News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'लालीबजार'ले प्रदर्शनको छैटौं दिनसम्म देशव्यापी २ करोड ४० लाख रुपैयाँ ग्रस कमाइसकेको छ।
- निर्माता म्याक्स दिपेश खत्रीले भने, 'चारैतिरको हमला र अवरोधपछि हाम्रो फिल्मले हलमा उत्कृष्ट कमाइ गरिरहेको छ।'
- फिल्मले सामाजिक विवाद र अदालत मुद्दा बाबजुद पनि राम्रो प्रदर्शन गरिरहेको छ र विदेश रिलिजको तयारी भइरहेको छ।
काठमाडौं । चौतर्फी विवाद र आलोचनाले घेरिएपनि स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’ को उत्साहजनक कमाइको गति रोकिएको छैन । पहिलो सप्ताहन्तभन्दा मध्यतिर अकुपेन्सी, शोज संख्या र कमाइमा बढोत्तरी देखिन्छ ।
निर्माता म्याक्स दिपेश खत्रीका अनुसार, फिल्मले प्रदर्शनको छैटौं दिन बुधबारसम्म देशब्यापी २ करोड ४० लाख रुपैयाँ ग्रस कमाइसकेको छ । यद्यपि, चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांक भने आउन बाँकी छ ।
‘चारैतिरको हमला र अवरोधपछि हाम्रो फिल्मले हलमा उत्कृष्ट कमाइ गरिरहेको छ । सुरुवातभन्दा पछिल्ला दिनमा दोब्बररुपमा कमाइ गरिरहेको छ’ निर्माता खत्रीले भने, ‘पहिलो विकेन्डभन्दा विकडेजमा पनि राम्रो छ । दर्शक बढ्ने क्रममा छन् ।’
१८८ शोजसहित देशब्यापी प्रदर्शनमा आएको फिल्मको विहिबारको शोज संख्या २५० हाराहारीमा रहेको निर्माता बताउँछन् । ‘दोस्रो सप्ताहन्तमा पनि राम्रो हुन्छ भन्ने आशा छ’ खत्री भन्छन्, ‘मैले २०० जनालाई सोधेँ हुँला, तीमध्ये २ जनाले कमजोर प्रतिक्रिया दिएपनि बाँकीले आँखाभरि आँसु भरेका छन् । फिल्म हेरे केटा मान्छे पनि रुन थाले ।’
शुक्रबार ९ देखि १० हजार दर्शकले फिल्म हेरेको खत्री बताउँछन् । दोस्रो दिन १६ हजार, मंगलबार १७ हजार र बुधबार २१ हजार जना दर्शकले फिल्म हेरेको उनले बताए । ‘दर्शकीय अकुपेन्सी बढ्ने क्रममा छ’ उनी सुनिए ।

चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनको प्रतिक्रिया उध्दृत गर्दै खत्रीले भने, ‘यो फिल्मलाई यस्तो बाधा अड्चन नभइकन आएको भए धेरै कीर्तिमान राख्न सक्थ्यो । विवाद नभएको भए डबल गथ्र्यो । लामो जान सक्छ ।’
यो फिल्मविरुद्ध अदालतमा समेत मुद्दा दायर गरिएको थियो । कानून अड्चनको कारण फिल्म समयमै रिलिज हुन पाएन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त फेसबुकबाट स्टाटस लेख्दै आपत्ति जनाएका थिए । सामाजिक संजालमा ‘खरानी ग्याङ’को फिल्म भन्दै विरोध भएको थियो ।
‘यी यावत अड्चनका बाबजुद फिल्म राम्रो चलेको छ’ खत्रीले भने ।
यतिबेला स्वस्तिमासहितका कलाकार मोफसलको टूरमा निस्किएका छन् । सुर्खेत र नेपालगञ्जमा प्रवर्धन टूर सकेर टोली बुटवलमा फर्किएको छ । त्यसपछि टिमले सप्ताहन्तमा काठमाडौंमा हल भिजिट गर्नेछ ।
अर्को साता पूर्वका हलहरूमा दर्शक भेट्न जाने कार्यक्रम तय छ । स्वदेश रिलिजको परिस्थितीको कारण फिल्मको विदेश रिलिज पनि अहिले होल्डमा छ । विदेश रिलिजबारे आउने साता निधो हुने निर्माता खत्रीले बताए । याम थापा निर्देशित फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरेको हो । फिल्मले सन्तानको लागि आमाले गर्ने संघर्षको कथा भन्छ ।
प्रतिक्रिया 4