३० वैशाख, काठमाडौं । आम आदमी पार्टी संयोजक एवं दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार भारतका जेनजी युवाहरूलाई राष्ट्रिय योग्यता प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा जवाफदेहिता माग गर्न आह्वान गरेका छन् । उनले युवाहरूमा राजनीतिक परिवर्तन गराउने शक्ति रहेको भन्दै नेपाल र बंगलादेशमा सत्ता परिवर्तनको उदाहरण दिए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केजरीवालले परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको आत्मविश्वास प्रश्नपत्र चुहावटका लगातार घटनाले कमजोर बनाएको बताए ।
उनले जेनजी युवाहरूलाई प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध सडकमा उत्रिन आग्रह गरे।
‘यदि बंगलादेश र नेपाल जस्ता देशका जेनजी युवाहरूले सरकार परिवर्तन गर्न सक्छन् भने, भारतीय युवाहरूले पनि प्रश्नपत्र चुहावटका घटनामा जवाफदेहिता सुनिश्चित गर्न सक्छन्‘, उनले भनेका छन् ।
केजरीवालले यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले गरेका अनुसन्धानहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै दोषीहरूले कहिल्यै कडा सजाय पाएका छन् कि छैनन् ? भन्ने प्रश्न गरे
‘२०१४ मा मोदी सरकार सत्तामा आएपछि परीक्षाका प्रश्नपत्र चुहावटका ९३ घटना भएका छन् । अधिकांश घटनाहरू बीजेपी सरकार रहेका राज्यहरूमा भएका छन्‘, केजरीवालले भने, ‘यसले ६ करोड युवालाई असर गरेको छ। राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र गुजरातमा यस्ता घटनाहरू धेरै भएका छन् । यी राज्यहरूमा र केन्द्रमा बीजेपी सरकार हुनु संयोग मात्र होइन ।‘
केजरीवालले हालै परीक्षाको प्रश्नपत्र बाहिरिएको र त्यसको केन्द्र राजस्थान रहेकोले यसमा नेताहरू नै संलग्न छन् कि भन्न शंका उत्पन्न गराएको बताए ।
‘यदि त्यस्तो हो भने केन्द्रीय अन्सन्धान ब्युरोले ले के गर्न सक्छ ? म जेनजीलाई सोध्न चाहन्छु, के यो जारी रहिरहनु पर्छ ?’ केजरीवालले भने । उनले नेपाल र बाङ्ग्लादेशको आन्दोनलको उदाहरण दिँदै जेनजीहरूलाई विरोधमा उत्रिन आह्वान गरे ।
‘यदि नेपाल र बंगलादेशका जेनजी युवाहरू सडकमा उत्रिएर सरकार परिवर्तन गर्न सक्छन् भने, के हाम्रो जेनजीले प्रश्नपत्र चुहावटमा संलग्न मन्त्रीहरूलाई जेल पठाउन सक्दैन ? मलाई तपाईंहरूमाथि पूर्ण विश्वास छ‘, उनले भने, ‘यसमा संलग्नहरूलाई दोषी ठहर गर, जेल पठाऊ, सडकमा उत्र, विरोध गर र यो घृणित खेल बन्द गर।‘
केजरीवालले प्रश्नपत्र प्रकरणमा भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोको जाँच अनसन्धानबाट कुनै अर्थपूर्ण नतिजा नआउने आरोप पनि लगाए ।
‘अघिल्ला प्रश्नपत्र चुहावटका घटनामा ब्युरोले केही गर्न सकेन‘, उनले भने । २०१४ पछि भएका विभिन्न परीक्षाका कथित प्रश्नपत्र चुहावट घटनाहरू उल्लेख गर्दै उनले यस्ता घटनाले देशभरका करोडौं विद्यार्थीहरूको भविष्य प्रभावित भएको बताए ।
प्रतिक्रिया 4