News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् ।
- ज्ञवालीले सरकार बनेको ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि प्रश्न उठेको बताए।
- उनले ट्रेड युनियन खारेज गर्ने, अध्यादेशमार्फत शासन चलाउने प्रयास र संवैधानिक आयोगहरुको अवमूल्यन भएको आरोप लगाए।
३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् ।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए ।
उनले सरकार बनेको करिब ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताए ।
उनले ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुमवासीहरूमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतिर अघि बढिरहेको टिप्पणी गरे ।
उनले सरकारले संसद्, राष्ट्रपति एवं संवैधानिक आयोगहरुको अवमूल्यन गरिरहेको आरोप पनि लगाए ।
उनले भने, ‘अब देशको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडमा पुग्दै गरेको हामीले देखिरहेका छौँ । नयाँ सरकार बनेको ५० दिन हुन हुन लागेको छ । तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको छ । ट्रेड युनियन खारेज गर्ने प्रयत्न, स्ववियु खारेज गर्न खोज्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास, सुकुमवासीमाथि डोजर आतंक, श्रमजीवी वर्गलाई दिइएका सामाजिक सुरक्षाका विषयलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू संसद्, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यनमार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ ।’
उनले संसद्मा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भएपनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा र सामाजिक न्यायसहितको बाटोमा मुलुकलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया 4