News Summary
Generated by OK AI. Editorially reviewed.- अडपा (घर) । त्यसैले अडपा शब्द कतै सुन्दा आफ्नै अडपाको याद आउँछ ! न्यानोपन महसुस हुन्छ । मनमा अडपाको अनेक कुरा खेल्छन् । कहिलेकाहीं त ठेगान हुन्छ, धेरैजसो कुरा ठेगान हुन्न ।
- आफू जन्मिएको, हुर्केको सुखदु:खको साथी अडपाको याद रहस्यमय छ । यादहरूले भरिएको हुन्छ ।
- मेरो घरगाउँ मलाई सुवास आए जस्तै कतिलाई त्यसरी नै यो शहरको सुवास आउँदो हो । त्यसमा मलाई भन्नु केही छैन । तर यति भन्न सक्छु यो शहरमा माटोको सुवास छैन । प्रेम र ममताको सुवास छैन ।
पराल र खरका छाना भएका घरहरू थिए । कतै बाँसका भाटाले बेरेका टाटी थिए । कतै बाँसका झिक्रा र परालले बेरेका टाटीमा लिपेको माटो भारी भएर भित्ताबाट उक्किएको थियो । माटो उक्किएको टाटीका भित्ताहरूले परिवारको दु:ख र घाउ देखाइरहेका थिए । ठाउँठाउँमा कोठाबाट जमिनदारको ठूलो घर देखिने छिद्रहरू थिए । यस्तो लाग्थ्यो मासु खाएर बाँकी रहेका माछाको अस्थिपञ्जर थालमा जस्तो देखिन्छ त्यस्तै देखिन्थे गाउँका यी घरहरू ।
घरको चारैतिरबाट मनलाग्दी हावा, पानी छिरिदिन्थ्यो घरमूलीको कुनै अनुमति बेगर । हावापानीको आक्रमणबाट घरलाई जोगाउन माटोको अमूल्य शक्ति बुझेका थिए मेरा आमाबुवाले । माटोमै उम्रिएका हौं हामी आदिवासी उराँवहरू । हामीले माटो चिनेका छौं । छानेर कुन माटो भित्तामा लगाउने र भित्तालाई आकार दिने भन्ने प्राय: सीप उराँव महिलाहरूलाई धेरै थाहा छ । प्रकृतिको नियमलाई स्वीकारेर प्रकृतिकै प्राकृतिक कुराहरूबाटै घर बनाए । तिनै घरका भित्ताहरूमा आफ्नो जीवन शैलीका चित्रकला कोरे । ती चित्रहरू बनाउन उनीहरू कुनै तालिममा जानु परेन । कुनै ठूलो विश्वविद्यालय जानु परेन ।
हाम्रा हजुरआमा, आमा, फुपू, दिदी, काकी र माइजूहरूले देखेरै सिके सीप । तिनै जीर्ण घरका झ्याल, घरको मुलढोका, खम्बा र भित्ताहरूमा आफ्ना सपना र मनका उमंग, परिश्रम र दु:ख जंगली बुट्यानका रंगहरूबाट पोते र सुन्दर चित्रहरू बनाए ।
घर जति जीर्ण होस्, परिवारमा जति गरिबी होस्, सृजनाको स्पर्श पाएको मेरो त्यो घर सधैं प्रिय भयो । घरले हामीलाई उज्यालो दियो, भित्ताभरि कुँदिएका थरी–थरीका फूल, पात, जीव–जन्तु, पशुपक्षी, बोटबिरुवाले आँगनसम्म उज्यालो छरे । किनभने घर बाँस र माटो मात्रै रहेनछ । घरले दिने ओत र दु:खमा पनि सपना बुन्दै परिवारभित्र फैलिएको प्रेम रहेछ ।
भित्तामा चित्रैचित्र छन् । चित्रहरूको पुछारमा लेखिएको छ नाम ‘फुच्चन देवी उराँव’ । चित्र कोरेपछि नाम लेख्ने चलन कहाँबाट आयो होला ? खासमा नामका लागि त हाम्रो गाउँमा कसैले चित्र बनाएन । गाउँका एकसेएक कलाकारहरू बेनाम भएरै रहे, बेखबर भएरै मरे । शहरमा पो कलाकारहरूको नाम हुन्छ, होर्डिङ बोर्ड लेख्नेहरूको पनि नाम हुन्छ, जस्तो कि राजु पेन्टर्स ।
आँगनतर्फ फर्केको माटोको बाहिरी भित्तामा कोरिएको त्यो नाम संसारको लागि बेखबर होला तर हाम्रा लागि त उनी महान् कलाकार हुन् । नातामा उनी मेरो बुवाको माइली माइजू हुन् । मेरी ददिअयो (हजुरआमा) हुन् फुच्चन देवी उराँव । उनको हातमा काँचो माटो पर्यो भने त्यो काँचो माटोले कस्तो आकार पाउँछ भन्ने स्वयम् माटोलाई पनि अनुमान हुँदैन ।
घर, भित्ता र चित्रहरू मात्रै हैन हामी पूरै माटोको संसारमा बाँच्छौं । घरमा प्रयोग हुने धेरैजसो सामान माटाका बन्थे । माटोको कुठ्ठी (भकारी), चुल्हा (चुलो), पख्खा (भित्तामा सामान अडिने) । त्यसैले बाटोमा लुकेका बीजहरूबाट हाम्रा घरका भित्तामा पनि बिरुवा उम्रन्छन् । भकारीको बेरामा पनि झार पलाउँछन् ।
अडपा (घर) । त्यसैले अडपा शब्द कतै सुन्दा आफ्नै अडपाको याद आउँछ ! न्यानोपन महसुस हुन्छ । मनमा अडपाको अनेक कुरा खेल्छन् । कहिलेकाहीं त ठेगान हुन्छ, धेरैजसो कुरा ठेगान हुन्न । भावना बनेर उडिजान्छ । आफू जन्मिएको, हुर्केको सुखदु:खको साथी अडपाको याद रहस्यमय छ । यादहरूले भरिएको हुन्छ ।
बालापनको विशेष यादहरूले बनेको दृश्यहरूको संग्रहालय नै राखेकी छु मैले मेरो मनमा । आफ्नो अडपाबाट धेरै टाढा यो विरानो शहरमा बसेर ती यादहरूसँगै बिथोलिन्छु र कहिलेकाहीं भक्कानिन्छु । बरु ती भित्ताहरूले माया वास्ता गर्थे, ती चित्रहरू मेरा आँखै अगाडि नाच्थे । ओस्रा (पिढी)ले मेरो जमिन थाम्थ्यो । बाँसको खम्बामा परालको छानो अडिएको माटोको त्यो घरले सुगन्धित बास्ना छर्थ्यो ।
तर, यो विरानो शहरमा त कसलाई वास्ता मेरो ? खै किन हो अचेल मलाई यो शहर गन्हाउँछ । मेरो घरगाउँ मलाई सुवास आए जस्तै कतिलाई त्यसरी नै यो शहरको सुवास आउँदो हो । त्यसमा मलाई भन्नु केही छैन । तर यति भन्न सक्छु यो शहरमा माटोको सुवास छैन । प्रेम र ममताको सुवास छैन ।
सुनसरी जिल्लामा छिटाहा भन्ने गाउँ छ । त्यहीं छ मेरो पुर्ख्यौली घर । म जन्मिएको त्यो घर जहाँ छाना र भित्ताबाट हावापानी, हपहप गर्मी, चिसो सिरेटो र कठ्यांग्रिने जाडो, कहिलेकाहीं उज्यालो र धेरैजसो अँध्यारो छिरेको भोगेकी छु ।

एक रात, म निद्राको पर्खाइमा थिएँ । आँखा चिम्म गरेर निदाउने कोसिस गर्दैथिएँ तर अटेरी निद्रा मसँग आउनै मानिरहेको थिएन । निस्फिक्री भएर मेरा बहिनी र भाइ निदाइसकेका थिए । इटहरीको एक प्लाइउड फ्याक्ट्रीमा दैनिक ४० रुपैयाँ कमाउने मेरो बुवा शुक्रबारको दिन हाफ डिउटी सकेर घर आउनुहुन्थ्यो र शनिबार फेरि फ्याक्ट्री फर्किनुहुन्थ्यो । त्यो रात पनि शुक्रबार नै थियो ।
छुट्टीको दिन बुवा घर आएको बेला भान्सामा माछा मासुको बास्नाले गाउँ नै मगमगाउँथ्यो । छिमेकी हजुरबुवा, हजुरआमाहरू अरू दिन झैं त्यसदिन पनि सुखदु:खको कुरा साटासाट गर्न आउनुभएको थियो र मिठो मसिनो जे छ खानुहुन्थ्यो । कुनै कुनै हप्ता उहाँहरू हाम्रो घरमा नआएको दिन बटुकोमा तरकारी भरेर बुढापाकाको लागि पठाइदिनुहुन्थ्यो मेरी अयोले ।
त्यो साँझ सुँगुरको मासुसँग टन्न भात खाएर सुतेका थियौं हामी । तर पनि मलाई निद्रा लागेन । रातको त्यो निस्पट्ट मौनतालाई भंग गर्न घुघुरु (घरझिंगा) जमिनमा बसेर लोकभाकामा राग अलाप्दै थिए । ध्यान दिएर सुन्दा, बाहिरपट्टिबाट आएको अयो बोहेको फुसफुसाहट आवाज घुसिरह्यो कानभित्र ।
कुनै कुनै बेला त शब्द पनि ठोकिन्थ्यो कानमा । त्यसबेला लाग्थ्यो, कुनै गम्भीर छलफल भइरहेको छ । आमाको दु:ख भरिएको फुसफुसाउने आवाज पनि सुनियो “यसपालि ऋण उठाएर भए पनि दुई कोठाको घर बनाउनुपर्छ ।” बुवाको फुसफुुसाहट पनि आवाजमा बदलियो “हो अब भाइको पनि बिहे गर्ने कुरा गर्दैथियो अयोले, छोराछोरी पनि त ठूला हँुदैछन् । हाम्रो मामाहरूले तीन कोठाको टिनको घर बनाए । कस्तो राम्रो भएको छ । छपार (छानो) फेर्ने झन्झट पनि छैन, अब त त्यो घर पनि तीस चालीस वर्ष टिक्छ होला । हामीलाई दुईकोठाको बनाउनुपर्ला । दुई दाजुभाइ छौं । दुई कोठाको घर राम्रो हुन्छ ।”
बुवाका मामाहरूले बनाउनुभएको टिनको घरमा माटोले सम्म पारेर लिपपोत गरेको र घरको आँगनतिर फर्केको भित्तामा कँुदिएको बन्नाको पुछारमा उनै कलाकारको नाम फुच्चन देवी उराँव मेरो बन्द परेलाभित्रको नानीमा स्पष्ट देखियो । त्यसपछि मेरो कल्पनामा दृश्यहरू सलबलाउँदै नाच्न थाले ।
“आहा ! अब हाम्रो पनि नयाँ घर बन्ने भयो । घरको भित्तामा बन्ना (चित्र) बन्ने छ र बन्नाबीच कोरिने छ कलाकारको नाम श्यामवती देवी उराँव अर्थात् मेरी अयो (आमा) ।”
मेरी अयोले एककोठे फुुस घरको भित्तालाई विभिन्न किसिमका बन्नाहरू बनाएर सजाउनुभएको थियो । त्यही घरभित्र त म सुतेकी छु । काँचो माटोलाई आकार दिन मेरी आमा पनि निकै सिपालु हुनुहुन्छ । अब नयाँ घरमा बन्ना बनाउने बेला म पनि सिक्नेछु भन्ने सोचें । झट्ट आँखा खुले । मेरो ओछ्यानमाथि घरको धुरीको प्वाँलबाट आकाशको अर्ध चन्द्रमा देखें । कोठाभरि छरिएको अन्धकारको बीचमा चन्द्रमाको एक पित्को उज्यालो खसेको थियो ।
त्यही उज्यालोमा मधुरो देखिन्थ्यो माटोले बनाएको चामल राख्ने कुठ्ठी (भकारी) । त्यही चन्द्रमाको आँखा नबिझाउने कोमल उज्यालो मनमा लिएर कतिबेला निदाएछु पत्तै भएन ।
शनिबार बिहानै निस्कनुभएको बुवा घर फर्किंदा बैल गाडीमा बाह्र वटा फरक–फरक आकारको सिमेन्टको पिल्लर लिएर आउनुभयो । आफ्ना काँधमा पिल्लर बोकेर ल्याएकोमा निकै गर्वित देखिन्थे हाम्रो घरमै हुर्केका राता र सेता अड्डो (गोरु)हरू । शायद नयाँ घर बन्ने कुराले उनीहरू पनि खुशी थिए । मेरो काका र काकाका साथीहरू गाडीबाट पिल्लर ओराल्न मद्दत गरिरहेका थिए ।
दरबाजाको एकछेउमा सबै पिल्लरहरू एक माथि अर्को चारचिताङ्ग पारेर राखिएको थियो । लमतन्न सुते जस्तै देखिन्थे पिल्लरहरू । छिमेक हजुरबुवाले “कसरी गोटा लिएर आयौ ?” भनेर सोध्नुभयो । बोहेले गम्छाले पसिना पोछ्दै “एक सय पच्चीस रुपैयाँ गोटाको पर्यो” भन्दा हजुरबुवाले टाउकोमा हात राखेर भन्नुभयो “बापरे निकै महङ्गो रहेछ ! त्यसो भए मैले दश पन्ध्र वर्ष आशा नगर्दा हुने रहेछ ।” त्यसपछि उहाँ कोदालो समाएर बाध (खेत)तिर लाग्नुभयो ।
बोहे (बुवा)ले अर्कोचोटि रिक्सामा बाँधेर टिन(जस्ता) को बण्डल ल्याउनुभयो । धारिलो टिन रिक्सामा राख्दै गर्दा बुवाको हत्केलालाई च्वाट्ट काटेछ । बगिरहेको रगत रोक्न बोहेले आफ्नो गम्छाको एक कुना च्यातेर हत्केलामा बाँध्नुभएछ । घर आएपछि अयोले दियोमा तेल र च्यातिएको साडीको एक टुक्रा तेलमा भिजाएर बाती बनाएर घाउमा लगाइदिनुभयो ।
बोहेले बाती बालेर सेडता जब्बियास (बातीको तातो तेल) काटेको घाउमा पोलिदिनुभयो । तातो तेल पर्दा ताजा घाउ फडफडाउँथ्यो । त्यसैले होला बोहेले आफ्नो आँखा बेस्सरी चिम्लिनुभयो । त्यसरी तातो तेल घाउमा लगाउँदा मलाई पो पोले जस्तो हुन्थ्यो । अनि म जान्थें अयो नजिक । मेरो बेचैनी देखेर अयोले भन्नुहुन्थ्यो, “घाउको कीटाणु मर्छ, पानी पस्दैन ।”
विस्तारै विस्तारै काठको धुरीहरू पनि किनेर ल्याउनुभयो बोहेले । आइतबारको दिन गाउँमा हाट लाग्थ्यो । त्यही हाटमा छिटाहाकै दुई मुडयारी समुदायको राजु मिस्त्री र उसका साथीहरूलाई भेटेर बोहेले घर ठोक्ने ठेक्का र बैना दिएर आउनुभएछ । घर आएर हामी र आमालाई सुनाउनुभयो ।
आमा जाँडको लागि कनिका भुटिरहेकी हुनुहुन्थ्यो । म चाहिं परालको लहरा बनाएर चुलोमा कति आँच दिने भनेर मिलाउँदै थिएँ । भाइलाई बर्कोले पिठ्युँमा बेरेर गाउँघर डुल्न निस्कनुभएको मेरी ददिअयो (हजुरआमा) भाइलाई भोक लागेको थाहा पाएर आमाको दूध चुसाउन फर्किसक्नुभएको थियो । भोकाएको भाइलाई काखमा राखेर दूध चुसाउँदै अयोले फेरि कनिका भुट्न थाल्नुभयो ।
कोइलीको कुहुकुहुले हरेक बिहानलाई स्वागत गर्थ्यो । परालको छानाभित्र गुँड बनाएका बगडो (गौथली)हरू पनि चिर्बिराए । मसँगै निदाएकी मेरी ददिअयो पनि झिसमिसेमै बिउँझिएर चराहरूसँग लय मिलाउँदै गीत गाउँदै हुनुहुन्थ्यो । आँखा चिम्म गरेर निदाएको अभिनय गरिरहेकी मेरो कानमा साइकलको घण्टीको टिर्लिङ्ग टिर्लिङ्ग आवाज पर्यो ।
बासी आँगनमा मिस्त्रीका औजारहरू बज्न थाले । डोरी र इन्चीटेपले खम्बा ठड्याउने ठाउँ नाप्न लागे । केही मिस्त्रीहरूले खम्बा गाड्न जमिनमा चिह्न लगाए । घरको मूल पिल्लर गाड्ने ठाउँमा अयोले पान, सुपारी, केरा, लड्डु, फुलघोडा र धूप बालेर जाँड र पानी चढाएर गोड लाग्नुभयो ।
त्यसरी पूजा गरेपछि जमिनले घर बनाउन अनुमति दिन्छ अरे । त्यसपछि काम शुरु गरे मिस्त्रीहरूले । दुई तीन दिनमा घरको टिनले आकाश छेकियो । मलाई लाग्यो अब आकाश गर्जिंदा छाना रुँदैन । रोएन भने त छानाको आँसुले हामीलाई पनि भिजाउँदैन । छानाको आँशु थाप्न घरभरि भाँडाकुँडा पनि राख्नुपर्दैन । मिस्त्रीले छानो ठोकेर सक्काएपछि शुरु भयो टाटी बनाउने काम । गाउँकै हजुरबुवाहरूलाई टाटी बनाउन जन (मेलापात)को लागि खबर गर्नुभयो बोहेले ।
दुई दिन हौली भएर काम गरे र बाँकी दिनको रोजी दिएर काम शुरु भयो । काँचो बाँस फोडेर ताछपछि भाटा बनाइयो । मिलाएर एकएक फिटको फरकमा भाटा भुइँमा बिछ्याइयो । त्यसमाथि बाँसकै करची र पराल बिछ्याएर फेरि उसरी नै माथिबाट भाटाले थिचियो । तल र माथि पट्टीका भाटालाई बेस्कन थिचेर जुटको डोरीले कसिलो गरी भाटा बाँधेर टाटी बनाइयो । सबै जना मिलेर टाटी उभ्याइयो ।
अघिसम्म छानोमुनि खुल्ला ठाउँमा अचानक दुई कोठा छुट्टियो । आँगनतर्फ फर्केको टाटीमा काटेर झ्याल राखियो । पछाडि बाटोतिरको टाटीमा पनि झ्याल खोपियो । त्यसपछि शुरु भयो मासु विनाको काँडेदार माछा जस्तो देखिने घरको टाटीमा माटो लिप्ने र भुईंमा माटो भर्ने काम ।
टेंग्रा खोलाको बगरबाट लिप्ने माटो बैलगाडीमा बोकेर ल्याउनुभएको थियो मेरो काकाले । त्यसैले त बाहिर दरबाजामा लिप्ने माटोको थुम्को बन्यो । यस्तो लाग्थ्यो कि बाहिरको थुम्को टाटीलाई अँगाल्न पर्खेर बसेको छ ।
उराँव समुदायमा हौली जाने परम्परा छ । घर बनाउन, खेतीपाती गर्न, एकआपसमा गरिने सहयोग, आत्मीयता र समुदायलाई सुन्दर बनाउने परम्परा हो यो । श्रमदान नै हौली प्रथा हो जस्तो लाग्छ मलाई ।
आर्थिक रूपमा कमजोर भएको परिवारलाई मुस्कुराउन सिकाउँछ यो चलनले । त्यसैले श्रमदान गर्ने व्यक्तिलाई हौली लिएको दिन जति सक्दो मिठो र ताकत दिने खानेकुराहरू दिने गर्छन् । हौली बोलाउने परिवारले हौलीमा आउने व्यक्तिहरूलाई हप्ता दिन अगाडि नै खबर गर्छन् र घरमा त्यही अनुसारको खानपानको व्यवस्था गर्छन् ।
मेरी अयोले पनि गाउँकै हजुरआमा, काकी र फुपूहरूलाई ‘घर लिप्न हौली आउनु है’ भनेर खबर गर्नुभएको थियो । शनिबार बिहानै दश जना हौलीहरू जम्मा भए । काम बाँडफाँड गरे । फुपूहरू पानी बोक्दै गहुँको भुसा मिसाउँदै कोदालोले खन्दै खुट्टाले मुछ्न थाले माटो । काकीहरू घरभित्रको माटोलाई थपी (काठले बनेको माटो दबाउने औजार)ले पिटेर सम्म बनाउन लागे ।
माटोको डल्ला फुटाउन थपीको तालमा ताल मिलाएर हजुरआमाहरू गीत गाउन थाले । मेरा साथीहरू पनि आएर मुछेको माटोलाई ढाकी, आरी, छैटीमा भरेर बोक्न थाले । घाम चरक्क चर्किएको थियो । दोपहरको एक बजेपछि सबै जना खाना खान हातखुट्टा धोएर आए ।
आँगनमा एक हुल हौलीहरू बसेर आमाले पकाएको दाल–भात–तरकारी र आँपको अचारसँग थपी–थपी खाना खाए । खानापछिको एक घण्टा आराम गर्ने चलन थियो । तर, घरको धन्दाले त बस्न दिंदैनथ्यो । त्यसैले सबै घरका बुहारीहरू खाना खाएर धोएको हात साडीको अचरामा पुछ्दै आफ्ना घरतिर लागे ।
हजुरआमाहरू बाहिर दरबजामा भएको कदमको रूखको छहारीमा पिट्री (गुन्द्री) ओछ्याएर बिंडी हुक्का पिउँदै धुवाँ उडाउन थाले । शायद त्यही धुवाँसँगै थकान पनि उड्थ्यो कि ? हामी साथीहरू चाहिं एकअर्काको टाउकामा रगत चुस्न बसेका जुम्रा निकालेर तह लगाउँदै थियौं । एक घण्टाको समयलाई आ–आफ्नो तरिकाले सदुपयोग गरेर फेरि काँचो माटोको बास्ना लिंदै आ–आफ्नो बुता अनुसार माटोसँग खेल्न थाल्यौं ।
साँझ कामको विश्राम भयो । खुल्ला आकाशमा चन्द्रमाको उज्यालो र ताराहरूको चमक मुनि आँगनमा सबै हौलीहरू पिट्री ओछ्याएर बसे । कोही तमाखु माड्दै, कोही हुक्का बिंडीको धुवाँ उडाउँदै त कोही डुब्हा (बटुको)मा जाँडको चुस्की लिंदै थकाइ मार्दैथिए । मेरी अयोले सबै हौलीहरूको सत्कार गर्दै, पिउने कुरा र चखना दिनेमा व्यस्त हुनुभयो । उता भान्सामा बोहेले सुँगुरको मासु, कुखुराको मासु र खाना बनाइरहनुभएको थियो । जसको बास्ना बाहिर आँगन र डगरसम्म आएर मुखै रसाउने भएको थियो । बोहेको हत्केलामा भएको जिउँदो घाउ पनि विस्तारै मर्न थालेको थियो । काम सकेपछि हौलीहरू मात्रै हैन गाउँका बुढाबुढीहरूलाई पनि बोलाइन्छ । यहीबेला आ–आफ्नो अनुभव र लोक कथाहरू सुनाउने चलन छ ।

झोराको घना जंगलभित्र फाट्टफुट्ट, एकहान दुहान उभिएको परालले छाएका घरहरू थिए । त्यही एकदुई घरहरू बीच हाम्रो घर थियो । हामी बस्ने घरलाई चारैतिर सानासाना घरहरूले नै घेरेका थिए । आँगनमा छिर्ने दरबाजातिरको पिण्डा (पिढी)मा लामो बाँसको भ्याङ्ग थियो । त्यही भ्याङ्ग समातेर आफूलाई तानेर माथि चढिन्थ्यो र आँगनमा पुगिन्थ्यो ।
आँगनतर्फ फर्केको केमाडी (ढोका)मा मोखा(फरक चित्र) बनाएको थियो । घरभित्रको छानामा बगडो (भंगेरी) चराले खोता (गँुड) बनाएर बस्थे । घरभित्रको त्यो खोताभित्र बगडो र उसका चल्लाहरू निर्धक्कसँग एकआपसमा कुरा गर्थे । अब हाम्रो नयाँ घर थियो ।
बडिअयो (हजुरआमा) ले लामो सुस्केरा लिएर हुक्का तान्नुभयो र चुलोमा खाना पकाइरहेको मेरो बुवालाई हेर्दै भन्नुभयो, “धरमेन्दरले माटोको अलि टिक्ने घर बनायो तर टिनको छापार दियो । यो छापारमा बगडोले कसरी खोता बनाउँछ होला ? घरभित्र चिरबिराउन पनि छिर्छ कि छिर्दैन होला ।” बडिअयोको यो कुरा चित्त नबुझेर बडाबोहे (बज्यै)ले भन्नुभयो, “पानी परेको बेला घरभित्र ठामठाममा बाल्टिन, भाँडा, आरी, थरिया, डुब्हा छरेर राख्नु त पर्दैन । बलिरहेको चुल्हामा पानीको टिप्पा–टिप्पा (थोपा) चुहिएर चुल्हा त निभ्दैन ।” बडिअयोलाई नचुहिने घर पनि चाहिएको थियो, चराहरूको गुँड पनि । तर, दुइटै एकैपटक मिलेन ।
अब घरले कुरेर बसेको थियो आमाको कलाकारिताले सिंगारिन । दिनभर खेतमा काम गरेकी आमा साँझ बोरा ओछ्याएर लट्टे माटो छानेर पानीमा डुबाउनुभयो, माटो गलेर लयालु होस् भनेर । मासु काट्ने अचानोमा रेसादार सनपाटलाई मसिनो गरी काटी धुलो बनाएर गिलो माटोमा मोल्नुभयो । माटो यस्तो हुनुपर्यो, हातमा खेलाउँदा सानो गिर्खा पनि नबिझाओस् । भोलिपल्ट बिहानीको कामधन्धा सक्काएर आमा र फुच्चन हजुरआमाले गोबरले बन्ना बनाउने ठाउँमा बन्ना (चित्र)को आकार बनाउनुभयो । गोबरले भित्ता र बन्ना बनाउने ताकि माटोलाई टाँस्न सहयोग गर्छ । दुई जनाले दुवै कोठाको चौखट छेउबाट मोखा बनाउन शुरु गरे ।
मोखा बनेपछि ढोकाको चारैतिर लाइन कोरेर भित्री भागमा लहरा, फूल र पातहरू नजिक मुखामुख गरेर मयूर बन्यो । झ्यालको वरिपरि फूलका लहराहरू र खम्बाका आकारहरू बने । घरको चारै भित्तामा सुन्दर बन्नाहरू बन्यो । घर भित्र र बाहिर कमेरो माटोले पोतेपछि त झन् उज्यालो देखियो अडपा । सेतो, रातो र पहेंलो माटोले झोर्दा (पोत्दा) त झनै आकर्षक देखियो अडपा । अब मिहिन रूपमा रंग भर्ने काम बाँकी थियो । बन्नामा रंग भर्ने काम शुक्रराती (तिहार)मा हुन्छ भनेपछि मलाई तिहार कहिले आउला जस्तो भयो ।
केही हप्ता त्यसै बिते, घरको अरू चटारोमा । शुक्रराती आउनु दुई दिन अगाडि आमा खैराटोलामा लाग्ने हटिया जानुभयो र किसिम किसिमका रंगको धुलो लिएर आउनुभयो । बाँसको सिन्कालाई कलम आकारमा काटनुभयो । टुप्पोमा सनपटुवालाई बाँधेर काटेर चिटिक्कको नरम ब्रस बनाउनुभयो । ६ वटा स्टिलको गिलासमा फरक फरक रंग दुई–दुई चम्चा हाल्नुभयो । चार चम्चा जति काँचो दूध हालेर घोल्नुभयो । दूध माथि माथि तैरिन्थ्यो । रंग मिसिनै नमान्ने, एकदम अटेरी ।
मैले जोडले चलाएर घोलें । अयोले मलाई हरियो रंग दिएर पात बनाएको बन्नामा रंग लगाउन भन्नुभयो । मैले ध्यान दिएर आमाको निर्देशनमा रंग लगाउन थालें । मेरी अयो र फुच्चन हजुरआमाले फटाफट रंग भर्नुभयो । रंग भरेपछि चित्रहरूको बन्ना झन् खुलेर आए । बल्ल घर जस्तो भयो घर । खासमा घर अडपा भयो । अडपाभित्रको खुशी अर्कै हो, त्यो म शब्दमा भन्न सक्दिनँ ।
अब त गाउँमा पनि अडपा जोगाउनै गाह्रो भयो । अडपा नभएपछि बन्नाहरू पनि भएनन्, रंग र चित्रहरू पनि भएनन् । अडपा नभए पछि खुशी जोगाउनै गाह्रो भयो ।
प्रतिक्रिया 4