+

नेपालमा पहिलोपटक फ्लाइङ डिस्क प्रतियोगिता हुँदै, कसरी खेलिन्छ ?

२०८३ वैशाख  ३० गते १९:१९ २०८३ वैशाख ३० गते १९:१९

फ्लाइङ डिस्क भनेको डिस्कलाई हावामा उडाएर खेलिने खेल हो । सामान्यता फ्लाइङ डिस्कका मुख्य गरी ४ प्रकारका इभेन्ट हुन्छन् । जसमध्ये सबैभन्दा लोकप्रिय हो, अल्टिमेट फ्रिस्बी ।

नेपालमा पहिलोपटक फ्लाइङ डिस्क प्रतियोगिता हुँदै, कसरी खेलिन्छ ?

३० वैशाख, काठमाडौं । नेपालमा पहिलोपटक फ्लाइङ डिस्क प्रतियोगिता हुने भएको छ । नेपाल फ्लाइङ डिस्क महासंघको आयोजनामा जेठ ८ र ९ गते फ्लाइङ डिस्कअन्तर्गत ‘हिमालय स्प्रिट कप’ अल्टिमेट फ्रिस्बी प्रतियोगिता हुन लागेको हो ।

कपन ह्यान्डबल ग्राउन्ड हुने प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउने निश्चित भएको महासंघका महासचिव सन्तोष खड्काले जानकारी दिए । उनकाअनुसार महासंघमा दर्ता भएका ५० खेलाडीमध्येबाट ४ टिम बनाइनेछ ।

होप फाउन्डेसनबाट एक टोलीले सहभागिता जनाउने निश्चित भएको र ब्रिटिस स्कुलबाट पनि सहभागिता जनाउनेबारे छलफल भएको महासचिव खड्काले बताए ।

जेठ ८ गते लिग चरणका खेल र ९ गते फाइनल हुनेछ । यो प्रतियोगिताले नयाँ खेल संस्कृतिको सुरुवात गर्ने आयोजकको विश्वास छ । विजेता खेलाडीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तो खालको प्रतियोगिता हरेक वर्ष निरन्तर रूपमा आयोजना गर्ने लक्ष्य रहेको महासचिव खड्काले बताए ।

महासचिव खड्काकाअनुसार नेपाल फ्लाइङ डिस्क महासंघ, विश्व फ्लाइङ डिस्क महासंघमा गत अक्टोबरमा दर्ता भएको हो ।

चार प्रदेश र २० जिल्लामा कमिटी विस्तार गर्नुपर्ने भएकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता हुन नसकेको खड्काले बताए । छिट्टै नै राखेपमा दर्ता गर्ने गरी अगाडि बढिरहेको उनको भनाइ छ ।

कसरी खेलिन्छ फ्लाइङ डिस्क ?

फ्लाइङ डिस्क भनेको डिस्कलाई हावामा उडाएर खेलिने खेल हो । सामान्यता फ्लाइङ डिस्कका मुख्य गरी ४ प्रकारका इभेन्ट हुन्छन् । जसमध्ये सबैभन्दा लोकप्रिय हो, अल्टिमेट फ्रिस्बी । एक टिममा ७ जना खेलाडी हुने उक्त इभेन्टमा दुई टिमबीच डिस्क पास गर्दै विपक्षीको ‘इन्ड जोन’ मा पुर्‍याएपछि अंक प्राप्त हुन्छ । मैदानको दुवैतर्फ इन्ड जोन हुन्छ ।

उक्त इभेन्ट नेपाल फ्लाइङ डिस्क महासंघले गर्न लागेको इभेन्ट हो । महासंघका महासचिव खड्काकाअनुसार मैदान सानो भएकाले एक टिममा ५ खेलाडी हुनेछन् । दुई टिमलाई १०० मिनेटमा दुई हाफ गरी खेलाइनेछ । उक्त समयभित्र जुन टिमले विपक्षी टोलीको ‘इन्ड जोन’मा पुर्‍याउँछ । सोही टिम विजयी हुन्छ ।

डिस्क गल्फ फ्लाइङ डिस्कको अर्को इभेन्ट हो । यो गल्फ जस्तै हुन्छ । बल र क्लबको सट्टा डिस्कको प्रयोग गरिन्छ । डिस्कलाई बास्केटमा छिराउनुपर्छ । व्यक्तिगत र समूह दुवै रूपमा खेल्न सकिन्छ । जसले धेरैपटक छिराउँछ, त्यति नै विजेता हुन्छ ।

गट्स इभेन्टमा एउटा टिमले डिस्क फाल्छ र अर्काे टिमले एक हातले क्याच गर्ने प्रयास गर्छ । क्याच गर्न नसके थ्रो गर्ने टिमले नम्बर पाउँछ । सीमाबाहिर गएमा भने नम्बर आउँदैन । यसमा प्रतियोगिताअनुसार निश्चित अंक वा समय दुवै सीमाभित्र खेलाइन्छ ।

फ्लाइङ डिस्कको अर्काे इभेन्ट फ्रिस्टाइल फ्रिस्बीमा एक्लै वा २ जनाको टिममा खेलिन्छ । यो इभेन्टमा डिस्क प्रयोग गरेर ट्रिक, कन्ट्रोल र स्पिन देखाइन्छ । त्यसैको आधारमा नजिता छुट्याइन्छ । निश्चित समय दिइन्छ । निर्धारित समयमा जसको धेरै अंक आउँछ, सोही टिम विजयी हुन्छ ।

फ्लाइङ डिस्क प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय