+
+
Shares

कावासोतीमा गैंडाको मृत्यु : करेन्ट लगाएर मारेको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा मृत भेटिएको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ।
  • चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले मृत गैँडाको पोष्टमार्टम गरेको छ र रिपोर्ट आज साँझसम्म आउनेछ।
  • चालु आर्थिक वर्षमा निकुञ्ज तथा आसपासमा २० वटा गैँडा विभिन्न कारणले मरेका छन् र गैँडा गणना २०८३ मा सारिएको छ।

२ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा शुक्रबार बिहान मरेको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ ।

पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको ऐलानी खेतभित्र अन्दाजी २५ बर्षको भाले गैंडा मृत फेला परेको थियो ।

गैँडा मरेको स्थान नजिकै विद्युतीय धरापका लागि प्रयोग हुने सामग्रीहरु डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले फेला पारेको छ ।

मृत गैँडालाई डिभिजन वन कार्यालयमा ल्याई चितवन राष्ट्रिय निकुञ्ज बाट खटिएको प्राविधिक टोलीद्वारा पोष्टमार्टम गरिएको थियो ।

आज साँझसम्म पोष्टमार्टमको रिर्पोट आउने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । पोष्टमार्टम पश्चात गैडाको खाग थान १ र खुर थान १२ सुरक्षित रूपमा निकालिएको तथा बाँकी सम्पूर्ण अंग प्रत्यङ्ग डिभिजन वन कार्यालय नवलपुरको परिसरभित्र खाडल खनी व्यवस्थापन गरिएको छ ।

घटनास्थल वरपर गरिएको खोजतलासका क्रममा मृत गैँडा रहेको स्थानदेखि करिब २०० मिटर दक्षिणतर्फ लोकाहा खोलाको काँसघारीमा जिआई (बेन्डिङ) तारले बेरिएका २७ वटा बाँसका किल्ला लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको छ ।

साथै घटनास्थलको उत्तर पश्चिमतर्फ रहेको घरबाट सिंगल फेजको रिङसहितको करिब १३ मिटर वाइरिङ तारसमेत बरामद भएको छ ।

घटनास्थलबाट बरामद गरिएका सामग्री तथा घटनास्थलको अवस्थालाई आधार मान्दा गैँडाको मृत्यु करेन्ट लगाई गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सोही आधारमा घटनास्थलबाट खेत भोगचलन गर्ने दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।

घटनाको थप अनुसन्धानका डिभिजन बन कार्यालयले एक अनुसन्धान अधिकृत तोकेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी सुवास अधिकारीले जानकारी दिए ।

निकुञ्जका सूचना अधिकारी थापामगरका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म निकुञ्ज तथा आसपासका क्षेत्रमा २० वटा गैँडा विभिन्न कारणले मरेका छन् ।

चालु आर्थिक वर्षमा गैँडा गणना गर्ने भनिए पनि समय अभाव भएको भन्दैं अर्को वर्ष सारिएको छ । बजेट अभाव भन्दैं अघिल्लो वर्ष २०८१ हुनुपर्ने गैँडा गणना २०८२ मा सारिएको थियो । तर, २०८२ मा पनि समय अभाव भन्दैं २०८३ मा सारिएको छ । हरेक चार चार बर्षमा गर्ने गैँडा गणना २०७७ (सन् २०२१ ) साल चैत ९ गतेदेखि २७ गतेसम्म भएको थियो ।

सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरेर ७५२ गैँडा रहेको तथ्यांक सार्वजनिक भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?