२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु सिरिजमा नेपालले अमेरिकाविरुद्ध १९६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटियो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । शेहान ५२ बलमा ५० रन बनाएर आउट भए । शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए ।
१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।
मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए । शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे ।
बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए ।
प्रतिक्रिया 4