+
+
Shares
संस्मरण :

एक थिएटरको युरोप यात्रा

मैले नेपालीहरूले कान सफा गर्ने अर्को तरिका पनि सिकेँ । पार्कमा कसैले अचानक रोकिएर चराहरूले छोडेको प्वाँख उठाउँथ्यो । सुरुमा त मलाई लाग्यो उनीहरू प्वाँख संकलन गर्दै छन् । तर पछि थाहा भयो— उनीहरूले त्यसलाई कपासको सट्टा प्रयोग गर्थे । त्यो दृश्य देखेर मलाई सधैँ हाँस उठ्थ्यो ।

फिलिप नोइभाइलर फिलिप नोइभाइलर
२०८३ जेठ २ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका आठ जना थिएटर कलाकारले आर्थिक संकटका बाबजुद जर्मनी, डेनमार्क र स्विडेनमा थिएटर टुर सम्पन्न गरे।
  • टुरका क्रममा कलाकारहरूले स्थानीय सहयोग र क्राउडफन्डिङबाट छ हजार युरोभन्दा बढी रकम जुटाए।
  • थिएटरमार्फत सामाजिक चेतना जगाउने उद्देश्यले नाटक मञ्चन र कार्यशाला सञ्चालन गरियो।

थिएटरले तपाईंलाई असम्भवलाई चुनौती दिन सिकाउँछ । सायद यो हरेक प्रकारको लगाव र लक्ष्यमा लागू हुन्छ । कुनै कुरा त्यतिबेलासम्म असम्भव हुन्छ, जतिबेलासम्म हामी त्यसलाई सम्भावनाको रूपमा सोच्दैनौँ । हामीले सोचेका थियौँ— जमिनमुनि लाइभ रेडियो नाटक प्रस्तुत गर्न सकिन्छ कि सकिँदैन ? करिब ९० प्रतिशत आर्द्रता भएको तामाको खानीभित्र ।

हामीले यो पनि सोचेका थियौँ— सिनेमा हलमा रेडियो नाटक देखाउन सकिन्छ कि सकिँदैन ? जहाँ सिनेमा हल ६० मिनेटसम्म पूरै अँध्यारो रहनेछ । तर, त्रि–आयामिक ध्वनि (स्टेरियो साउन्ड) को संसार भने जीवित रहनेछ । यी दुवै कुरा सम्भव भए पनि चुनौतीपूर्ण थिए । तर यस वर्षको अरू कामले यो योजनालाई स्थगित गरिदियो ।

यो सबै काम चार हजार युरो ऋण गरेर सुरु भयो । हामीले सोच्यौँ— नेपालका आठ जना थिएटर कलाकारलाई युरोप निम्त्याउन सम्भव छ । मेरो सबै आशा गोएथे–इन्स्टिच्युटको ठूलो अनुदान कार्यक्रममा टिकेको थियो । तर नेपाली कलाकारहरूको थिएटर टुर सुरु हुन ठीक एक महिनाअघि गोएथे–इन्स्टिच्युटले हाम्रो प्रस्ताव अस्वीकृत भएको सूचना दियो ।

यात्रा तय भइसकेको थियो । जर्मनी, डेनमार्क र स्विडेनका कार्यक्रम स्थलहरू बुक भइसकेका थिए । भिसासमेत स्वीकृत भइसकेको थियो । हामीसँग पैसा मात्रै थिएन । म र शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज (युव) बीच आपत्कालीन फोन कल भयो । मैले सबै हिसाबकिताब गरेको थिएँ । न्यूनतम खर्चमा पनि यो टुर आर्थिक रूपमा संकटमा पर्ने निश्चित थियो । तर युवले यसलाई फरक दृष्टिले हेरे । उनले भने, ‘हामीलाई यस्तो मौका जीवनमा धेरै कम मात्रै मिल्छ । हामी कुनै न कुनै उपाय पत्ता लगाउँछौँ । प्लेनको टिकट त पहिल्यै काटिसकिएको छ । केही पैसा इयु नेपालले दिएको छ । बाँकी खर्चको कुरा हो ।’

कल्पना गर्नुहोस्— तपाईं यस्तो देशमा बस्नुहुन्छ जहाँ तपाईंको मासिक आम्दानी करिब ११० युरो मात्र हुन्छ । के तपाईं आफ्नो पूरै वार्षिक आम्दानी एउटा राउन्ड–ट्रिप प्लेन टिकटमा खर्च गर्नुहुन्छ ? के तपाईं यस्तो देशमा यात्रा गर्नुहुन्छ जहाँ सबै कुरा पाँच गुणा महँगो छ ? यी आठ जना कलाकार युरोपमा हुँदा— यदि उनीहरूले टिकट, सहयोग वा अनुदानमार्फत केही कमाउन सकेनन् भने— यो कार्यक्रम उनीहरूको श्रमको शोषण हो । यो तथाकथित ‘ग्लोबल नर्थ’ र ‘ग्लोबल साउथ’ बीचको तीतो सत्य हो । तर युवले आफ्नो यात्राको निर्णय गरिसकेका थिए । उता गोएथे–इन्स्टिच्युटले सहयोग रद्द गरिसकेको थियो । तर खेल अझै सकिएको थिएन ।

केही साना अनुदानहरू पहिले नै हामीसँग थिए । बाँकी हामीले तत्काल परिस्थितिअनुसार व्यवस्थापन गर्ने थियौँ । क्राउडफन्डिङ मात्र बाँकी विकल्प थियो । र म सम्भव भएसम्म यात्रालाई सहज बनाउने प्रयासमा थिएँ ।

किन म मनदेखि जुटेँ त ? किनभने म यी कलाकारहरूको समूहसँग प्रेममा परेँ । शिल्पी थिएटरसँगको मेरो मित्रता गहिरो भइसकेको थियो । म उनीहरूको साहसको साँच्चै प्रशंसा गर्छु । उनीहरूको उद्देश्यले मलाई आकर्षित गरेको थियो— थिएटरमार्फत सामाजिक परिवर्तन ल्याउने, दर्शकहरूको सोचाइमा हलचल पैदा गराउने ।

नेपालमा ती छोराछोरीहरू जसले आफ्ना बुवाको पहिचान प्रमाणित गर्न सक्दैनन् वा गर्न चाहँदैनन्— उनीहरूलाई नागरिकता दिइँदैन वा तिनले नागरिकता पाउन निकै कठिन छ । हाम्रो देशबाट हेर्दा यो कुरा लगभग अकल्पनीय लाग्छ । युवले यही विषयमा चेतना जगाउन एउटा नाटक लेखे । नाटकमा मुख्य पात्रको भूमिका निर्वाह गर्ने कलाकार पनि बुवाविहीन हुर्केकी थिइन् । र, उनले आफ्नो जन्मदेशमा अरू जस्तै नागरिक बन्न वर्षौँसम्म संघर्ष गर्नुपरेको थियो ।

नेपालका संगीतकार र म्युजिकल ब्यान्डहरू पहिले पनि युरोप आएका छन् । तर यति ठूलो थिएटर समूह आएको मलाई थाहा थिएन । त्यसैले टुरको नारा ‘सीमाभन्दा पर’ एकदमै उपयुक्त थियो । यो यात्राले विस्तारै मलाई घच्घच्याउन थाल्यो— कलाले के गर्न सक्छ भन्ने एउटा उदाहरणका रूपमा देखाउन सकिन्छ जस्तो लाग्यो । विभिन्न संस्कृतिका मानिसहरूलाई एक ठाउँमा ल्याउने शक्ति कलामा छ । यो केवल एउटा सोख थिएन । यो युद्ध र संकटले चिरिएको संसारमा आशासहित बाँच्ने एउटा अभ्यास थियो ।

त्यसपछि म एक प्रकारको नेपाली टुर म्यानेजर बनेँ । सबैसँग सम्पर्क राख्ने र विकल्पहरूको खोजी गर्ने । जर्मनीका फ्राइबर्ग, कोलोन, विस्बाडेन, माइन्ज र फ्राङ्कफुर्टका स्वतन्त्र थिएटरकर्मीहरूसँग सम्पर्क गर्न थालेँ । विडम्बनापूर्ण कुरा के भयो भने— सबैभन्दा कम बजेट भएका स्वतन्त्र थिएटरहरूले नै सबै उपाय खोजे । यदि शिल्पी थिएटर फरक समयमा आएको भए— सरकारी थिएटरमा पनि नाटक देखाउन सम्भव हुन्थ्यो होला । तर जुलाईमा सबै सरकारी थिएटरहरू गर्मी बिदामा थिए ।

स्टकहोममा, कलाकार समूहका एक सदस्यले थोरै स्विडिस क्रोनर मागे । यो कुरा एक दस वर्षे चलाख बालकले सुने । ती बालकले पैसा माग्ने कलाकारलाई भने, ‘तपाईंहरूसँग क्रोनर छैन ? खल्तीमा पैसा नबोकी कसरी यात्रा गर्नुहुन्छ ?’ हामी हाँस्यौँ र भन्यौँ, ‘अति राम्रो प्रश्न गर्‍यौ । यसको उत्तर पत्ता लगायौ भने— धेरै कुरा बुझिन्छ ।’

सम्झौता यस्तो थियो— प्रत्येक स्थानको रेल यात्रा, स्थानीय यातायात, प्रचार, खाना, स्टेज र बसोबासको व्यवस्था गर्ने जिम्मा स्थानीय आयोजकको थियो । त्यसैले हामी अतिथि कोठा, खाली घर, छात्रावासका गद्दा, कन्टेनर वा बालबालिका सुत्ने कोठामा सुत्यौँ । यसरी कलाकार समूहले देश र मानिसहरूलाई नजिकबाट चिने । धेरै ठूला कलाकारहरूले कहिल्यै नदेख्ने संसार शिल्पीका कलाकारहरूले देखे । महँगा होटलहरूमा बसेर यो सबै अनुभव गर्न सम्भव थिएन । फ्राइबर्गमा, अनिता र मार्सेलोले आठवटा साइकलको व्यवस्था गरे । खानामा पनि हामीले पैसा बचायौँ । कहीँकहीँ त ठूला भाँडामा दालभात पकाएर पनि खायौँ ।

दुईवटा नाटकको सेट र व्यक्तिगत झोलासहित आधा युरोप पार गर्नुपरेको थियो । हाम्रा ब्यागहरू बोक्नका लागि कोही न कोही साथी छुट्टै गाडीसहित ट्रेन स्टेसनहरूमा आएका हुन्थे । स्टेसनसम्म पुर्‍याउन पनि त्यस्तै व्यवस्था थियो । कलाकारहरूका सामान यति धेरै थिए कि जर्मन रेलका ढोकाअगाडि झोलाहरूले सबै ठाउँ ओगटेको हुन्थ्यो । ट्रेनका गल्लीहरू यति साँघुरा थिए कि कसैलाई छिर्न गाह्रो हुन्थ्यो । केही शिल्पीहरू अनुभवी यात्रु थिए, उनीहरूसँग हल्का झोला मात्र थियो । अरू भने ठूला ब्याग र ट्रलीसँग संघर्ष गर्दै थिए । ‘मलाई लाग्छ मैले गल्ती गरेँ,’ हामीले उनको भारी ट्रली फुटपाथमाथि उचाल्दा सुहानाले हल्का मुस्कानसहित भनिन् ।

यात्रा गर्दा हरेक ठाउँमा शारीरिक, आर्थिक र कागजी झमेलाहरू थिए । यदि तपाईं जर्मन नागरिक भएर नेपाल जाँदा विमानस्थलमा करिब पचास युरो तिरेपछि तपाईंलाई नब्बे दिनसम्म देशभर स्वतन्त्र रूपमा यात्रा गर्न अनुमति दिइन्छ । तर यसको उल्टो, यदि तपाईं नेपाली नागरिक भएर जर्मनी आउनुहुन्छ भने, तपाईंले कागजपत्रको एउटा ठूलो थुप्रो पेस गर्नुपर्छ । तपाईं बस्ने हरेक ठाउँबाट निमन्त्रणा पत्र आवश्यक पर्छ । त्यसका साथै, तपाईंले पचास होइन, नब्बे युरो तिर्नुपर्छ ।

टुरको क्रममा कलाकारमध्ये एक जनाले आफ्नो पासपोर्ट हराइन् । तर हाम्रा प्रिय मित्र राम र उनको नेपाली दूतावाससँगको सम्पर्कका कारण यो समस्या धेरै छिटो समाधान भयो । त्यसबाहेक, महावाणिज्यदूतले कोलोनमा नाटक हेरेका थिए । उनी टुरबाट यति प्रभावित भए कि नयाँ पासपोर्टको खर्च उनले व्यक्तिगत रूपमा व्यहोरे ।

मलाई यो सोचेर चिन्ता लागेको थियो— नेपाली भाषाको नाटक हेर्न कति मानिस आउलान् ? कथावस्तु मुख्यतः सिद्धार्थ गौतमको जीवनमा आधारित थियो, जसलाई पश्चिममा ‘बुद्ध’ भनेर चिनिन्छ । तर अधिकांश दर्शकसँग आवश्यक सांस्कृतिक सूचना थिएन । दर्शकहरूलाई सहज बनाउन मैले एउटा छोटो परिचय लेखेँ । र टुर सुरु हुनुभन्दा एक हप्ताअघि, मैले पूरा नाटक अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गरेँ । तर मलाई डर थियो— कहीँ यो मूल कथाबाट झन् टाढा नपुगोस् ।

कोलोनमा हामीले यसलाई परीक्षण गर्‍यौँ । हामीले सुरुमा अंग्रेजी र जर्मन सबटाइटल सँगसँगै देखाउने योजना बनाएका थियौँ । तर प्राविधिक रूपमा एउटा मात्र सम्भव भयो । प्रदर्शन सुरु हुन बीस मिनेट बाँकी थियो । युव र अनुप दौडँदै मसँग आए । उनीहरूले भने, ‘के तिमी सबटाइटल चलाउन सक्ने अवस्थामा छौ ?’ मेरो शरीरमा एकाएक एड्रेनालिन तरंगित भयो । म मञ्चमा कलाकारहरूले के बोल्छन्, एक शब्द पनि बुझ्दिनँ । यो कुनै अभ्यासविना, अन्धकारमा प्लेन चलाउनु जस्तै थियो । नेपाली भाषाको नाटकमा जर्मन सबटाइटल चलाउनु पर्ने, चलाउने मान्छे एक शब्द पनि नेपाली बुझ्दैन ! तर अर्कोतर्फ, मलाई कथावस्तु र नाटकको लय थाहा थियो । अनुप मेरो ठीक छेउमै बसेका थिए । यदि म अल्मलिएँ भने, उनले अंग्रेजीमा ‘कहाँ पुगेका छौँ’ भनेर बताइदिन सक्थे ।

‘ठीक छ, प्रयास गरौँ,’ मैले भनेँ । त्यो सफल भयो । एक क्षण त सुमित र पबित्रा मञ्चमा जर्मन भाषामै बोलिरहेजस्तो लाग्यो ।

निरन्तर स्थान परिवर्तन हुँदा, प्राविधिक समस्याहरू आउनु स्वाभाविक थियो । नाट्य समूहसँग एउटा प्रोजेक्टर थियो तर त्यो हरेक ठाउँमा फरक–फरक व्यवहार गर्थ्यो । र, यसले घण्टौँ समय खाइदिन्थ्यो । नाटक देखाउने मञ्चको आकार र उपकरणहरू पनि फरक–फरक थिए । हरेक ठाउँमा कलाकारहरूका लागि नयाँ चुनौती थियो ।

डेनमार्कको ओडेन्सेमा, रबिनसँग प्रशस्त स्पटलाइट थिए । लाइटको विकल्प धेरै थियो । तर स्टकहोममा, जम्मा पाँचवटा मात्रै प्रोफाइल लाइट थिए । कहिलेकाहीँ बत्ती राख्ने ट्रसहरू नभएको ठाउँमा जमिनमै राख्नु पर्थ्यो । अधिकांश ठाउँमा मञ्चको उचाइ धेरै भएका हुनाले उनीहरूले निकै उचाइमा काम गर्नुपर्थ्यो । म तलै उभिएर सिँढी समात्दै, रबिनलाई पहिलो खुड्किलोबाट अन्तिम खुड्किलोसम्म माथि चढिरहेको हेर्दा मलाई नै चक्कर आउँथ्यो ।

माइन्ज युनिभर्सिटीको थिएटरमा अनौठो भयो । एकपटक लाइट झुन्ड्याउने बार मञ्चको बीचभागमै अड्कियो । न तल आउँछ न माथि जान्छ । कुनै हालतमा सर्दैन । अनेक प्रयत्न गर्दा पनि नभएपछि हामीले प्राविधिक बोलायौँ । बल्लबल्ल समस्या सुल्झियो । र अन्ततः शो सफल भयो । मेरा प्रिय साथीहरूको शरीर र अनुहार पूरै पसिनाले भिजेको थियो । जसले काम गर्नुपर्ने हो उनी उचाइदेखि डराउँथे । रंगमञ्चको उचाइ निकै थियो तर नाटकको प्रस्तुति दुर्घटनाबाट बचाउन डरभन्दा दृढता बलियो भयो र काम सम्पन्न भयो ।

हामी यात्राभरि राम्ररी निदाएका थिएनौँ । नाटक प्रदर्शनको बीचमा जब हामीलाई एक–दुई दिन फुर्सद मिल्थ्यो, हामी घुमफिरमा व्यस्त हुन्थ्यौँ । घुम्ने रहर सबैलाई थियो तर आरामदायी किसिमको थिएन । आँखामा निद्रा बोकेर घुम्थ्यौँ । यात्रा, सेटअप, प्रदर्शन, फेरि सामान बटुल्ने, फेरि यात्रा । यसले समयसँगै शरीरमा असर पर्थ्यो । त्यसैले हामीले सुत्न पाउने हरेक क्षणको सदुपयोग गर्थ्यौँ ।

युव भने ती मानिसहरूमध्ये पर्छन्, जो चार घण्टाको निद्रामै पूर्ण रूपमा सक्रिय रहन सक्छन् । हामी अधिकांश दिन लगभग चौबीसै घण्टा सँगै हुन्थ्यौँ । जहाँ–जहाँ थियौँ उहीअनुसार हाम्रो भेटघाट हुन्थ्यो । कहिलेकाहीँ पूर्ण मौनतामा हुन्थ्यौँ । साँच्चैको विश्राम लगभग असम्भव थियो । यसरी लामो समयसम्म यात्रा सम्भव हुँदैन । तर, जब तपाईंलाई महसुस हुन्छ, यो विशेष अवस्थाको यात्रा हो, तपाईं सधैँ सँगै भएर मात्रै यात्रा पार गर्न सक्नुहुन्छ । यसले सबैलाई अप्रत्याशित सहनशक्ति र साहस दिन्छ ।

यो कार्यक्रम असंख्य सहयोगी मानिसहरूविना सम्भव हुने थिएन । मलाई यति धेरै आर्थिक सहयोग आउने अपेक्षा थिएन । पाँच, दश युरोका साना सहयोगहरू पनि थिए । केहीले व्यक्तिगत रूपमा ठूलै रकम पनि दिए । जस्तो कि एक जनाले त आठ सय युरोभन्दा बढी सहयोग गरे । मानिसहरू यस पागल, अन्तरसांस्कृतिक परियोजनाको हिस्सा बन्न उत्साहित थिए । केही त मेरा चिनजानका मानिसहरू पनि थिए, जसले विगत केही वर्षदेखि मेरो नेपाल यात्रा ब्लग पढ्दै आएका थिए । मेरो ब्लगमार्फत, मैले अन्जानमै एउटा समुदाय बनाइसकेको रहेछु । जसले गर्दा पनि हामीलाई यतिखेर धेरै सहयोग गर्‍यो ।

मलाई आँसु झार्न बाध्य बनाउने अर्को क्षण मेरी हजुरआमा रूथले बनाउनु भयो । जुलाईमा उहाँले आफ्नो नब्बेऔँ जन्मदिन मनाउनु भयो । उहाँले आफन्त, पाहुना र शुभचिन्तकहरूलाई आफूलाई दिने उपहारको सट्टा सकेको आर्थिक सहयोग गर्न आग्रह गर्नुभयो । हजुरआमाको जन्मदिनमा उपहार ल्याउनुको सट्टा सबैले पैसा नै दिए । यसबाट मात्र पन्ध्र सय युरोभन्दा बढी रकम उठ्यो । हजुरआमाको जन्मदिन र उपहारको कुरा सुनेर युव पनि भावुक भए ।
उनले कृतज्ञतामा मेरी हजुरआमाका लागि एउटा कविता लेखे । मैले उनको कवितालाई जर्मन भाषामा अनुवाद गरेर साँझ आयोजित जन्मदिनको कार्यक्रममा पढेर सुनाएँ । म त्यो कविता यहाँ साझा गर्न चाहन्छुः

मेरी हजुरआमा भन्थिन्ः
यो शरीर पाँच तत्वले बनेको छ
उनले मेरो कपालमा हात राखेर सुमसुम्याउँदै एक बिहान भनिन्
हाम्रो शरीरमा संसार छ
पानी छ, आगो छ, वायु छ, माटो छ, र सिंगै आकाश छ
यसभित्र धेरैको खुसी अटाउँछ !

मेरा निम्ति तिमी पनि सिंगै संसार हौ हजुरआमा
तिम्रो मायामा धेरैको संसार अटाउँछ !
जन्मनु आफ्नो अधीनमा छैन सायद
तर, छ सम्भव माया दिन
तिमी भएर अरू धेरै भए
तिमीले छोएर अरू धेरै बिउँझिए !
तिमीले गीत गाएर अरू धेरैले जीवनको लय समाए !

घामले झैँ तिमीले मलाई परैबाट न्यानो दियौ !
बतासले झैँ शीतल श्वास दियौ

तिमी यतै कतै छौ
आकाश जस्तै
उज्यालो छर्छ्यौ आगो जस्तै
को हौ तिमी हजुरआमा ?
सम्झनामा छौ गहिरो प्रीत जस्तै

तिमी हुनुको अर्थ मसम्म आइपुग्यो
तिमी जन्मनुको अर्थ रगतको नाताभन्दा अझै परसम्म फैलियो ।

आज तिम्रो जन्मदिन रहेछ
जन्मदिनको शुभकामना, प्यारी हजुरआमा ।

यी शब्दहरूले धेरै पाहुनाहरूका आँखा रसाए । जन्मदिन विस्बाडेन र माइन्जका प्रदर्शनहरूको ठीक बीचमा परेको थियो । तर निद्राको कमी हुँदाहुँदै पनि कुनै न कुनै रूपमा मेरो शरीरले सबै कुरा धैर्यपूर्वक सहन सफल भयो ।
जब तपाईं मानिसहरूसँग लामो समय यात्रा गर्नुहुन्छ, तब उनीहरूको स्वभाव बिस्तारै स्पष्ट हुँदै जान्छ । को सबैभन्दा चाँडो उठ्छ ? को सबैभन्दा ढिलो उठ्छ ? हिँड्ने–बस्ने तरिका कस्तो छ ? उनीहरूको शरीरको हाउभाउ कस्तो छ ? मलाई नेपालका मानिसहरूले पानी पिउने तरिका अत्यन्त मन पर्छ । उनीहरूले पानीको बोतलको मुखमा ओठ नछोइकन पिउँछन् ।

धेरै पटक हामीले नाटक समूहका सदस्यहरूलाई बाटोमा बसको ठक्करबाट बचाउनुपरेको थियो । नेपालमा सबै किसिमका गाडीहरूले चर्को हर्न बजाउँछन् । यहाँको ट्राफिक नेपालको तुलनामा लगभग मौनजस्तै लाग्थ्यो । सडकमा गाडी आएको आवाजले पत्तो पाइँदैन । काठमाडौंमा रेल छैन । काठमाडौंले नलको पानी सिधै कहिल्यै पिउँदैन । र, सार्वजनिक स्थानमा कसैले पनि चुम्बन गर्दैन । हाम्रो संस्कृतिसँग मिल्दोजुल्दो कुरा भनेको उनीहरूको कफीप्रेम हो ।

पबित्राले प्रमाणित गरिदिइन् उनी क्याफिनको सहाराले मात्रै महसुस गर्छिन् । जहाँ गए पनि उनले वरिपरि हेरेर आफूले खोजेको कुरा भेट्टाइहाल्थिन् । प्रेस गरिएको, उमालेको, फिल्टर गरिएको, इन्स्ट्यान्ट जेसुकै होस्, उनले काम चलाउँथिन् । यही किसिमको कफी चाहिन्छ भन्ने माग उनको थिएन । मुख्य कुरा कफी कालो र कडा हुनुपर्थ्यो, मरेका मानिसलाई पनि बिउँझाउने खालको ।

मैले नेपालीहरूले कान सफा गर्ने अर्को तरिका पनि सिकेँ । पार्कमा कसैले अचानक रोकिएर चराहरूले छोडेको प्वाँख उठाउँथ्यो । सुरुमा त मलाई लाग्यो उनीहरू प्वाँख संकलन गर्दै छन् । तर पछि थाहा भयो— उनीहरूले त्यसलाई कपासको सट्टा प्रयोग गर्थे । त्यो दृश्य देखेर मलाई सधैँ हाँस उठ्थ्यो ।

विस्तारै मैले उनीहरूको भाषालाई पनि ध्यान दिन थालेँ । यदि तपाईंलाई चिसो लाग्यो भने (जुन उत्तरी देशहरूमा नेपालीहरूलाई सजिलै लाग्छ) त्यो प्रायः कारुणिक ध्वनिमा यसरी व्यक्त हुन्थ्यो– आछ्छुछुछु !

फायरफ्लाइज लाई नेपालीमा ‘जुनकीरी’ भनिन्छ । यो जुन (चन्द्रमा) र कीरी (कीरा) बाट बनेको शब्द हो । अर्थात्— चन्द्र कीरा ।

यदि तपाईं थकाइले कतै ढल्किनु भयो भने त्यसलाई प्रायः शान्ति मिलेको अर्थमा जोड दिइन्थ्यो । शान्तिलाई महसुस गर्ने सायद यो समूहको आफ्नै विशेषता थियो । ‘जाम् !’ भन्नुको अर्थ— ‘लेट्स गो’ जस्तै रहेछ । हामीले जर्मन भाषाबाट ‘डान्केशोन’ वा ‘डान्केसोएन’ पनि सापटी लियौँ । र, कलाकारहरूले बेलाबेला जर्मन शब्द पनि चलाए ।

नेपाली भाषामा यदि तपाईंले दिउँसै ‘निद्रा लाग्यो’ भन्नुभयो भने पनि थकान भएको बुझ्नुपर्ने रहेछ । अर्थात्— थकान कुनै वस्तु होइन जुन हामीभित्र हुन्छ । यो त एउटा स्वतन्त्र अनुभूति हो, जसले तपाईंलाई घेर्छ । सायद त्यसले निद्रा पनि लगाउँछ । ‘ट्वाइलेट जाने’ संकेत पनि निकै व्यावहारिक थियो । कोही नेपालीले कान्छी औँला देखायो भने सबैले कुरा बुझ्ने रहेछन् ।

एकपटक सुमितले मलाई ‘मित्जु’ (मितज्यू) को अर्थ बताए । त्यसरी नै उनी आफ्नो सबैभन्दा मिल्ने साथी रबिनलाई बोलाउँछन् । ‘मित’ भन्नाले दुई पुरुषबीचको अत्यन्त नजिकको मित्रता जनाउँछ । जोसँग तपाईं सधैँ सत्य बोल्नुहुन्छ । एकअर्काप्रति इमानदार हुनुहुन्छ । सधैँ एकअर्काको साथसहयोगमा हुनुहुन्छ । ‘ज्यू’ भनेको सम्मान र आदर व्यक्त गर्ने शब्द रहेछ । त्यसैले ‘मितज्यू’ भनेको त्यस्तो साथी रहेछ, जसलाई तपाईं पूर्ण रूपमा विश्वास गर्नुहुन्छ ।

अर्को पटक सुहानाले मुस्कुराउँदै भनिन्, ‘हेलो, यु आर अ लक्की गाइ ।’ मैले सुरुमा अंग्रेजी शब्द ‘गाइ’ भन्ने बुझेँ । उनले जनावर गाईलाई मजाकमा गाइ भनेकी रहिछन् । जसको अर्थ गोरु होइन, गाई नै हो । अनुपले मलाई बुझाए, ‘नेपालमा हामी गाईलाई पूजा गर्छौँ । कसैलाई ‘गाई’ भन्नु धेरै मायालु कुरा हो ।’ गाईलाई छोटकरीमा ‘गौ’ पनि भनिने रहेछ । कसैले कसैलाई गाई जस्तै स्वभावको छ भन्यो भने सोझो, असल भन्ने अर्थ लाग्ने रहेछ । ‘धेरै नै राम्रो र मित्रवत् व्यक्ति ।’ मेरा लागि त्यो ठूलो प्रशंसा थियो । गोरु भनेको भए चाहिँ अर्कै अर्थ लाग्ने रहेछ ।

एकपटक रबिनले मलाई नेपाली भाषामा एउटा छोटो कथा पढेर सुनाए । उनले देवनागरी लिपि बिस्तारै पढ्दै गए । र मेरो आँखाअगाडि त्यो कथाको संसार खुल्दै गयो । यो क्षण सम्पूर्ण यात्राको प्रतीकजस्तै थियो । यस्ता धेरै जीवनकथाहरू किताबझैँ हाम्रो अगाडि खुलिरहेका थिए । केही जीवन कथा रहस्यमयी थिए । केही बुझ्न गाह्रो थिए । केहीका जीवनकथाका झिल्काझिल्की देख्दै थिएँ । केहीले आफ्नो जीवनको इतिवृत्तान्त खोलिसकेका थिए । र, हरेकको फरकफरक जीवन कथा थिए । तिनका विविधता देखेर र सुनेर म चकित थिएँ ।

म क्रमशः साथीहरूका जीवनका आशा र निराशा बुझ्ने कोसिस गर्दै थिएँ । जुन उनीहरूले निरन्तर आफूसँगै बोकेर हिँडेका थिए । अदृश्य बोझ, जुन डर र सपना मिसिएको छ । जब एक साँझ हामी बाहिर टहल्न निस्कियौँ, आकाशका तारा हेर्दै सुमितले आफ्नो बिजुली बत्तीरहित गाउँको बाल्यकालको कथा सुनाए । “केही वर्षअघिसम्म हाम्रो आकाश ताराहरूले भरिएका हुन्थे । विस्तारै गाउँमा पनि विकास र बिजुली त आए तर ताराहरू हराए । विकासको बदलामा प्रदूषण पनि उपहार पायौँ । त्यही प्रदूषणले ताराहरूको उज्यालो छोपियो । अचेल म काठमाडौंमा बस्छु । धुवाँ र धुलोले भरिएको सहरमा हामी मुस्किलले ताराहरू देख्छौँ ।”

एक पटक पवित्राले मलाई आफ्नो ठूलो सपना सुनाइन् । उनी आफ्नो गाउँमा आफ्नै थिएटर बनाउन चाहन्छिन्, जहाँ लैंगिक विषयमा नाटकहरू मञ्चन गरिनेछ । उनी त्यसमार्फत सामाजिक मान्यताहरू र पितृसत्तात्मक सोच तोड्न चाहन्छिन् । कलामार्फत दमनको प्रतिरोध गर्न चाहन्छिन् ।

नाटक मञ्चनसहित सहरसहरमा युव नाटकको कार्यशाला पनि चलाउँथे । एउटा कार्यशालामा युवले एउटा अभ्यास गराए । अभ्यासको नियमअनुसार म घोप्टो परेर सुतेँ । उनले मेरा हात समाते । म उनीबाट उम्कनुपर्ने थियो । सजिलै उम्किएँ । अर्को चरणमा, अर्को व्यक्ति आयो । उसले मेरा खुट्टा समात्यो । म संघर्ष गर्दै छुटेँ । तर यो पहिलेभन्दा धेरै गाह्रो भयो । अन्ततः चार जना मानिसहरूले मलाई थिचेर रोके । र पहिलो पटक मैले महसुस गरेँ— पूर्ण रूपमा असहाय हुनु भनेको के हो । हलचल गर्न नसक्ने । अरूको दयामा निर्भर । विवश । यो ‘फोरम थिएटर’को कार्यशाला थियो । फोरम थिएटर मनोरञ्जनका लागि हुँदैन । यो राजनीतिक चेतना जगाउने विधि हो । दमनलाई देखिने बनाउने माध्यम हो ।

समूहकी एक सदस्य यात्राकै क्रममा प्रेममा परिन् । हामीलाई अर्को सहर जानु थियो । त्यो साथीसँगको बिदाइपछि उनी धेरै दिनसम्म चुपचाप र उदास बसिन् । ज्यादै दुःखी र निराश । मैले उनीसँग कुरा गर्न खोजेँ । तर कसैले पनि उनको पीडा हटाउन सक्दैनथ्यो । त्यो पनि यात्राकै हिस्सा थियो । ‘हाँस्नु’ र ‘रुनु’ ।

एक दिन स्टकहोमको पार्कमा हिँड्दै गर्दा, पवित्राले मलाई सोधिन्, ‘तिमी दुःखी हुँदा के गर्छौ ?’ त्यो प्रश्न एकाएक आएको थियो । ग्रीष्मकालीन मौसमको यति घमाइलो दिनसँग मेल नखानेजस्तो । अलि भारी पनि । मैले भनेँ, ‘सायद कला । कला नै मेरो मन सम्हाल्ने सबैभन्दा सहज उपाय हो । मनमिल्ने साथीहरूसँग भेटघाट गर्छु । र पैदल यात्रामा निस्कन्छु । प्रकृतिको नजिक जान्छु ।’ उनले टाउको हल्लाइन् । सायद उनी पनि त्यस्तै गर्थिन् । मलाई लाग्यो— हामी एउटा यादगार क्षण निर्माण गर्दै थियौँ । यो यात्रा अनेकौँ सुखद अनुभवहरूले भरिएको थियो, जसलाई तपाईं जाडोका अँध्यारा र उदास दिनहरूमा सम्झिएर खुसी हुनसक्नुहुन्छ ।

म ढुक्कका साथ भन्न सक्छु, हामी आर्थिक संकटमा परेनौँ । क्राउडफन्डिङबाट मात्रै छ हजार युरोभन्दा बढी उठ्यो । यसले सबै खर्चहरू समेट्यो, प्लेन टिकटको सुरुको लगानीसमेत । यसले यात्राका अन्तिम दिनहरूका लागि सुरक्षित महसुस गरायो । तर आर्थिक सफलताभन्दा पनि, मानवीय पक्ष धेरै महत्त्वपूर्ण थियो । यस यात्रामार्फत, हामीले ती मानिसहरूलाई ढकढक्यायौँ जो प्रायः आफ्नो देशका सीमाहरू पार गर्दैनन् । तर सबैभन्दा ठूलो जादू त ती मानिसहरूले गरे जसले यो चालीस दिनको यात्रा सम्भव बनाए ।

मलाई पनि हरेक ठाउँमा आफूलाई बुझ्ने मानिसहरू भेटेजस्तो लाग्यो । फ्राइबर्ग, कोलोन, विस्बाडेन, माइन्ज, फ्राङ्कफर्ट, गोथेनबर्ग, स्टकहोम, ओडेन्से । हरेक ठाउँमा पुराना साथीहरू भेटिएजस्तो महसुस भयो ।

देखेर बहुत खुसी लाग्यो मानिसहरूलाई कलाप्रति रुचि छ । उनीहरू कलामा समाहित हुन चाहन्छन् । एकअर्काबाट सिक्न चाहन्छन् । यस्ता मानिसहरू भेट्नु मरुभूमिमा हरिया बिरुवा भेटेजस्तै भयो । म जर्मनी, स्विडेन, नेपाल र इरानका मानिसहरूसँगै कार्यशालाहरूमा सहभागी भएँ । विद्यार्थीहरू, कामदारहरू, सेवानिवृत्तहरू सबैलाई एउटै कुराले जोडेको थियो— थिएटरप्रतिको प्रेम । वा, एक साथीले भनेजस्तै ‘महान् कलाले मानिसहरूलाई सँगै लिएर हिँड्छ ।’

अन्ततः डेनमार्कको ओडेन्सेमा म समूहसँग छुट्टिने भएँ । साथीहरू स्विडेनतर्फ लागे । त्यसपछि म पार्कमा एक्लै थिएँ । मेरो मन स्मृतिहरूले भरिएको थियो । मौनतामा सास फेर्दै, रूखमा अल्झिएको हावाको आवाज सुन्दै, डेनमार्कको सानो सहरको चहलपहल सुन्दै ।

यो यात्राले धेरै मानिसको मन गहिरोगरी छोयो । र पक्का पनि धेरै मानिसको जीवनमा चहलपहल ल्यायो, मलाई जस्तै ।

आज पनि, यी वाक्यहरू लेख्दै गर्दा, म गहिरो कृतज्ञताले भरिएको छु । यो यात्रा सफल बनाउन जजसले योगदान गरे, सहयोग गरे तिनीहरुप्रति आभारी छु । मान्छेका नामहरू नामका सूची मात्रै हैनन् । प्रत्येक नाम पछाडि एउटा अनुहार छ । एउटा संसार छ ।

फ्राइबर्गका त्यहाँ अनिता, मार्सेलो, शिव, नोरा, फ्रेडेरिको र उनको परिवार । स्टुटगार्टबाट रमण । कोलोनबाट ताब्या र रोबर्ट । माइन्ज र विस्बाडेनबाट अनिता, राम, माइक, तारा, निल्स, डारियो, साल्भा, पाउलिना, ओलिभिया, फ्लो, पिटर, पार्वती, सिलास, आन्द्रेयास, यास्मिन, निको, हाइके, लुसिया र आन्त्जे । फ्राङ्कफर्टबाट बर्नहार्ड, आलेक्सेइ, बेट्टिना, जुलिया । कोपेनहेगनबाट जोन फिन्बार, सिने र आन्नेमेटे । ओडेन्सेबाट टिने, जोनाथन, पेडर, याकब । गोथेनबर्गबाट
हाना, क्रिश्चियन, कासिया, फ्रिडा र आन्दर्स । स्टकहोमबाट सोमा, सुबास, नोनीमा, शिव र उचित । काठमाडौंबाट सहयोग गर्ने सबैलाई धन्यवाद, रुपेश, प्रेम, धनराज, लुना, कुमार, बन्श्री, संगिता, सम्पदा । आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद । विशेषगरी मेरी हजुरआमालाई, उहाँको नब्बेऔँ जन्मदिनको अवसरमा गरिएको सहयोगका लागि ।

र अन्त्यमा, आठ जना कलाकारहरूलाई ।

जसले आफ्नो मन र आत्मा यस यात्रामा अर्पण गरे ।

युवराज, पबित्रा, सुमित, सुहाना, सुशिला, गोविन्द, अनुप, रबिन । तपाईंहरू सबैलाई धेरै माया ।

(फिलिप जर्मन नाटककार । उनी योहानेस गुटेनबर्ग विश्वविद्यालय माइन्जमा पत्रकारिता पढाउँछन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?