+
+
Shares

गगनले समाते कांग्रेस ‘स्टेयरिङ’, भने- अब अलमलिन्नौँ

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत भएपछि उनले ‘ग्रान्ड रिफर्म’ योजना अघि सारेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १९:३३

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सारेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत भएपछि उनले ‘ग्रान्ड रिफर्म’ योजना अघि सारेका हुन् ।

केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीसहितको उपस्थितिमा सम्बोधन गर्दै उनले अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने जिकिर गरे ।

पार्टीको ‘ग्राण्ड रिफर्म’ : शुद्धीकरण र पुनर्जागरण

कांग्रेसको आन्तरिक जीवनका बारेमा धारणा राख्दै सभापति थापाले पार्टीमा अब सामान्य सुधार नभएर ‘ग्राण्ड रिफर्म’ चाहिएको बताए । उनले सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोगजस्ता ‘मैला पात’हरू अब हटाउनुपर्ने बेला आएको उल्लेख गरे ।

पार्टीको भद्दा संरचनाले मौलिकता थिचिएको भन्दै सभापति थापाले चार पुस्ताको विविधतालाई कांग्रेसको शक्तिमा बदल्नुपर्ने धारणा राखे । पार्टीलाई ‘इलेक्सन मेसिन’ मात्र नबनाएर जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनर्जागृत गर्नुपर्नेमा उनले जोड दिए ।

सभापति थापाले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जवाफदेहिताबाट नभाग्ने पनि बताए ।

राजीनामा, जवाफदेहिता र केन्द्रीय कार्यसमितिको निर्णय

सभापति थापाले निर्वाचन परिणामपछि आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण दिए । उनले पार्टीको विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको जिकिर गरे ।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ ।’

सभापति थापाले राजीनामा कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै दिएको पनि जिकिर गरे । ‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन,’ उनले भने, ‘विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौँ भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौँ ।’

थापाले विशेष महाधिवेशन गरेर कमजोरी गर्‍यौँ कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे । ‘विशेष महाधिवेशन गरेर कहिँकतै कमजोरी गर्‍यौँ कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ,’ उनले भने, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’

सभापति थापाले राजीनामा हतास मानसिकता नभएर राजनीतिक जवाफदेहिताको कसी भएको बताए । ‘म यो टिमको क्याप्टेन हुँ र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौँ,’ उनले भने, ‘त्यसैले हारको जिम्मेवारी मैले लिनुपर्छ भन्ने मेरो दृढ निष्कर्ष थियो ।’

यद्यपि, केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै बाँकी जिम्मेवारी पूरा गर्नुपर्ने निर्णय गरेपछि सभापति थापाले निर्णयको सम्मान गर्दै नयाँ अध्यायको प्रारम्भ भएको घोषणा गरे ।

सभापति थापाले केन्द्रीय कार्यसमितिको निर्णयपछि राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डोर्‍याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

२०४६ पछिका भ्रष्टाचार काण्ड र सम्पत्ति छानबिनको माग

सभापति थापाले २०४६ सालको जनआन्दोलनपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरे । ‘गलत ढंगले आर्जन गरिएको सम्पत्ति जफत गरिनुपर्छ । यो हाम्रो प्रतिज्ञा पत्रको मुख्य बुँदा हो,’ उनले भने ।

गिरीबन्धु टी–ईस्टेट, ललिता निवास, वाइडबडीजस्ता चर्चित प्रकरणक अब सार्वजनिक खपतको विषयमात्र नभएर ‘दूधको दूध, पानीको पानी’ हुनुपर्ने र दोषीले सजाय पाउनुपर्नेमा उनले जोड दिए । थापाले नयाँ सरकारले भ्रष्टाचारका काण्डहरूको निष्पक्ष अनुसन्धान गरे कांग्रेसको पूर्णसाथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

संविधान संशोधन र राष्ट्रिय सहमतिको पहल

सभापति थापाले आधारभूत स्तम्भहरूलाई नचलाई सुशासन र प्रभावकारिताका लागि संविधान संशोधन गर्नुपर्ने पनि बताए । जसका लागि कांग्रेसले एक वरिष्ठ नेताको संयोजकत्वमा विज्ञहरू सम्मिलित समिति बनाउने उनको भनाइ थियो ।

सभापति थापाले पार्टीले गठन गर्ने विज्ञ समितिले पार्टीभित्र, संसद्मा प्रतिनिधित्व गर्ने दलहरू र संसद् बाहिरका शक्तिहरूसँग छलफल गरेर राष्ट्रिय सहमति निर्माण गर्ने योजना रहेको बताए ।

सभापति थापाले समावेशीकरण, सामाजिक न्याय र युवाको अधिकारलाई अझ सुदृढ बनाउँदै संविधानलाई समयसापेक्ष परिमार्जन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने दाबी गरे ।

‘डिजिटल’ सदस्यता र ‘ल्याटरल इन्ट्री’ को व्यवस्था

सभापति थापाले पार्टीको सदस्यता प्रणालीमा परिवर्तन गरेर आगामी वैशाख १ गतेबाट सबै क्रियाशील सदस्यको नयाँ ढंगले अभिलेखीकरण र अद्यावधिक गरिने बताए । ‘अब प्रत्येक सदस्यले ‘कांग्रेस आइडी’ पाउने छन् र सबै प्रक्रिया डिजिटल हुनेछ,’ उनले भने ।

सभापति थापाले विभिन्न पेशा र व्यवसायमा रहेकाहरूलाई पार्टीको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’ (पाश्र्व प्रवेश) को व्यवस्था गरिने पनि बताए । उनले पार्टीका शुभेच्छुक संस्थाहरूबाट महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था खारेज गरेर विज्ञहरूलाई सिधै नीति निर्माण र नेतृत्वमा सहभागी गराउने योजना सुनाए ।

कांग्रेस लिडरसीप एकेडेमी र अनिवार्य प्रशिक्षण

सभापति थापाले सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताहरूका लागि ‘कांग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा अघि सारे । अवधारणाअनुसार स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा एकेडेमीको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ ।

‘मेयर वा वडाध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका बारेमा तोकिएको घण्टा क्लास लिनैपर्छ,’ सभापति थापाले भने । त्यसले पार्टीका उम्मेदवारहरूलाई शासकीय क्षमतामा अब्बल बनाउने र जनताका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

१५ औँ महाधिवेशनको कार्यतालिका

सभापति थापाले २०८३ भदौमा पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी विस्तृत कार्यतालिका प्रस्ताव गरे । प्रस्तावित तालिकाअनुसार २०८३ वैशाखमा वडा तहमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिने छ ।

तालिकाअनुसार साउन ६ गते वडा अधिवेशन, साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने छ ।

यस्तै, आगामी भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन र भदौ २४, २५ र २६ गते १५ औं महाधिवेशन सम्पन्न गरिने कार्यतालिका उनले पेस गरे ।

अनुशासन र एकताको सन्देश

सभापति थापाले पार्टीको ‘गाडी’ अब अगाडि बढिसकेको र यसले कसैलाई पनि नछोड्ने बताए । निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने वा रुख चिन्हमा मत नहाल्ने प्रवृत्तिलाई आफूले गम्भीरतापूर्वक ‘नोटिस’ मा लिएको उनले चेतावनी दिए ।

‘पार्टीको सदस्य भएर शपथ खाएपछि उम्मेदवारलाई जिताउनु कर्तव्य हो,’ सभापति थापाले भने, ‘कसैसँग असन्तुष्टि छ भन्दैमा पार्टीलाई हराउन पाइँदैन ।’ उनले विगतका पूर्वाग्रह त्यागेर सबैलाई समेटेर अगाडि बढ्ने र कांग्रेसलाई भरोसायोग्य र विश्वासिलो पार्टी बनाउने प्रतिबद्धता जनाए ।

संघीय प्रतिपक्षको भूमिका र राष्ट्रिय राजनीति

सभापति थापाले निर्वाचनपछि कांग्रेसले प्राप्त गरेको संघीय प्रतिपक्षको भूमिकालाई विशिष्ट जिम्मेवारीका रूपमा व्याख्या गरे । उनले नयाँ सरकार गठन गर्ने म्यान्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गरे ।

‘यो निर्वाचनबाट सुविधाजनक ढंगबाट पाँच वर्षका निम्ति सरकार सञ्चालन गर्ने जुन म्यान्डेट प्राप्त भएको छ, म पार्टी र व्यक्तिगत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्वलाई बधाई दिन चाहन्छु,’ सभापति थापाले भने, ‘सरकारको गति बढाउन हाम्रो दबाब र प्रोत्साहन रहन्छ । तर, देशलाई कुनै पनि हालतमा दुर्घटनामा पर्न दिँदैनौँ ।’

सभापति थापाले संविधान र नवयुवा (जेनजी) हरूको विद्रोहको मर्मअनुसार काम गर्ने कुरामा शुभेच्छा पनि प्रकट गरे । थापाले भने, ‘संविधानको मर्म र भावनाअनुसार नौजवानहरूको विद्रोहको मर्मअनुसार उहाँहरूले सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्नुहुन्छ भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छु ।’

सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने र कांग्रेसले सतर्क भएर पहरेदारी गर्ने स्पष्ट पारे । उनले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यन्वयन पनि हुनुपर्नेमा उनले जोड दिए । ‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् । त्यो प्रतिवेदनअनुसार कार्यान्वयन पनि होस्,’ सभापति थापाले भने, ‘जसले गल्ती गरेको छ, उसले सजाय पाउने अवस्था बनोस् ।’

गौरीबहादुर कार्की संयोजकत्वको प्रतिवेदन पूर्वाग्रह नराखी कार्यान्वयन हुनुपर्ने भन्दै सभापति थापाले पार्टीको अडान प्रष्ट पारे । ‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?