+
+
Shares

बालबालिका लक्षित डिजिटल स्कुल ‘पहिलो पाइला’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ९:५१

४ जेठ, काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरुलाई लक्षित गरि सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री तथा पहिलो पाइलाकी ब्राण्ड एम्बास्डर केकी अधिकारीले संयुक्त रूपमा उक्त एप लञ्च गरे ।

नेपाली भाषालाई विश्वभर प्रवर्धन गर्ने उद्देश्यका लागि पहिलो पाइला एप ‘डिजिटल स्कुल’ को निर्माण गरिएको आयोजक संस्था पहिलो पाइला एजुकेसनले बताएको छ । पहिलो पाइला सञ्चालक मधु न्यौपानेले डिजिटल स्कुलमार्फत बालबालिकाहरुले रोजेको पाठ्यक्रम अनुसार आफ्नो भाषा र संस्कृती सिक्न सक्ने विश्वास व्यक्त गरे ।

खेल्दाखेल्दै संस्कार,संस्कृतिसँगै विज्ञान,गणित र सामाजिक विषयलाई नेपाली भाषामा आधुनिक सिकाइ पद्धतिअनुसार सिकाउनका लागि (डिजिटल) एप सार्वजनिक गरिएको हो । यसरी परिकल्पना गरिएको डिजिटल स्कुललाई विश्वभर पुर्याउनका लागि डिजिटल माध्यबाट मात्रै सम्भव हुने भएकाले ‘एप’को विकास गरिएको संस्थापक न्यौपानेले बताए ।

‘डिजिटल स्कुलले बालबालिकाहरूमा पठन संस्कृतिको विकास गर्ने र सिर्जनात्मक चिन्तनलाई तीक्ष्ण बनाउँदै सिकाइको विश्वस्तरीय आधुनिक पद्धतिअनुसार  नेपाली भाषा,संस्कृति र कला सिक्न साक्नेछन्, न्यौपानेले भने ।

प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै भेषभुषा, संस्कृती, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने विषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताए ।

वरिष्ठ गायिका लोचन भट्टराईले नेपाली भाषा र संस्कृतीमाथिको बढ्दो अतिक्रमण रोक्न बालबालिकाबाटै यसको सिकाइ सुरू गराउन पहिलो पाइला कोशेढुङ्गा साबित हुने बताइन् ।

विदेशी भुमिमा जन्मे हुर्केका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले पहिलो पाइला एलको सुभारम्भलाई युग परिवर्तनको क्षण भन्दै नेपाली भाषालाई संवर्धन र प्रवर्धन गर्न यो एपले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

विदेशी भुमिमा रहने धेरै नेपाली र उहाँहरूको बालबालिकामा नेपाली मौलिक संस्कृति टाढिँदै गएको अवस्थामा यो अभियानले नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्नको लागि सहजिकरण गर्ने विश्वास अधिकारीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?