३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वडा सभापतिले क्रियाशील सदस्यता अद्यावधिकको काम नगरे अर्को व्यक्तिलाई जिम्मा दिने चेतावनी दिएका छन् ।
कास्कीको पोखरामा बिहीबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक विधानमा व्यवस्था भएको पार्टी काम भएको बताए ।
‘यो अपडेट गर्ने काम पार्टीको काम पनि हो, विधानको व्यवस्था पनि हो । यसमा तपाईंहरू सबैको मद्दत चाहिन्छ । कुनै पनि तहको साथीले म यो काम गर्दिनँ भन्नुभयो भने तपाईंहलाई धेरैधेरै धन्यवाद,’ थापाले भने, ‘नेक्स डे अर्को साथीलाई चिठ्ठी जान्छ । अर्को साथीले जिम्मा लिनुहुन्छ । पार्टी कसैको कारणले रोकिँदैन ।’
सदस्यता अद्यावधिकको काम नगर्ने कसैलाई पनि पदबाट भने नहटाउने सभापति थापाको भनाइ छ । ‘मैले कसैलाई पदबाट हटाउने होइन । तर, जिम्मा अर्कोलाई दिने हो,’ उनले भने, ‘वडा सभापतिले गर्दिनँ भन्नुहुन्छ, मैले अर्को साथीलाई जिम्मा दिन्छु । त्यो साथीले गर्छ ।’
सभापति थापाले सदस्यता अद्यावधिकको समयावधि एक महिना थप गरिने पनि बताए । यसअघि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म अद्यावधिकको काम गरिने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4