News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी र्याप गायक कान्ये वेस्टको भारतमा २०२६ मे २३ का लागि तय भएको कन्सर्ट सुरक्षासम्बन्धी निर्देशनपछि स्थगित भएको छ।
- आयोजक कम्पनी ह्वाइट फक्सले सुरक्षा कारणले कार्यक्रम स्थगित भएको र टिकट रकम ५ देखि ७ कार्यदिनभित्र फिर्ता गरिने बताएको छ।
- कान्ये वेस्टका अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमहरू विवाद र व्यवस्थापन समस्याका कारण विभिन्न देशमा रद्द हुँदै आएका छन्।
नयाँ दिल्ली । अमेरिकी र्याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ ।
कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट प्राप्त निर्देशनका कारण कार्यक्रम अगाडि बढाउन नसकिएको जनाएको हो । आयोजकका अनुसार दर्शक र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिनुपरेको हो ।
वक्तव्यमा भनिएको छ, ‘२०२६ मे २३ मा नयाँ दिल्लीमा आयोजना हुने ‘ये लाइभ इन इन्डिया’ कार्यक्रम अगाडि बढाउन नसकिने जानकारी गराउनुपर्दा हामी अत्यन्त दुःखी छौं । भारतमै अहिलेसम्मकै ठूलो लाइभ प्रोडक्सनमध्ये एक बनाउने तयारीका साथ महिनौंदेखि काम भइरहेको थियो । तर, अहिलेको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै दर्शक र भारतीय नागरिकको सुरक्षा तथा हितलाई नै प्राथमिकतामा राखिएको छ ।’
आयोजकले कलाकार पक्षसँग नयाँ मिति र स्थानबारे छलफल भइरहेको समेत जनाएको छ । साथै, आधिकारिक टिकटिङ पार्टनर डिस्ट्रिक्टमार्फत खरिद गरिएका सबै टिकटको रकम ५ देखि ७ कार्यदिनभित्र फिर्ता गरिने बताइएको छ ।
यो कन्सर्ट यसअघि पनि एकपटक स्थगित भइसकेको थियो । सुरुमा २०२६ मार्च २९ मा हुने तय भएको कार्यक्रम अमेरिका-इरान तनाव र त्यससँग जोडिएका क्षेत्रीय परिस्थितिका कारण पछि सारिएको थियो । त्यसपछि मे २३ का लागि नयाँ मिति तय गरिएको थियो । कार्यक्रम नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजना गर्ने तयारी थियो ।
पछिल्लो एक वर्षयता ‘ये’ का अन्तर्राष्ट्रिय सांगीतिक भ्रमणहरूमा लगातार अवरोध देखिँदै आएको छ । विभिन्न विवाद, व्यवस्थापन समस्या र उनका पुराना अभिव्यक्तिका कारण केही देशमा कार्यक्रम रोकिएका वा रद्द भएका रिपोर्ट सार्वजनिक हुँदै आएका छन् ।
यसअघि २०२६ अप्रिलमा बेलायतले लन्डनमा हुने वायरलेस फेस्टिभलमा पनि उनलाई मुख्य प्रस्तोताका रूपमा सहभागी हुन नदिएको खबर सार्वजनिक भएको थियो । त्यसपछि टिकट फिर्ता गरिएको थियो । पोल्यान्ड र स्विट्जरल्याण्डका केही कार्यक्रम पनि रद्द भएको बताइएको छ ।
विवादका बाबजुद ‘ये’ आधुनिक संगीत जगतका प्रभावशाली कलाकारमध्ये एक मानिन्छन् । उनले पछिल्ला दुई दशकमा हिप-हप र पप संगीतको शैलीलाई नयाँ दिशा दिएका छन् । उनका ‘द कलेज ड्रपआउट’, ‘ग्राजुएसन’, ‘८०८्स एन्ड हार्टब्रेक’ र ‘माइ ब्युटिफुल डार्क ट्विस्टेड फ्यान्टसी’ जस्ता एल्बम निकै चर्चित छन् ।
हालै मात्र उनले २०२६ मार्च २८ मा ‘बुली’ नामक नयाँ स्टुडियो एल्बम सार्वजनिक गरेका थिए । उक्त एल्बममा ट्राभिस स्कट, सीलो ग्रीन र आन्द्रे ट्राउटम्यान लगायत कलाकारसँग सहकार्य गरिएको छ ।
प्रतिक्रिया 4