News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका सांसदहरूबीच बादलले प्रविधिको प्रयोग र नेपाली सेनाको मौनता विषयमा अभिव्यक्ति दिएपछि विवाद भएको छ।
- रास्वपाका सांसद मनिष खनालले बादलका अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख अर्याललाई आग्रह गरेका थिए।
- सभामुखले नियमावलीको नियम २१ को खण्ड 'घ' अनुसार बादलका अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका छन्।
३० वैशाख, काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका सांसदहरू आमने-सामने भएका छन् । एक अर्कोका अभिव्यक्तिलाई लिएर उनीहरू संसद्मै सवालजवाफमा उत्रिएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपाले चुनाव जित्नुको पछाडि प्रविधिको प्रयोग भएको बताएका थिए । ‘अराजकहरूको भीड’ जस्ता शब्द प्रयोग गरेका थिए । नेपाली सेना देश जल्दा मौन बसेको टिप्पणी गरेका थिए ।
यो विषयमा मंगलबार नै रास्वपाका सांसदले आपत्ति जनाएका थिए । बुधबार पनि रास्वपाका सांसद मनिष खनालले सभामुखको ध्यानाकर्षण गरे । बादलका अभिव्यक्ति संसदीय रेकर्डमा राख्दा भविष्यमा गलत रेकर्ड रहिरहने भएकाले हटाउनुपर्ने उनको जिकिर छ ।
रास्वपा सांसद मनिष खनाल बोले लगत्तै एमालेका प्रमुख सचेतक ऐन महर उठे ।
तर, सभामुखले नियमावलीको कुन नियम अनुसार नियमापत्ति भनेर सोधे । आफूले रास्वपा सांसद मनिष खनालले बोलेको विषयमा प्रतिवाद गर्न पाउँ भनेर समय मागे ।
तर, सभामुखले समय दिएनन् ।
बरु रास्वपा सांसद मनिष खनालले माग गरे अनुसार एमाले नेता बादलले बोलेको अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई रुलिङ गरे ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेको भन्दै त्यस्ता विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू छन् । जसलाई छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्दछ ।
जसअनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ ।
सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।
संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने विषय पनि छ ।
साथै, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने प्रावधान छ ।
बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय पनि नियमावलीमा छ ।
यसअनुसार एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति नरहेको भनेर रास्वपाले प्रश्न उठाएपछि दुवै दलका सांसदहरू आमुनेसामुने भएका हुन् ।
नियमावलीअनुसार अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बालिएका शब्दहरू हटाउन सभामुखले रुलिङ गरेका हुन् ।
प्रतिक्रिया 4