तिगत हमला वा राष्ट्रमाथिको आक्रमणजस्तो लाग्छ।

गिडियन र्याकम्यानको ‘द एज अफ द स्ट्रङम्यान’ पुस्तकका अनुसार व्यक्तिकेन्द्रित शक्तिशाली नेतृत्वको उदय आकस्मिक होइन। संस्थाभन्दा भावनामा आधारित राजनीतिको कारण निरङ्कुशता शून्यबाट जन्मिँदैन; त्यो सङ्कटको राजनीतिबाट जन्मिन्छ। आर्थिक असुरक्षा, बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता वा राष्ट्रिय अपमानले थाकेको समाज स्थिरता र सुरक्षा खोज्न थाल्छ।
जब लोकतन्त्रले आर्थिक समानता, स्थिरता र न्याय दिन असफल देखिन्छ, अनि जनताहरू प्रक्रियाभन्दा परिणाम रोज्न थाल्छन्। जब मानिसहरू लोकतान्त्रिक प्रक्रियाबाट निराश हुन्छन्, तब उनीहरू स्वतन्त्रताभन्दा कडा नियन्त्रण रोज्न तयार हुन्छन्। जनतालाई लाग्छ, बहस धेरै भयो, अब निर्णायक नेतृत्व चाहिन्छ। यहीँबाट निरङ्कुशताको ढोका खुल्छ।
सङ्कटग्रस्त समाजमा बलियो नेताको माग तीव्र हुन्छ। आर्थिक असुरक्षा, बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता वा राष्ट्रिय अपमानले मानिसलाई निर्णायक नेतृत्व खोज्न प्रेरित गर्छ।
हिटलर सत्तामा आउँदा जर्मनीमा चरम आर्थिक मन्दी थियो। सन् १९३२ सम्म जर्मनीमा करिब ६० लाख मानिस बेरोजगार थिए। प्रथम विश्वयुद्धपछिको अपमान, आर्थिक सङ्कट र राजनीतिक अस्थिरताले जनतामा गहिरो असुरक्षा पैदा गरेको थियो। हिटलरले यही असुरक्षालाई राष्ट्रिय पुनर्जागरणको भाषामा रूपान्तरण गरे। सन् १९३३ मा चान्सलर बनेपछि उनले केही महिनाभित्रै संसद् कमजोर बनाए, विपक्षी दल प्रतिबन्धित गरे र प्रेसमाथि नियन्त्रण स्थापित गरे। लोकतन्त्रको अन्त्य अचानक होइन, क्रमशः भयो।
इटालीमा मुसोलिनीले पनि यही रणनीति प्रयोग गरे। उनले अस्थिरता र राष्ट्रिय अपमानको भावनालाई बलियो राष्ट्रको भाषासँग जोडे। रूसमा पुटिनले सोभियत सङ्घ विघटनपछि उत्पन्न अपमान र असुरक्षालाई रूसी गौरवसँग जोडेर शक्ति केन्द्रित गरे। टर्कीमा एर्दोआनले धार्मिक राष्ट्रवाद र राजनीतिक अस्थिरताको भावनालाई प्रयोग गरे। हङ्गेरीमा भिक्टर ओरबानले इलिबरल डेमोक्रेसीको अवधारणा नै प्रस्तुत गरे, जहाँ चुनाव हुन्छ तर उदार लोकतान्त्रिक मूल्यहरू कमजोर बनाइन्छन्।
यही आधुनिक प्रवृत्तिलाई गिडियन र्याकम्यानले ‘द एज अफ द स्ट्रङम्यान’ भनेका छन्। उनका अनुसार शीतयुद्धपछि विश्वले उदार लोकतन्त्रको विजय भएको ठानेको थियो। तर २१औँ शताब्दीमा विश्वका धेरै देशहरूमा व्यक्तिकेन्द्रित राष्ट्रवादी नेतृत्व पुनः उदाएको छ। यस्तो नेतृत्वले संस्थाभन्दा व्यक्तिलाई केन्द्रमा राख्छ। राष्ट्रलाई नेता र नेतालाई राष्ट्रसँग जोडिन्छ। परिणामतः आलोचना ‘देशविरोध’ मा बदलिन्छ।
आधुनिक निरङ्कुशता पुरानो सैन्य शासनभन्दा अझ जटिल छ। पहिले तानाशाहहरू खुला दमन गर्थे। आजका निरङ्कुश शासकहरू चुनाव गराउँछन्, संविधान कायम राख्छन् र लोकतन्त्रको भाषा नै प्रयोग गर्छन्; तर वास्तविक शक्ति आफूमा केन्द्रित गर्छन्। आज निरङ्कुशता केवल राज्यद्वारा होइन; मिडिया नेटवर्क, डिजिटल प्रचार, आर्थिक गठबन्धन र सूचना नियन्त्रणमार्फत सञ्चालन हुन्छ।
चुनाव जितेर आएका नेता सुरुमा संविधान, राष्ट्रवाद र जनताको नाम लिन्छन्। ‘जनताको असली प्रतिनिधि’ घोषित गर्छन्। बिस्तारै न्यायपालिका, प्रेस, विश्वविद्यालय, विपक्ष र प्रशासनमाथि नियन्त्रण बढाउँछन्।
सामाजिक सञ्जालले आधुनिक निरङ्कुशताको नयाँ उपकरणको रूपमा काम गरेको छ। डिजिटल प्लेटफर्महरूले भावनात्मक ध्रुवीकरण तीव्र बनाएका छन्। गलत सूचना, षड्यन्त्र सिद्धान्त र राष्ट्रवादी प्रचारले समाजलाई विभाजित बनाउँदै गएको छ।
हाना आरेन्टले आफ्नो प्रसिद्ध कृति ‘द ओरिजिन्स अफ टोटालिटेरियनिज्म’ मा ‘जब मानिसहरूले सत्य र असत्यबीच भिन्नता छुट्याउन छोड्छन्, तब निरङ्कुशता बलियो हुन्छ’ भन्ने तर्क पेस गरेकी छन्।
नेपालजस्तो सङ्क्रमणशील लोकतन्त्रमा यो बहस झन् महत्त्वपूर्ण हुन्छ। जब परम्परागत राजनीतिक दलहरूबाट जनतामा निराशा बढ्छ, तब समाज वैकल्पिक र आक्रामक नेतृत्वतर्फ आकर्षित हुन्छ। यही मनोविज्ञानका कारण स्वतन्त्र, स्पष्ट बोल्ने र सिस्टमसँग नडराउने छवि भएका व्यक्तिहरू अचानक अत्यधिक लोकप्रिय बन्न सक्छन्। सङ्कटग्रस्त समाजमा बलियो नेताप्रतिको आकर्षण धेरै छिटो बढ्छ। यदि त्यो आकर्षण आलोचनात्मक चेतनाभन्दा भावनात्मक समर्थनमा बदलियो भने व्यक्तिकेन्द्रित राजनीति बलियो बन्छ।
बालेनको लोकप्रियतालाई पनि यही सामाजिक–राजनीतिक सन्दर्भमा बुझ्न सकिन्छ। धेरै युवाले उनलाई परम्परागत दलविरुद्धको असन्तोषको प्रतीकका रूपमा हेरे- प्रत्यक्ष बोल्ने, प्रशासनिक कठोरता देखाउने, पुरानो राजनीतिक संस्कृतिको आलोचना गर्ने। यही कारण धेरै मानिसलाई उनी निर्णायक नेतृत्व जस्तो लाग्यो। खासगरी राज्य संयन्त्र सुस्त, भ्रष्ट वा अक्षम देखिएको अवस्थामा बालेन प्रवृत्ति समाजमा छिट्टै लोकप्रिय देखियो।
तर विश्व इतिहासले देखाएको कुरा के हो भने संस्थाभन्दा माथि उठेको नेतृत्व अन्ततः खतरनाक हुन्छ। नेता जति नै लोकप्रिय भए पनि यदि उसको शक्ति संविधान, कानुन र संस्थागत नियन्त्रणभन्दा माथि पुग्न थाल्यो भने लोकतन्त्रको सन्तुलन कमजोर हुन्छ। लोकतन्त्र व्यक्ति-आधारित होइन, संस्था-आधारित प्रणाली हो। त्यसैले लोकतन्त्रको वास्तविक सुरक्षा कुनै लोकप्रिय नेतामा होइन, शक्तिलाई सीमित राख्न सक्ने संस्थागत संरचनामा हुन्छ।
यदि अदालत स्वतन्त्र छैन, प्रेस दबाबमा छ, दलभित्र लोकतन्त्र छैन र नागरिक समाज कमजोर छ भने ठूलो जनमतले पनि लोकतन्त्रलाई सुरक्षित राख्न सक्दैन।
स्वतन्त्र न्यायपालिका, आलोचनात्मक प्रेस, नागरिक स्वतन्त्रता, सङ्घीय सन्तुलन र असहमतिको सम्मान लोकतन्त्रका सुरक्षा कवच हुन्। जब कुनै नेताले जनमतको आडमा यी संस्थाहरूलाई कमजोर बनाउन थाल्छ, तब लोकतन्त्रको आवरणभित्रै निरङ्कुशता जन्मिन्छ।
इतिहासले एउटा गम्भीर शिक्षा दिएको छ- जनताले प्रायः तानाशाह खोज्दैनन्, उद्धारकर्ता रोज्छन्। तर त्यही उद्धारकर्ताले नै अन्ततः संस्थालाई कमजोर बनाउँदै लोकतन्त्रलाई आफ्नो व्यक्तिगत शक्तिमा रूपान्तरण गर्छ। त्यसैले लोकतन्त्रको रक्षा कुनै लोकप्रिय नेताले होइन; स्वतन्त्र न्यायपालिका, आलोचनात्मक प्रेस, नागरिक स्वतन्त्रता, सङ्घीय सन्तुलन र असहमतिको सम्मानले मात्र गर्छ।
प्रतिक्रिया 4