+
+
Shares

सरकार परिवर्तनको चर्चाले सुदूरपश्चिममा तरंग

नेपाली कम्युनिष्ट पार्टीसँग समेत संवादमा रहेका ओलीले तीनवटै पार्टी मिलेर अघि बढ्नुपर्ने अवस्था भने फरक बन्नसक्ने नेताहरूको आकलन छ ।

जनक विष्ट जनक विष्ट
२०८३ जेठ २ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेबीच सरकार परिवर्तनको गृहकार्य चलिरहेको छ र मुख्यमन्त्री कमलबहादुर शाहले शीघ्र निर्णयको माग गर्न ओली र थापासँग छलफल गरेका छन्।
  • एमाले अध्यक्ष ओली र सभापति थापाले तीन दल मिलेर अघि बढ्ने सम्भावना रहेको र सरकार परिवर्तन वा मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन्।
  • सुदूरपश्चिममा कांग्रेस र एमालेबीचको सत्ता समीकरणमा विवादका कारण मुख्यमन्त्री शाहको पद धरापमा परेको र पार्टी नेतृत्वको निर्णयको पर्खाइमा रहेको छ।

१ जेठ, धनगढी । प्रदेश सरकार परिवर्तनको चर्चाले सुदूरपश्चिम प्रदेशमा तरंग सिर्जना गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच प्रदेशहरूमा सरकारको नेतृत्व परिवर्तनको गृहकार्य चलिरहेको छ ।

कांग्रेस र एमालेले समीमरणलाई यथावत् राख्दै प्रदेश सरकार परिवर्तन वा पुुनर्गठनको विषयमा छलफल थालेका हुन् । सोही छलफलपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौं पुगेका छन् ।

शाहले भक्तपुरस्थित गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति गगनकुमार थापासँग छलफल गरेका गरेका छन् । स्रोतका अनुसार शाहले प्रदेश सरकारबारे शीघ्र निर्णय दिन दुवै नेतासँग आग्रह गरेका छन् ।

‘मुख्यमन्त्रीज्यूले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति गगनकुमार थापासँग छुट्टाछुुट्टै कुराकानी गर्नुभएको छ । प्रदेश सरकारको विषयमा छिटो निर्णय गरिदिनुुहोस् भन्ने उहाँको माग हो,’ शाह निकट स्रोतले भन्यो, ‘दुवै नेताबाट परामर्श गरिरहेका छौं । चाडै टुंगो लाग्छ भन्ने कुरा आएको छ ।’

एमाले अध्यक्ष ओलीले शाहलाई नेकपा समेतलाई मिलाएर प्रदेश सरकारमा सामेल गराउनेबारे छलफल भइरहेको भनेका थिए भने सभापति थापाले पनि सबै दलबीच कुरा भइरहको बताएका थिए । ‘उहाँ(ओली)ले तीन वटै दल मिलेर अघि बढ्ने कुरा भइराखेको छ भन्नुभएको छ । सभापतिज्यूको पनि सबै दलबीच छलफल भइरहेको छ भन्ने थियो,’ उनले भने ।

एमालेसँग नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा कांग्रेस र कोशीमा एमालेले पूरा अवधी सरकारको नेतृत्व गर्ने समझदारी गरेका थिए । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नतोड्ने तर, सरकारको नेतृत्व परिवर्तन वा मन्त्री हेरफेर गर्ने रणनीति लिएका छन् ।

उपसभापति विश्वप्रकाश शर्मालाई एमालेसहितका दलसँग प्रदेश सरकारका विषयमा छलफल गर्ने अधिकार थापाले दिएका छन् । कर्णाली र सुदूरपश्चिमको प्रदेशस्तरीय भेला सकेर काठमाडौँ फर्किएपछि शर्माले गुण्डु पुगेर एक चरणमा ओलीसँग छलफल गरिसकेका छन् ।

शर्माले ओलीसँग कोशी प्रदेश कांग्रेसलाई दिनुपर्ने र सुदूरपश्चिम एमालेलाई छाड्ने प्रस्ताव गरेको नेताहरू बताउँछन् । यसबारे ओलीले स्पष्ट जवाफ भने दिइनसकेको नेताहरूको दाबी छ । एमालेकै कतिपय नेताहरू भने ओली अहिले मुख्यमन्त्री हिम्मत कार्कीप्रती सन्तुष्ट नरहेकोले त्यहाँ कांग्रेसलाई छाड्नसक्ने तर्क गर्छन् ।

‘कांग्रेसले कोशी लिएर सुदूरपश्चिम एमालेलाई छाड्न प्रस्ताव गरिसकेको छ तर हाम्रो अध्यक्षले निर्णय दिनुभएको अवस्था छैन,’ एक नेताले भने, तर,  ‘कार्कीप्रति ओली सकारात्मक हुनुहुन्न ।’

तर, नेपाली कम्युनिष्ट पार्टीसँग समेत संवादमा रहेका ओलीले तीनवटै पार्टी मिलेर अघि बढ्नुपर्ने अवस्था भने फरक बन्नसक्ने नेताहरूको आकलन छ ।

शेरबहादुर देउवाको गृह प्रदेश र विशेष महाधिवेशन भएपछि पनि देउवालाई नै सभापति मान्ने निर्णय कांग्रेस प्रदेश संसदीय दलले गरेको थियो । सोही कारण पनि थापा र विश्वहरूको प्राथमिकतामा सुदूरपश्चिम छैन् ।

मुख्यमन्त्री शाहले सरकारको विषयमा चाडो निर्णय गर्न दुई नेतासँग माग गरेको भनिएपनि बजेटअघि सत्ता परिवर्तन नगर्न आग्रह गरेको बताइन्छ । एमाले र कांग्रेसबाट सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीहरूले पनि त्यसमा लबिङ गरिरहेका छन् ।

एमालेमा महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि अहिले सरकार परिवर्तनको पक्षमा नभएका कारण ओली एक्लैले निर्णय लिन नसक्ने अवस्था भएको नेताहरू बताउँछन् । यद्यपी आपसी परामर्शपछि दुई/तीन दिनभित्र प्रदेश सरकारबारे निर्णय हुने संकेत नेताहरूले गरेका छन् ।

आन्तरिक असन्तुष्टि व्यवस्थापन भएपनि पद धरापमै

नेपाली कांग्रेसले २६ बैशाखमा धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कमलबहादुर थापाले आफूलाई पदमुुक्त गर्न लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

सभापति थापालाई समेत बदनाम गर्नेगरि पदमुक्त प्रदेशका सांसद र नेताहरू लागेको भन्दै आक्रोश पोखेका शाहले सबै कोणबाट लडाईं लड्न सक्षम भएको दाबी गरेका थिए । सोही साँझ सभापति थापाले प्रदेशका सबै सांसदसँग गरेको छलफलमा उनीहरूसँग सरकार र मुख्यमन्त्रीकै विषयमा छलफल चलेको थियो ।

दल नेता परिवर्तन गरेर मुख्यमन्त्रीबाट पदमुुक्त गर्नुपर्ने भन्दै लबिङ गरिरहेका सांसदले खुलेर कुरा राखेका थिए । तत्काल एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका थापाले काठमाडौं पुगेपछि सरकारको बारेमा निर्णय लिने बताएका थिए । मुख्यमन्त्री परिवर्तन गर्ने कुराले समीकरणमै समस्या निम्तिन सक्ने छलफल पनि भएको थियो ।

थापाको उक्त अभिव्यक्तिपछि तत्काल आन्तरिक असन्तुुष्टि व्यवस्थापन भएका देखिएको थियो । तर, कांग्रेस, एमालेबीच सुदूरपश्चिम र कोशीको हकमा विगतको समझदारी उल्टिने सम्भावनाले भने फेरि शाहको पद धरापमै परेको छ ।

कांग्रेसमा शाहलाई पदमुुक्त गर्नुपर्ने पक्षमा ८ जना प्रदेश सांसद पुगिसकेको दाबी गरिन्छ तर पार्टी नेतृत्वको संकेत नपाएपछि उनीहरू रोकिएका थिए । दिवान सिंह बिष्ट र पदम शाहीहरूले यो अभियान चलाइरहेका थिए । स्रोतकाअनुुसार आठ जनाले उनीहरूले हस्ताक्षर नै गरिसकेका छन् ।

‘मुख्यमन्त्री परिवर्तन गर्न हामी लागेकै हो । तर अहिले नेतृत्वको सिग्नल नपाएपछि रोकियो,’ ती सांसदले भने, ‘सरकारको सम्बन्धमा अब माथिको निर्देशनको पर्खाइमा छौँ । एमाले र कांग्रेसका शीर्ष नेताको समझदारीअनुसार नै अघि बढ्ने हो ।’

एमालेमा पनि सरकार परिवर्तनको चर्चाले उकुसमुकुस बढाएको छ । सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीहरू जसरी पनि सत्ता जोगियोस् भन्ने पक्षमा छन् । बाहिर रहेकाहरू सरकार परिवर्तन भए मन्त्री पाइने आशमा बसेका छन् ।

संसदीय दलका नेता राजेन्द्र सिंह रावल हटाउन लागिपरेका सांसदले नै गुण्डुुमा ओलीसँग मन्त्री बनाउनुपर्ने माग राखिसकेका छन् ।

‘तत्काल एमाले र कांग्रेसकैसमीकरणले निरन्तरता पाउँछ होला,’ एक नेताले भने, ‘छलफलले सार्थकता पाए सुदूरपश्चिम एमालेले पाउने सम्भावना देखिन्छ तर नेकपासहितको भए केही भन्न सकिंदैन् ।’

नेकपाका सांसदहरू पनि कांग्रेस, एमालेसहितको समीकरण हुने कुरा चलिरहेको बताउँछन् । तर अहिलेसम्म ठोस कुरा विकसित भइसकेको छैन् । ‘तीनै पार्टी मिलेर अघि बढ्ने कुरामा पनि सघन छलफल चलिरहेको भन्ने छ । एमाले र नेकपाले पनि समझदारी गर्नसक्छन्,’ ती सांसदले भने, ‘यो नै हुन्छ भन्न सकिने अवस्था बनिसकेको छैन् ।’

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?