News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प भएको अवस्थामा 'समय घर्किंदै गएको' टिप्पणी गरेका छन्।
- ट्रम्पले इरानलाई तुरुन्त कदम चाल्न नभए 'केही पनि बाँकी नरहने' चेतावनी दिएका छन्।
- इरानले युद्ध तत्काल अन्त्य गर्ने प्रस्ताव अघि सारेको छ, तर अमेरिकाले जवाफ दिएको छैन।
५ जेठ, काठमाडौं । इरानसँगको शान्ति वार्ता ठप्प भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘समय घर्किंदै गएको’ टिप्पणी गरेका छन् । शान्ति वार्तामा अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै ट्रम्पले अन्यथा इरानसँग ‘केही पनि बाँकी नरहने’ चेतावनी समेत दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानको समय सकिँदै छ । उनीहरूले तुरुन्त कदम चाल्नुपर्छ, नत्र उनीहरूसँग केही पनि बाँकी रहने छैन । समय अत्यन्त महत्वपूर्ण छ ।’
ट्रम्पको यो पछिल्लो सन्देशले यसअघिको चेतावनीलाई दोहोर्याएको छ, जसमा उनले युद्ध अन्त्य गर्न इरानले सहमति नगरे ‘पूरै सभ्यता समाप्त’ हुनसक्ने धम्की दिएका थिए ।
अमेरिकाले इरानलाई एउटामात्र आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न दबाब दिँदै आएको छ । इरानले भने अमेरिकाका सर्तहरु अस्वीकार गर्दै आएको छ । त्यसबेला पनि ट्रम्पले युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको चेतावनी दिएका थिए ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले राखेका प्रस्तावहरुमा इरानले पनि नयाँ प्रस्ताव अघि सारेको छ । तर त्यसमा अमेरिकाले कुनै जवाफ दिएको छैन । इरानको समाचार संस्था मेहर न्युज एजेन्सीले अमेरिकाले सम्झौता नगर्नु वार्तालाई अवरोधतर्फ धकेल्नु सरह भएको जनाएको छ ।
इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानको प्रस्तावहरूमा सबै मोर्चामा युद्ध तत्काल अन्त्य गर्ने कुरा समावेश थियो । लेबनानमा इरान समर्थित हिज्बुल्लाहमाथि इजरायलले जारी राखेको आक्रमण पनि रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र इरानमाथि थप आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्ने माग इरानको छ ।
त्यसैगरी, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिने र होर्मुज जलमार्गमा इरानको सार्वभौमिकता स्वीकार गर्ने विषयमा पनि जोड दिइएको थियो ।
त्यसको जवाफमा अमेरिकाले इरानले एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्ने र अत्यधिक समृद्ध युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्ने सर्त राखेको इरानको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले जनाएको छ ।
ट्रम्पले गत शुक्रबार इरानको आणविक कार्यक्रमलाई २० वर्षसम्म स्थगित गर्न स्वीकार गर्न सकिने बताएका थिए, जुन दुई देशबीचको प्रमुख विवादको विषय हो । यसले पूर्णरूपमा कार्यक्रम अन्त्य गर्नुपर्ने अमेरिकाको अघिल्लो अडानबाट केही लचक देखिएको संकेत गरेको छ ।
इजरायली र अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानमाथि ठूलो हवाई आक्रमण सुरु गरेका थिए । वार्ता सहज बनाउन गरिएको युद्धविराम धेरैजसो पालना भए पनि बीच–बीचमा झडपहरू जारी छन् ।
इरानले होर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ, जसले गर्दा विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण समुद्री मार्ग आंशिक रूपमा अवरुद्ध भएको छ ।
इरानले यस कदमलाई अमेरिकी र इजरायली आक्रमणको प्रतिकारका रूपमा लिएको बताएको छ, जसका कारण विश्वव्यापी तेल मूल्यमा तीव्र वृद्धि भएको छ ।
प्रतिक्रिया 4