+
+
Shares

‘कहिले हुन्छ संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर ?’

प्रतिनिधिसभा नियमावली अनुसार जेठ महिनामा एउटा र असार महिनामा अर्को गरी दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने हो । तर, दुवै महिनामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने विषय संसदीय क्यालेन्डरमा आएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ११:५३

४ जेठ, काठमाडौं । संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची नआएको भन्दै  संसद्‍मै प्रश्न उठेको छ ।नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले यस्तो प्रश्न उठाएकी हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको स्मरण गर्दै उनले सभामुखको ध्यानाकर्षण गरेकी हुन् ।

संविधानको धारा ७६ (१०) मा मन्त्रिपरिषद्का सदस्य र प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने भनेको उल्लेख गर्दै उनले संसद्‍मा  प्रधानमन्त्रीको उपस्थिति खोजिन् ।

‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने व्यवस्था कार्यान्वयन होस्’, उनले भनिन्, ‘आज जेठ महिनामा प्रतिनिधिसभाको पहिलो बैठक हो । पक्कै पनि हामीले प्रधानमन्त्रीलाई प्रश्न गर्न सकिनेछ । यो स्मरण गराउन चाहन्छु ।’

प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम परेको छैन ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केहीगरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।

नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’ तर, यस्तो प्रावधान आगामी असार १५ गते सम्मको संसदीय क्यालेन्डरमा परेको छैन ।

प्रतिनिधिसभा नियमावली अनुसार जेठ महिनामा एउटा र असार महिनामा अर्को गरी दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने हो । तर, दुवै महिनामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने विषय संसदीय क्यालेन्डरमा आएको छैन ।

संसदीय क्यालेन्डर अनुसार जेठ ४ गतेबाट प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुनेछ । ५ गते पनि यसमाथि नै छलफल हुनेछ ।

६ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका प्रत्रहरूको जवाफ दिने कार्यक्रम छ ।

जेठ १३ गते आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश हुनेछ । १५ गते आर्थिक बर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल हुनेछ । सोही दिन आर्थिक विधेयक पेस हुनेछ ।

जेठ १८ गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । जेठ २० गते आर्थिक वर्ष २०८३/०८४ को राजस्य र व्ययको बार्षिक अनुमानमाथि छलफल र अर्थमन्त्रीबाट जवाफ व्यक्त हुनेछ । सोही दिन विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ ।

२७ गते विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल प्रारम्भ हुनेछ । सोही दिन खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुनेछ ।

असार १ गते विनियोजन विधेयक अन्तर्गतको छलफलमा उठेका प्रत्रहरूको सम्बन्धित मन्त्रीबाट जवाफ प्रारम्भ हुनेछ ।

असार २ गते विनियोजन विधेयक अन्तर्गतको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ हुनेछ । सबै मन्त्रालयका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत र विनियोजन विधेयक पारित गर्ने तालिका छ ।

असार ३ गते राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । असार ८ गते आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल र पारित गर्ने तालिका तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?