+
+
Shares

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि राष्ट्रियसभाका सांसदहरूको सुझाव

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १३:३९
Photo Credit : फाइल तस्बिर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रियसभाको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, युवाको पलायन रोकथाम र लगानीमैत्री वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण आवश्यक रहेको बताए।
  • सांसद धर्मेन्द्र पासवानले मधेस प्रदेशको कृषि विकास नीति तथा कार्यक्रममा पर्याप्त प्राथमिकता नदिइएको आरोप लगाए।

३१ वैशाख, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । उनले लगानीमैत्री नीति र स्थिर वातावरणमार्फत देशको आर्थिक विकासलाई गति दिन सकिने बताए ।

सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई बृहत् रूपमा नसमेटिएको आरोप लगाए । उनले मध्यमवर्गका लागि नीति तथा कार्यक्रम सकारात्मक भए पनि मधेसको कृषि र पर्यटनको सम्भावनालाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गरे ।

सांसद उर्मिला अर्यालले कृषिको वृद्धिदर पाँच प्रतिशत पुर्‍याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताए । उनले मौलिक बीउको प्रवद्र्धन, वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन तथा दुग्ध विकास संस्थानको स्तरोन्नतिमा जोड दिए ।

मधेस प्रदेशको खानेपानी सङ्कट समाधानका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह गरे ।

सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण, कूटनीतिक पहलमार्फत पर्यटन प्रवद्र्धन तथा पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको बताए ।

यसैगरी, सांसद सुनिलबहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेका बेला स्वरोजगार सिर्जना गरी स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताए । उनले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आवश्यक भएकामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?