News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित प्रजातान्त्रिक समाजवादको विचारधारा अपनाएको छ।
- रास्वपाले १०० बुँदे कार्यसूचीमार्फत आफ्नो नीति र रणनीति कार्यान्वयन गर्दै निर्वाचन वाचापत्र प्रस्तुत गरेको छ।
- लेखकले वर्तमान सरकारले न्यायसहितको उदार अर्थनीति कार्यान्वयन गरे सुशासन र विकासमा गति आउने बताएका छन्।
विगत तीन वर्षदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सङ्क्रमणकालीन सङ्कट र आशातीत वैकल्पिक राजनीतिक शक्तिबीचको सहसम्बन्ध रेखीय रूपमा वृद्धि हुँदै थियो । त्यही समयमा पुराना ठूला दलका नेतादेखि कार्यकर्ता र केही राजनीतिक विश्लेषकहरूले रास्वपालाई दर्शन, सिद्धान्त र विचारविहीन पार्टीको भाष्य निर्माण गरी प्रचार गरिरहे ।
तर सिद्धान्तका जार्गनयुक्त भाषण धेरै हुने तर डेलिभरी (नतिजा) को कमीबाट वाक्क भएका नागरिकहरूले नपत्याउँदा सङ्क्रमणकालीन सङ्कटको रेखा छोटो र आशातीत वैकल्पिक राजनीतिक शक्तिको रेखा लामो मात्र होइन, घातांकीय रूपमा वृद्धि भयो । त्यसको परिणाम गत सङ्घीय निर्वाचनले पुष्टिसमेत गरिसकेको छ ।
कतिपयले भाष्य बनाउन मेहनत गरिरहेको जस्तै के रास्वपा सिद्धान्त र विचारविहीन हो त ? उसको दस्तावेज, नीति-रणनीति र निर्वाचन वाचापत्रले राजनीतिक विचारधारालाई सामीप्यता राख्दैन त ? के रास्वपाको राजनीतिक दर्शन शुद्ध लोकप्रियतावाद नै हो त ? तसर्थ, यो लेखमा समग्र विचारधारा, रास्वपाको अर्थ-राजनीति विचारधारा, दिशा र कार्यान्वयनको अवस्था मन्थन गर्ने जमर्को गरिएको छ ।
विचारधारा भनेको समाज, राजनीति, अर्थतन्त्र वा जीवनलाई कसरी चलाउने भन्नेबारे विश्वास, मूल्य र उद्देश्यहरूको समूह हो । विचारधाराले मानिसको जीवनमा वास्तविक परिप्रेक्ष्यसँग काल्पनिक एकत्व गाँस्छ । विचारधारा भनेको रहिरहेको सामाजिक मान्यता पनि हो । जस्तो- सामन्तवादी युगमा दासहरूले सामन्तहरूको एकचित्त भएर चाकरी गरिरहनुपर्छ किनकि यो पूर्वजन्मको फल हो; औद्योगिक युगमा मालिकसँग आफ्नो हक र अधिकारका लागि मजदुरले आन्दोलन वा क्रान्ति गर्नुपर्छ किनकि उनीहरूले गरिब मजदुरलाई शोषण गरेका छन् ।
दार्शनिक कार्ल मार्क्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्नेपछि भ्लादिमिर लेनिनले कम्युनिस्ट पार्टी निर्माणको कामलाई रफ्तारमा अगाडि बढाए र संशोधित घोषणापत्रमार्फत नियन्त्रित समाजवादको विचारधारा निर्माण गरे ।
माओले चिनियाँ विशेषताको क्रान्तिमार्फत समाजवाद र साम्यवादी विचारधारा निर्माण गरे । नेपाललगायत कम विकसित राष्ट्रहरूमा केही नेताहरूले पनि लेनिन, माओ र होचिमिन्हका केही पुस्तक अध्ययन तथा कथा (न्यारेटिभ्स) बनाए । ग्रामीण भेगमा कार्यकर्ताहरूले पनि त्यही कथा, नेताको चर्को भाषण र जनवादी गीत-सङ्गीतको माध्यमद्वारा कम्युनिस्ट विचारधाराको निर्माण गरेको परिवेश हो ।
‘पुँजीवादमा आर्थिक सङ्कट आएपछि क्रान्ति हुन्छ’ भन्ने कार्ल मार्क्सको भनाइलाई आधार मान्दै प्रथम विश्वयुद्धको पराजयपछिको कमजोर जर्मनीमा रोजा लक्जेम्बर्गले सन् १९१९ मा गरेको क्रान्ति असफल भयो । त्यसपछि “फ्र्याङ्कफर्ट स्कुल अफ थट” को आयोजनामा मार्क्सवादीहरू भेला भएर आन्दोलन असफल हुनुका कारण र मार्क्सवादका सबल-दुर्बल पक्ष अध्ययन गरी नयाँ विचारको विकास गरे, जसलाई नवमार्क्सवादी विचार वा प्रजातान्त्रिक समाजवादले चिनिन्छ ।
त्यही विचार पश्चिम युरोपमा समृद्धि र विकासको आधार बन्यो । त्यही विचारबाट प्रभावित भएर भारतमा जवाहरलाल नेहरू र नेपालमा बीपी कोइरालाले प्रजातान्त्रिक विचारधाराको विकास गरे र आमकार्यकर्ताहरूले केही प्रकाशन र ‘न्यारेटिभ्स’ निर्माण गरी सामान्य मानिसको विचारधारा निर्माण गरेको हो ।
तसर्थ, विचारधारा कुनै लक्ष्य वा आदर्शतर्फ केन्द्रित हुन्छ, मानिसलाई प्रेरित गर्छ, राजनीतिक वा सामाजिक आन्दोलनसँग जोडिन्छ र “के हुनुपर्छ ?” भन्ने प्रश्नमा जोड दिन्छ । त्यसैले आजका विकसित राष्ट्रहरूले अर्थ-राजनीतिक विचारधाराहरू निर्माण र वास्तविक जीवनमा कार्यान्वयन गरेका छन् भने नेपालजस्ता कम विकसित मुलुकका पार्टी र नेताहरूले विचारधारालाई आन्तरिकीकरण गर्दै कठोर वास्तविकतामाथि काल्पनिक लेपहरू ओढाइरहेका हुन्छन् र कथाहरू बुनिरहेका हुन्छन् ।
जननेता बिपीका अनुयायी प्रदीप गिरिले व्यक्त गरेका विचारधारा सुन्न र अध्ययन गर्न लायक भए तर आफ्नो पार्टीबाट कार्यान्वयन गर्न सकेनन् । त्यसैगरी मार्क्सवादी विद्वान् घनश्याम भूसाल विचारको व्याख्या गर्ने तर दुई पटक मन्त्री हुँदा खाका नकोरेकाले आज फेसबुकका पाँच मिनेटको भिडियोमा सीमित देखिन्छन् । आजको भनाइ र गराइको राजनीतिक विरोधाभासले नै विचारधारालाई केवल चुनावी नारा मात्र बनाएको छ ।
प्राचीनकालदेखि नै विभिन्न विचारधाराबाट विश्व राजनीति चले पनि दोस्रो विश्वयुद्धपश्चात् विश्व पुँजीवादी र समाजवादी दुई विचारधारामा (ध्रुवमा) विभाजित गरियो । पुँजीवादको विकास गर्ने क्रममा सन् ६० को दशकमा उदारवाद र नवउदारवादको विकास भयो । यसको विकास गर्ने अर्थशास्त्रीहरू मिल्टन फ्रिडम्यान र फ्रेडरिक हायेक थिए ।
सन् १९६० देखि १९९० सम्म यसको विस्तार, आर्थिक र प्राविधिक विकास भए तापनि उदारवाद र नवउदारवादले विश्वमा गहिरो असमानता निम्त्याएको निष्कर्ष अमेरिकी अर्थशास्त्री एवम् नोबेल पुरस्कार विजेता जोसेफ स्टिग्लिट्ज र फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीले निकाले । अहिले विश्वमा न्यायसहितको उदार अर्थतन्त्रको बहस अगाडि आइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त र विचार नै न्यायसहितको उदार अर्थनीति रहेको भनी आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको मूल प्रस्थापनामा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ मा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गरिएको छ । तथा, “लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतसाधनको दिगो परिचालन गर्दै उद्यमशीलता, लगानी अनुकूल एवम् प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार गर्ने” नीति तथा रणनीति उल्लेख गरिएको छ ।
नेपालको सङ्घीय शासन प्रणालीलाई सुधार गरी कम खर्चिलो बनाउने कुरा उल्लेख गरेको दलको अर्थ-राजनीतिक विचारधारा स्पष्ट छैन र ? यसले युरोपका स्क्यान्डिनेभियन मुलुकहरूको अर्थ-राजनीतिक विचारधारासँग सामीप्यता राखेको देखिन्छ ।
रास्वपाले यही विचारधाराअनुसार नागरिकसामु आफ्नो निर्वाचन वाचापत्र प्रस्तुत गरेको र त्यसकै आधारमा १०० बुँदे कार्यसूची प्रभावकारी कार्यान्वयनका साथ अगाडि बढेकाले ‘प्रजातान्त्रिक समाजवादको लेप लगाएर दलाल पुँजीवाद’ र ‘कम्युनिस्टको बर्को ओढेर आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिजम)’ लागु गर्ने शक्तिभन्दा अलि टाढा छ भन्न सकिन्छ ।
सन् १९९७ मै बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो भाषणमा भनेका थिए- डेलिभरी, डेलिभरी, डेलिभरी ! तसर्थ, वर्तमान सरकारले पहिलो काम डेलिभरीमार्फत विचारधारालाई कार्यान्वयन गरी व्यावहारिक जवाफ दिनुपर्नेछ । न्यायसहितको उदार अर्थनीतिको विचारधारालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्यायो भने सुशासन र विकासले गति लिनेछ ।
तर सिद्धान्त र विचारधारा सँगसँगै विधि, मूल्य, मान्यता, पद्धति र संस्कारको विकास गरी पार्टी सभापतिले भनेजस्तो ‘जीवनी लेख्ने होइन, इतिहास लेख्ने बेला आएको’ कुरा कम चुनौतीपूर्ण छैन । आजको विश्व राजनीतिमा लोकप्रियतावाद (पपुलिजम) पनि मुखरित भएकोले व्यक्ति देवत्वकरणबाट जोगिएर वर्तमान भूराजनीतिक जोखिम विश्लेषण र आफ्नो अर्थ-राजनीतिक विचारधारालाई कार्यान्वयन गरी ‘सत्ता मात्र होइन राजनीति’ भन्ने विचारलाई व्यवहारमा उतार्ने सुनौलो अवसर पनि रास्वपासामु आएको छ ।
(लेखक रास्वपा दोलखा जिल्ला अधिवेशन समन्वय संयोजक हुन् ।)
प्रतिक्रिया 4