+
+
Shares

विचारविहीनताको आरोप र रास्वपाले लिएको अर्थ-राजनीतिक बाटो

अब सिद्धान्तका जार्गन र आदर्शका कथाहरू बुनेर मात्र पुग्दैन; रास्वपा र वर्तमान सरकारले सुशासन, डेलिभरी र कार्यान्वयनमार्फत आफ्नो अर्थ-राजनीतिक विचारधारा प्रमाणित गर्नुपर्ने बेला आएको छ ।

विक्रम कार्की विक्रम कार्की
२०८३ जेठ २ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित प्रजातान्त्रिक समाजवादको विचारधारा अपनाएको छ।
  • रास्वपाले १०० बुँदे कार्यसूचीमार्फत आफ्नो नीति र रणनीति कार्यान्वयन गर्दै निर्वाचन वाचापत्र प्रस्तुत गरेको छ।
  • लेखकले वर्तमान सरकारले न्यायसहितको उदार अर्थनीति कार्यान्वयन गरे सुशासन र विकासमा गति आउने बताएका छन्।

विगत तीन वर्षदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सङ्क्रमणकालीन सङ्कट र आशातीत वैकल्पिक राजनीतिक शक्तिबीचको सहसम्बन्ध रेखीय रूपमा वृद्धि हुँदै थियो । त्यही समयमा पुराना ठूला दलका नेतादेखि कार्यकर्ता र केही राजनीतिक विश्लेषकहरूले रास्वपालाई दर्शन, सिद्धान्त र विचारविहीन पार्टीको भाष्य निर्माण गरी प्रचार गरिरहे ।

तर सिद्धान्तका जार्गनयुक्त भाषण धेरै हुने तर डेलिभरी (नतिजा) को कमीबाट वाक्क भएका नागरिकहरूले नपत्याउँदा सङ्क्रमणकालीन सङ्कटको रेखा छोटो र आशातीत वैकल्पिक राजनीतिक शक्तिको रेखा लामो मात्र होइन, घातांकीय रूपमा वृद्धि भयो । त्यसको परिणाम गत सङ्घीय निर्वाचनले पुष्टिसमेत गरिसकेको छ ।

कतिपयले भाष्य बनाउन मेहनत गरिरहेको जस्तै के रास्वपा सिद्धान्त र विचारविहीन हो त ? उसको दस्तावेज, नीति-रणनीति र निर्वाचन वाचापत्रले राजनीतिक विचारधारालाई सामीप्यता राख्दैन त ? के रास्वपाको राजनीतिक दर्शन शुद्ध लोकप्रियतावाद नै हो त ? तसर्थ, यो लेखमा समग्र विचारधारा, रास्वपाको अर्थ-राजनीति विचारधारा, दिशा र कार्यान्वयनको अवस्था मन्थन गर्ने जमर्को गरिएको छ ।

विचारधारा भनेको समाज, राजनीति, अर्थतन्त्र वा जीवनलाई कसरी चलाउने भन्नेबारे विश्वास, मूल्य र उद्देश्यहरूको समूह हो । विचारधाराले मानिसको जीवनमा वास्तविक परिप्रेक्ष्यसँग काल्पनिक एकत्व गाँस्छ । विचारधारा भनेको रहिरहेको सामाजिक मान्यता पनि हो । जस्तो- सामन्तवादी युगमा दासहरूले सामन्तहरूको एकचित्त भएर चाकरी गरिरहनुपर्छ किनकि यो पूर्वजन्मको फल हो; औद्योगिक युगमा मालिकसँग आफ्नो हक र अधिकारका लागि मजदुरले आन्दोलन वा क्रान्ति गर्नुपर्छ किनकि उनीहरूले गरिब मजदुरलाई शोषण गरेका छन् ।

दार्शनिक कार्ल मार्क्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्नेपछि भ्लादिमिर लेनिनले कम्युनिस्ट पार्टी निर्माणको कामलाई रफ्तारमा अगाडि बढाए र संशोधित घोषणापत्रमार्फत नियन्त्रित समाजवादको विचारधारा निर्माण गरे ।

माओले चिनियाँ विशेषताको क्रान्तिमार्फत समाजवाद र साम्यवादी विचारधारा निर्माण गरे । नेपाललगायत कम विकसित राष्ट्रहरूमा केही नेताहरूले पनि लेनिन, माओ र होचिमिन्हका केही पुस्तक अध्ययन तथा कथा (न्यारेटिभ्स) बनाए । ग्रामीण भेगमा कार्यकर्ताहरूले पनि त्यही कथा, नेताको चर्को भाषण र जनवादी गीत-सङ्गीतको माध्यमद्वारा कम्युनिस्ट विचारधाराको निर्माण गरेको परिवेश हो ।

पुराना दलहरूले रास्वपालाई दर्शन, सिद्धान्त र विचारविहीन पार्टीको भाष्य निर्माण गर्न खोजे पनि रास्वपाको मूल प्रस्थापना नै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र हो

‘पुँजीवादमा आर्थिक सङ्कट आएपछि क्रान्ति हुन्छ’ भन्ने कार्ल मार्क्सको भनाइलाई आधार मान्दै प्रथम विश्वयुद्धको पराजयपछिको कमजोर जर्मनीमा रोजा लक्जेम्बर्गले सन् १९१९ मा गरेको क्रान्ति असफल भयो । त्यसपछि “फ्र्याङ्कफर्ट स्कुल अफ थट” को आयोजनामा मार्क्सवादीहरू भेला भएर आन्दोलन असफल हुनुका कारण र मार्क्सवादका सबल-दुर्बल पक्ष अध्ययन गरी नयाँ विचारको विकास गरे, जसलाई नवमार्क्सवादी विचार वा प्रजातान्त्रिक समाजवादले चिनिन्छ ।

त्यही विचार पश्चिम युरोपमा समृद्धि र विकासको आधार बन्यो । त्यही विचारबाट प्रभावित भएर भारतमा जवाहरलाल नेहरू र नेपालमा बीपी कोइरालाले प्रजातान्त्रिक विचारधाराको विकास गरे र आमकार्यकर्ताहरूले केही प्रकाशन र ‘न्यारेटिभ्स’ निर्माण गरी सामान्य मानिसको विचारधारा निर्माण गरेको हो ।

तसर्थ, विचारधारा कुनै लक्ष्य वा आदर्शतर्फ केन्द्रित हुन्छ, मानिसलाई प्रेरित गर्छ, राजनीतिक वा सामाजिक आन्दोलनसँग जोडिन्छ र “के हुनुपर्छ ?” भन्ने प्रश्नमा जोड दिन्छ । त्यसैले आजका विकसित राष्ट्रहरूले अर्थ-राजनीतिक विचारधाराहरू निर्माण र वास्तविक जीवनमा कार्यान्वयन गरेका छन् भने नेपालजस्ता कम विकसित मुलुकका पार्टी र नेताहरूले विचारधारालाई आन्तरिकीकरण गर्दै कठोर वास्तविकतामाथि काल्पनिक लेपहरू ओढाइरहेका हुन्छन् र कथाहरू बुनिरहेका हुन्छन् ।

जननेता बिपीका अनुयायी प्रदीप गिरिले व्यक्त गरेका विचारधारा सुन्न र अध्ययन गर्न लायक भए तर आफ्नो पार्टीबाट कार्यान्वयन गर्न सकेनन् । त्यसैगरी मार्क्सवादी विद्वान् घनश्याम भूसाल विचारको व्याख्या गर्ने तर दुई पटक मन्त्री हुँदा खाका नकोरेकाले आज फेसबुकका पाँच मिनेटको भिडियोमा सीमित देखिन्छन् । आजको भनाइ र गराइको राजनीतिक विरोधाभासले नै विचारधारालाई केवल चुनावी नारा मात्र बनाएको छ ।

रास्वपा प्रजातान्त्रिक समाजवादको लेप लगाएर दलाल पुँजीवाद र कम्युनिस्टको बर्को ओढेर आसेपासे पुँजीवाद लागु गर्ने शक्तिभन्दा अलि टाढा छ भन्न सकिन्छ

प्राचीनकालदेखि नै विभिन्न विचारधाराबाट विश्व राजनीति चले पनि दोस्रो विश्वयुद्धपश्चात् विश्व पुँजीवादी र समाजवादी दुई विचारधारामा (ध्रुवमा) विभाजित गरियो । पुँजीवादको विकास गर्ने क्रममा सन् ६० को दशकमा उदारवाद र नवउदारवादको विकास भयो । यसको विकास गर्ने अर्थशास्त्रीहरू मिल्टन फ्रिडम्यान र फ्रेडरिक हायेक थिए ।

सन् १९६० देखि १९९० सम्म यसको विस्तार, आर्थिक र प्राविधिक विकास भए तापनि उदारवाद र नवउदारवादले विश्वमा गहिरो असमानता निम्त्याएको निष्कर्ष अमेरिकी अर्थशास्त्री एवम् नोबेल पुरस्कार विजेता जोसेफ स्टिग्लिट्ज र फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीले निकाले । अहिले विश्वमा न्यायसहितको उदार अर्थतन्त्रको बहस अगाडि आइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त र विचार नै न्यायसहितको उदार अर्थनीति रहेको भनी आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मूल प्रस्थापनामा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ मा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गरिएको छ । तथा, “लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतसाधनको दिगो परिचालन गर्दै उद्यमशीलता, लगानी अनुकूल एवम् प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार गर्ने” नीति तथा रणनीति उल्लेख गरिएको छ ।

नेपालको सङ्घीय शासन प्रणालीलाई सुधार गरी कम खर्चिलो बनाउने कुरा उल्लेख गरेको दलको अर्थ-राजनीतिक विचारधारा स्पष्ट छैन र ? यसले युरोपका स्क्यान्डिनेभियन मुलुकहरूको अर्थ-राजनीतिक विचारधारासँग सामीप्यता राखेको देखिन्छ ।

रास्वपाले यही विचारधाराअनुसार नागरिकसामु आफ्नो निर्वाचन वाचापत्र प्रस्तुत गरेको र त्यसकै आधारमा १०० बुँदे कार्यसूची प्रभावकारी कार्यान्वयनका साथ अगाडि बढेकाले ‘प्रजातान्त्रिक समाजवादको लेप लगाएर दलाल पुँजीवाद’ र ‘कम्युनिस्टको बर्को ओढेर आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिजम)’ लागु गर्ने शक्तिभन्दा अलि टाढा छ भन्न सकिन्छ ।

सन् १९९७ मै बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो भाषणमा भनेका थिए- डेलिभरी, डेलिभरी, डेलिभरी ! तसर्थ, वर्तमान सरकारले पहिलो काम डेलिभरीमार्फत विचारधारालाई कार्यान्वयन गरी व्यावहारिक जवाफ दिनुपर्नेछ । न्यायसहितको उदार अर्थनीतिको विचारधारालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्यायो भने सुशासन र विकासले गति लिनेछ ।

तर सिद्धान्त र विचारधारा सँगसँगै विधि, मूल्य, मान्यता, पद्धति र संस्कारको विकास गरी पार्टी सभापतिले भनेजस्तो ‘जीवनी लेख्ने होइन, इतिहास लेख्ने बेला आएको’ कुरा कम चुनौतीपूर्ण छैन । आजको विश्व राजनीतिमा लोकप्रियतावाद (पपुलिजम) पनि मुखरित भएकोले व्यक्ति देवत्वकरणबाट जोगिएर वर्तमान भूराजनीतिक जोखिम विश्लेषण र आफ्नो अर्थ-राजनीतिक विचारधारालाई कार्यान्वयन गरी ‘सत्ता मात्र होइन राजनीति’ भन्ने विचारलाई व्यवहारमा उतार्ने सुनौलो अवसर पनि रास्वपासामु आएको छ ।

(लेखक रास्वपा दोलखा जिल्ला अधिवेशन समन्वय संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?