+
+
Shares

ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित

आज ट्रम्प र सी चिनफिङबीच बेइजिङमा जे कुरा भयो, त्यसको प्रसंग जोडिन्छ सात वर्षअघि सीले गरेको काठमाडौं भ्रमणसँग ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ वैशाख ३१ गते २२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेइजिङमा भएको वार्ताले दुई देशबीच व्यापारिक, कूटनीतिक र सामरिक विषयमा स्थिर सम्बन्ध कायम राख्ने संकेत दिएको छ।
  • सीले ट्रम्पलाई भने, 'ताइवानको विषय कमजोर ढंगले उठाउन खोजिए अमेरिकासँग तनाव हुनेछ' भनेका छन् र दुई देशले मित्रवत् सम्बन्धमा काम गर्नुपर्ने बताएका छन्।
  • ट्रम्पले पनि सीलाई महान नेता भनी सम्मान गर्दै व्यापार र प्रविधिमा साझा विजयको खोजीमा अघि बढ्ने आशय व्यक्त गरेका छन्।

३० वैशाख, काठमाडौं । सी चिनफिङले भने, ‘अमेरिकासँगको सम्बन्ध सामान्यतया स्थिर छ ।’ बाहिर परस्परका कटु प्रतिष्पर्धीजस्ता लागे पनि चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको नारा सारमा उस्तै छ ।

सी राष्ट्रपति भएसँगै चीनमा स्थापित भएको नारा हो- ग्रेट रेजुभेनेसन अफ् द चाइनिज नेशन । अर्थात् चिनियाँ राष्ट्रको महान पुनरोदय ।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनावमा दिएको नारा हो- मागा अर्थात् मेक अमेरिका ग्रेट अगेन । अमेरिकालाई फेरि महान बनाउँ ।

एकले अर्कालाई पूँजीवादी र समाजवादी जे संज्ञा दिए पनि खासमा समान सोच र स्वभावका दुई विश्व-शक्तिमानहरू यति बेला छिमेकी चीनको राजधानी बेइजिङमा झन्डै १० वर्षपछि भेटिरहेका छन् ।

आज बिहीबार बिहान उनीहरू दुईजनाले गरेको वार्ता यति बेला विश्वभरिको चर्चामा छ । दुई विपरीत ध्रुवहरू नै आपसमा ठोक्किन सक्छन् । गुरुत्वबलको नियम भूराजनीतिमा पनि लागु हुनसक्छ ।

आज ट्रम्प र सीबीच जुन विषयमा कुरा भयो, संयोगवश त्यसको प्रसंग जोडिन्छ सात वर्षअघि सीले गरेको काठमाडौं भ्रमणसँग ।

राष्टपति सीलाई स्वागत गर्न तत्कालीन नेपाली समकक्षी विद्यादेवी भण्डारी आफैं विमानस्थलमा पुगेकी थिइन् ।

सन् २०१९ को अक्टोबर १२ र १३ मा नेपालको राजधानी शहरमा बसेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाको नाम नलिई भनेका थिए, कसैले यदि चीनलाई टुक्र्याउन चाहेको छ भने हामी त्यसो गर्न खोज्नेलाई धुलोपिठो पारिदिन्छौं । उनले वन चाइना प्रिन्सिपलको सन्दर्भ राख्दै यसो भनेका थिए । वन चाइना प्रिन्सिपलको खास सन्दर्भ नेपालसँग उत्तरी सीमा जोडिएको तिब्बतका साथै खासगरी हङकङ र ताइवानसँग समेत जोडिन्छ ।

चिनियाँ राष्टपति सी र प्रधानमन्त्री केपी शर्मा ओली

अमेरिकाले ताइवानको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान हुनुपर्ने बताउँदै आएको छ । चीनले यसलाई आफ्नो र सेरोफेरो क्षेत्रमाथि अमेरिकाले गरेको हस्तक्षेप भनी आलोचना गर्ने गरेको छ । अमेरिकाले एक चीन नीतिको सम्मान गर्नुपर्ने बेइजिङको मत छ ।

चिनियाँ समकक्षी सीको सम्मानमा तत्कालीन राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा  दिएको रात्रीभोजमा  यस्तो टिप्पणी सार्वजनिक भएको थियो । त्यसअघि उनले तत्कालीन प्रधानमन्त्री तथा नेकपा पहिलो वरियता अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत वार्ता गरेका थिए ।

सीका लागि काठमाडौंको मुकाम न्यानो बनाउन र त्यसभन्दा तीन वर्षअघि नाकाबन्दीले सिर्जना गरेको संकटका बीच उत्तरको ढोका खुलाउन वैकल्पिक व्यापार तथा पारवहन सम्झौता समेत उनै ओलीले गरेका थिए ।

सीले काठमाडौं भ्रमण गरेको त्यस क्षण डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदको पहिलो कार्यकालमा थिए । अर्को देशको भूमिका गएर चिनियाँ राष्ट्रपतिले कठोर टिप्पणी गरेको भनी बहस समेत सिर्जना भएको थियो त्यस बेला ।

अहिले ट्रम्प बीचको एक कार्यकाल पराजयपछि फेरि राष्ट्रपति बनेका छन् । उनको चीन भ्रमणमा सीले दिएको सन्देश अर्थपूर्ण छ । खासगरी तीनवटा विषय यतिबेला प्रमुख छन् । एक, खाडी क्षेत्रको तनाव छ । दुई, चीन–अमेरिकाबीच अर्थतन्त्र, प्रविधिको ठूलो प्रतिद्वन्द्विता छ । तीन, यसैबीचमा सामरिक विषयहरू प्रधान बन्न थालेका छन् ।

र, त्यसमा ताइवानको विषय उछालिएको छ । अमेरिकाले ताइवानसँग ११ अर्ब डलर बराबरको हतियार सम्झौता गरेको विषयका कारण बेइजिङ–वासिङ्टन दूरी निर्माण भएको छ ।

न्युयोर्क टाइम्सका अनुसार सीले समकक्षी ट्रम्पलाई सिधा भनेका छन्, ‘ताइवानको विषय कमजोर ढंगले उठाउन खोजिए अमेरिकासँग तनाव हुनेछ ।’

सीको चेतावनीको पृष्ठभूमिमा ताइवानको सम्प्रभुता संरक्षणका लागि अमेरिकाले हतियार पठाउने कूटनीतिक वृत्तका गाइँगुइँ कारक छन् । अमेरिकाले अहिलेसम्म औपचारिक खण्डन गरेको सुनिएको थिएन ।

ट्रम्पको पहिलो राष्ट्रपतिकालभन्दा पहिले बाराक ओबामा दुई कार्यकाल अमेरिकी राष्ट्रपति थिए, जोसँग सामान्यतया चीनको तुलनात्मक नरम सम्बन्ध रहे पनि दोस्रो कार्यकालमा बिग्रन थालेको थियो । साउथ चाइना सीमा चीनले मानवनिर्मित टापू बनाएको, त्यसले भूराजनीतिमै संकट उत्पन्न हुनेगरी सामरिक उपस्थिति बढेको विषय अमेरिकाले उठाएको थियो ।

साइबर निगरानी गरेर अमेरिकी कम्पनीहरूको डेटासम्म पहुँच बनाएको, कतिपयलाई त साइबर ह्याकिङ नै गरेको आक्रोश उसले सुन्न परेको थियो । त्यसै बेला अमेरिकाले ल्याएको पिभोट टु एसिया नामक रणनीतिलाई चीनले आफूलाई चौतर्फी घेराबन्दीमा पार्ने षड्यन्त्रअन्तर्गत आएको रणनीति मान्यो ।

यसर्थ बेइजिङको तिक्तता ट्रम्पसितमात्रै सीमित भने छैन । त्यसै बेला तनाव मत्थर गर्न जी २० सम्मेलनको अवसर पारेर चीन पुगेका ओबामालाई बेइजिङले न्यानो स्वागत गरेको थिएन । एयरपोर्टमा विशिष्ट पाहुनालाई दिइने विशेष सिंढी र रेड कार्पेट नबिछ्याई उनलाई चिसोपनको आभास दिलाएको थियो । कतिसम्म भने उदारमना ओबामाले विमानको पछिल्लो ढोकाबाट बाहिर निस्कनु परेको थियो ।

ट्रम्प त स्वभावैले कट्टर छन्, उनी कटुता र मैत्री एकसाथ चलाउन सक्छन् । चीनसँग ठूलो व्यापार कर तोकेका छन्, अनि संवाद गर्न आफैं पुगेका छन् ।

ट्रम्प आफ्नो पहिलो राष्ट्रपतिकालमा २०१७ मा चीन पुगेका थिए । झन्डै एक दशकपछि पुग्दा थ्यानमन स्क्वायरमा २१ तोपको सलामीसहित ग्रेटहल अफ द पिपलमा उनीहरूको वार्ता चल्यो ।

उनको बुद्धिमता कहाँनेर देखिन्छ भने यति बेला संसारैलाई इरान तथा पश्चिम एसियाको तनाव छ । ट्रम्प त्यस तनावको केन्द्रमा छन् । तर, उनी व्यापार र प्रविधिको मुद्दालाई प्राथमिकतामा राखेर चीनसँग कुरा गर्न चाहन्छन् ।

माथि थोरै प्रसंग उठिसक्यो– ट्रम्पले बहसमा नल्याएको विषय सी चिनफिङ आफैंले प्रमुखतासाथ उठाए, ‘अमेरिकासँग हाम्रो सम्बन्ध रचनात्मक, रणनीतिक र सामान्यतयाः स्थिर छ । दुवै पक्षलाई हित हुनेगरी व्यापारिक तथा कूटनीतिक सम्बन्ध तय गरिएको छ ।

ट्रम्पले दुवै देश आपसमा मिलेर साझा विजयको खोजीमा जान सक्ने आशय राखेको अमेरिकी प्रेसहरूले लेखिरहेका छन् । अमेरिकी राष्ट्रपतिले इंगित गरेको साझा जित खासगरी व्यापारिक र प्राविधिक विषयमा केन्द्रित रहेको जानकार विज्ञहरुले बताइरहेका छन् ।

त्यसैकारण यति बेला एलन मस्कदेखि विभिन्न कम्पनीको सिईओ राजनीति–कूटनीतिको केन्द्रमा आएका छन् । लगानी बैंकिङमा चर्चित गोल्डम्यान साक्सका प्रमुख डेभिड सोलोमनसम्म छन् यो भ्रमणमा । एक किसिमले भन्ने हो भने वार्ता ट्रम्पले मात्रै होइन, उनीहरू पनि गरिरहेका छन् समकक्षीहरूसँग । अनि ट्रम्प आफैं चीन पुगेर बेइजिङको वास्तविक शक्ति कति छ भनेर परीक्षण गर्न समेत चाहेका हुन् ।

सीले ताइवानको विषयमा जोड दिँदा ट्रम्प प्रविधिको विषयान्तर गर्न खोज्छन् । ट्रम्पले हर्मुजको खाडीबाट व्यापार खोल्ने विषयमा राय दिँदा सीको चासो युद्ध रोक्नेतर्फ छ ।

संसारकै चासो यतिबेला यी दुई मानिसमा केन्द्रित किन छ भने, उनीहरूले आफ्नो अहंकारलाई केन्द्रमा राख्छन् कि व्यापारिक युद्धविराम अर्थात् ट्रेड ट्रुस कायम राखेर अघि बढ्न तयार छन् ? के ट्रम्प साँच्चिकै चिनियाँ सामानमा लगाइएका कर कडा बनाइराख्छन् कि पछि हट्छन् त ? यसको जवाफ बेइजिङमा खोजी भइरहेको छ ।

अर्को महत्वपूर्ण विषय सेमीकन्डक्टरको हो । अमेरिकाले चीनमाथि अति उच्च गुणस्तरका चिप र एआई प्रविधि प्रयोगमा आफ्नो पहुँच दिइरहेको छैन । उता चीनले जवाफी प्रतिवाद गर्दै दुर्लभ खाले खनिज अमेरिका पठाउन नदिने चुनौती दिइरहेको छ ।

सीले ट्रम्पलाई अब दुई देश प्रतिद्वन्द्वी होइन, मित्र हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । दुवै देशले अब परस्पर जित र हित हुने एजेन्डामा मिलेर काम गर्नुपर्ने मत राखेका छन् ।

ट्रम्पले पनि सीलाई मुखर रुपमै साथी, महान नेता भनी फुरुक्क पारेका छन् । हुन त यिनै ट्रम्प हुन्, जसले केही वर्षअघि चीनले आफूहरुलाई ठगिरहेको बताएका थिए । उनले चीनसँग आफूहरूले आर्थिक मामिलामा आत्मसमर्पण नगर्ने पनि भनेका थिए ।

ट्रम्पको कुनचाहिँ अभिव्यक्ति अन्तिम होला !

उता सी भने धेरै बहिर्मुखी खालका छैनन्, त्यसैले उनले खासमा के सोचिरहेका छन् भन्ने थाहा पाउन यसै पनि सहज छैन । बाणिज्य, आइटी र भूराजनीतिका विषयमा उनीहरुले लिने नीतिमार्फत् ट्रम्प र सीबीचको वार्ताको वास्तविक परिणति पत्ता लाग्ने छ ।

र, फेरि पनि- युद्ध रोक्ने कि अर्को सामरिक तनावतर्फ जाने ? यिनै दुई व्यक्तिको हातमा धेरैजसो निर्भर छ ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?